राजकुमार कार्की/हिटा
ओखलढुंगा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याए कांग्रेसले चाहेजसरी काम गर्न सक्ने बताउनुभएको छ । मंगलबार ओखलढुंगामा कांग्रेसको जिल्ला सम्मेलन तथा बिपी स्मृति भवन उद्घाटन गर्दै सभापति देउवाले यस्तो जिकिर गर्नुभएको हो । पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्ने उहाँको भनाइ थियो । उहाँले अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन पार्टीलाई मुस्किल पर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीको मात्रै सरकार बन्ने अवस्था छैन । एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ । तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ, बहुमत ल्याए कांग्रेसले चाहेजसरी काम गर्न सक्छ ।’
देउवाले संघीयता कार्यान्वयनमा जोड दिँदै भन्नुभयो, ‘हाम्रो देश संघीयतामा गइसकेको छ । यो संघीयतालाई हामीले राम्रोसँग चलायौँ भने हाम्रो देशको विकास हुन सक्छ,’ उहाँले अगाडि भन्नुभयो, ‘आदिवासी-जनजाति, महिला सबैको प्रतिनिधित्व हुने गरी हामीले संविधान पनि बनाएका छौँ ।’ तर, देशको विकास जसरी अगाडि बढ्नुपर्ने त्यसरी हुन नसकेको उहाँको भनाइ थियो । संघीयताले सबैको चाहना र भावना बमोजिमको विकास गर्न नसकेको देउवाले बताउनुभयो । ‘हामी आदिवासी जनजाति, महिला सबैले चाहेको जस्तो विकास गराउन प्रयास गरिरहेका छौँ । सबैको साझा अपनत्व सहितको देश निर्माण र विकास गर्न हामीले काम गर्ने बाँकी छ’, सभापति देउवाले भन्नुभयो ।
जिल्लामा पार्टीको आफ्नै भवन बनाउन सकेको भन्दै नेता कार्यकर्ताहरूलाई बधाई र धन्यवाद दिँदै उहाँले ओखलढुंगा नेपालको राजनीतिक इतिहासमा समेत ऐतिहासिक जिल्ला भएको सुनाउनुभयो ।
यस्तै, महामन्त्री गगनकुमार थापाले माओवादीले चाहेजस्तो, मधेसी पार्टीले चाहेजस्तो संविधान नभई नेपाली कांग्रेसले चाहेर बनाएको संविधान भएकाले यसलाई जोगाउने पनि नेपाली कांग्रेस नै भएको बताउनुभयो । संविधान कार्यान्वयन गर्न केही समस्या आएका छन् । यस्तो समस्या नेपालमा मात्र नभएर संसारभर आउने गरेको बताउनुभयो । निर्वाचन प्रणालीको उद्देश्य सबै वर्गको सहभागिता संसद्मा होस् भनेर बनाएको हो तर यहाँ त्यस्तो नभई यसको दुरुपयोग गरी इष्टमित्र, नातागोता आफन्त पैसा भएका मानिसले टिकट लिएर गएका छन् यसलाई रोक्नुपर्ने उहाँले जिकिर गर्नुभयो । ‘प्रदेशलाई दिनुपर्ने अधिकार केन्द्रले मुठी कसेर बसेको छ काम गर्नेलाई काम गर्न दिएको छैन यसले संविधान कार्यान्वयनमा समस्या भएकोे छ’, उहाँले भन्नुभयो ।
त्यस्तै, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, ओखलढुंगा जिल्ला शहीदको जिल्ला भए पनि जति विकास हुनुपर्ने हो, त्यति विकास नभएको बताउनुभयो । देशमा बेरोजगारीको समस्या छ, बेरोजगारीका कारण युवाहरू विदेसिनुपर्ने अवस्था रहेको छ । कृषिलाई आत्मनिर्भर बनाई कृषि उद्योगहरूको विकास गरेर देशभित्रै रोजगारीको सिर्जना गर्न सकिने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति एवं सिद्धिचरण नगर प्रमुख तेजेन्द्र खनालले संघ र प्रदेशले स्थानीय तहलाई विकास निर्माणमा असहयोग गरेको गुनासो गर्नुभयो । संघ र प्रदेशले स्थानीय तहको विकास गर्न कञ्जुस्याइँ नगर्न पनि उहाँको आग्रह थियो । कार्यक्रममा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता मीन विश्वकर्मा, कोशी सभापति उद्धव थापा लगायतका केन्द्रीय नेताहरूको उपस्थिति थियो । उपस्थित अतिथिहरूलाई ६० केजीको माला सबैलाई एकैपटक लगाएर स्वागत गरिएको थियो । नेपाली कांग्रेस पार्टीमा एकताको सन्देश ओखलढुंगाबाट दिन चाहेको जिल्ला सभापति खनालले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts