नेपाली गायन र सांगीतिक इतिहासमा सबै बयका मानिसको मन छुने सर्वश्रेष्ठ गायक नै नारायण गोपाल हुन् । उनको मखमली स्वर र संगीतको म पहिलेदेखि नै प्रशंसक हुँ । उनले गाएका सबै गीतहरू मलाई अति नै मन पर्छन्, म उनका गीतहरू गाई नै रहन्छु-विजयकुमार खनाल-९० वर्ष, चाबहिल, काठमाडौं । गीत कसले लेखेका हुन्, संगीत कसले दिएका हुन् थाहा छैन तर, नारायणगोपालको स्वर अलग्गै थाहा हुन्छ मलाई । उनले गाएका मन छुने गीतले मलाई रुवाउँछन्, दुःखका गीत, विछोडका गीतले मेरो मन पग्लिन्छ-चन्द्रादेवी जोशी, पूर्वसांसद, बझाङ । नारायणगोपाल मलाई अति मन पर्ने गायक हुन् । गरिबीका गीत, भरियाका गीतले मलाई मन छुन्छ-सतिदेवी खड्गी, ८० वर्ष, जनगायक जेबी टुहुरेकी धर्मपत्नी ।
स्वरसम्राट नारायण गोपाल यस युगका सर्वाधिक लोकप्रिय गायक हुन् । उनले गाएका गीतमा नेपाल हाँसेको छ, रोएको छ, त्यसैले उनी युगगायक हुन्-प्रा.पुरुषोत्तम दाहाल, वरिष्ठ पत्रकार । स्वरसम्राट नारायण गोपालले नेपाली गीतसंगीत र भाषाको विस्तार गरे, उनको जस्तो मिठो स्वर अरूको लाग्दैन-मोहन बुढाऐर, पत्रकार, धनगढी कैलाली ।
नेपाली गायन क्षेत्रका धु्रवतारा स्वरसम्राटका बारे विवेचना र उनको विराट व्यक्तित्वको चर्चा यो पंक्तिकारले कदापि गर्न सक्दैन । तथापि थोरै संगत गरेकाले उनमा प्रजातान्त्रिक आचरण र प्रशस्तै मानवीय गुण मैले पाएको छु ।
माथि उल्लेखित नाम त प्रतिनिधि पात्रमात्र हुन् । देशभरि र विदेशमा पनि प्रतिदिन स्वरसम्राटका शुभेच्छुकहरू बढी नै रहेका देखिन्छन् । जुन नेपाली गीतसंगीत र गायन कलाको शुभसंकेत पनि हो । सेतुराम, मेलवादेवीलगायत गायक, गायिकाबाट सुरु भएको नेपाली गीतसंगीतमा मिठास भरेर नेपाली माटोको बास्ना बस्तीबस्तीमा स्रोतामाझ पुर्याउन सफल नारायणगोपाल सबै बयका श्रोताका लागि अत्याधिक मन पराइएका विशिष्ठ साधक हुन् । कसैको करकापमा नपरी स्वविवेकले शब्द, शब्द केलाएर गाइने स्वाभिमान गायक हुन स्वरसम्राट । स्वरसम्राट जनजनले प्रेमपूर्वक दिएको उपाधि हो । यस्तो उपाधि सर्जकहरूलाई बिरलै मिल्ने गर्दछ ।
तारणीप्रसाद कोइरालाद्वारा विसं २००७ सालमा प्रजातान्त्रिक रेडियो नेपालबाट स्थापित रेडियो नेपाल विसं २०१७ सालदेखि २०४६ सालसम्म पूर्णतह तत्कालीन दरबारको निर्देशनमा सञ्चालित थियोभन्दा फरक नपर्ला । राजारानीको फर्माइसमा मनपराइएका गीत भनेर आफू निकटका व्यक्तिका गीतहरू प्रशारण गरेर रेडियो नेपालजस्तो संस्थाको अपहेलना गरिन्थ्यो । स्वरसम्राटका ती कालजयी गीत र मखमली स्वर जनतामाझ सर्वप्रिय रहेँ तर तत्कालीन एकदलीय व्यवस्थाका समर्थकका अगाडि रुचिकर बन्न सकेनन् । बन्नु पनि आवश्यक थिएन किनकि नारायणगोपाल करोडौं नेपालीले रुचाइएका नेपाली धरती र नेपालको प्राकृतिक सौन्दर्यलाई कण्ठमा उतार्न सक्ने विशिष्ठ साधक थिए ।
नेपाली गायन क्षेत्रका धु्रवतारा स्वरसम्राटका बारे विवेचना र उनको विराट व्यक्तित्वको चर्चा यो पंक्तिकारले कदापि गर्न सक्दैन । तथापि थोरै संगत गरेकाले उनमा प्रजातान्त्रिक आचरण र प्रशस्तै मानवीय गुण मैले पाएको छु । गायन कलाका शिखर व्यक्तित्व उनले जीवित रहँदा जत्ति माया पाए त्यसभन्दा उच्चसम्मान आफ्नो देहवसानपछि पाएको संगीतका विज्ञहरू शम्भुजित बाँस्कोटा, ज्ञानु राणा, भूपेन्द्र रायमाझी आदि बताउने गर्दछन् । नेपाली आमाको इमानदार एवं कर्तव्यनिष्ठ छोरो हुनुको विशेषता यसैमा छ । उनी नाम र दामका पछि कहिल्यै दगुरेनन् । बरू कामका पछि लागे । उनले गाएका चलचित्रका गीतहरू नाटकका सन्दर्भमा र अन्य सबैथरि झण्डै दुई सय कालजयी गीत र ती गीतमा भरिएको उनको ओजस्वी स्वरले यही बताउँछ ।
वरिष्ठ गीतकार दिनेश अधिकारी, क्षेत्रप्रताप अधिकारी, कालिप्रसाद रिजाल, भैरवनाथ रिमाल कदम, रत्नशमशेर थापा, नगेन्द्र थापा, भूपी शेरचन, नीर शाह, गोपाल योञ्जन, रविन्द्र शाह, किरण खरेल, विश्वम्भर प्याकुरेल, डा.दीर्घसिंह बम, प्रदीप रिमाल, भीम विराग, लक्ष्मण लोहनीलगायत स्रष्टाका शब्दहरूमाथि स्वरसम्राटले गर्नुभएको न्यायका कारण चीरकालसम्म सदावहार बनिनै रहने कुरा संगीतज्ञहरूको भनाइ रहेको छ । यसैगरी नारायण गोपालले महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधवप्रसाद घिमिरे, वरिष्ठ कवि हरिभक्त कट्वाल, ईश्वर बल्लभका मन छुने चाँदीका शब्दहरूमा सुनको जलप लगाएर नेपालको माटो रहुन्जेलसम्म चीरस्थायी बनाइदिए ।
संगीतज्ञ अम्बर गुरुङ, दीपक जंगम, दिव्य खालिङ, गोपाल योञ्जनले केबल माधुर्य संगीतमात्र अर्पण गरेनन् प्रत्येक मानिसका दिल छुने शब्दहरू पनि नारायण गोपाललाई समर्पण गरेर यो धरतीका सबैथरि नागरिकलाई सांगीतिक न्याय दिलाएको कुरा बिर्सन सकिँदैन । सञ्चारमाध्यमले आजकल गायकगायिकाको नाम मात्र उच्चारण गर्ने गर्दछन्, गीत प्रशारण गर्छन् तर गीतकार र संगीतकारको नाम भन्न छुटाउछन् यसो गरिनुहुँदैन । कार्यक्रम सञ्चालक पनि सम्बन्धित विषयको विज्ञ हुनु जरुरी छ । गीत प्राण हो, संगीत मस्तिष्क हो र स्वर कला हो ।
स्वरसम्राटको सालिक राजधानीको महाराजगञ्ज चोकमा स्थापना गरेर सरकारले गुन लगाएको छ । देशका सातवटै प्रदेशमा उनको सालिक स्थापना गर्नु जरुरी देखिन्छ । यसका साथै नारायणगोपाल गुरुवाचार्यलाई नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गर्नु आवश्यक छ ।
लोकसंगीतमा होस् या आधुनिक संगीतमा होस् माथि उल्लेखित तीनवटा विशेषता बोकेकै हुन्छ सफल गायक, कलाकारले । वर्तमान अवस्थामा गायक, गायिकाहरू नयाँ-नयाँ प्रतिभा बोकेर देखा पर्दैछन् तर अनुशासन पालना गर्नु जरुरी देखिन्छ । नारायणगोपाल, बच्चु कैलास, दीप श्रेष्ठ, योगेश वैद्य, अरुणा लामा, कोइलीदेवी, तारादेवी, अरुण थापा, दीपक खरेल आदि पुराना पिँढीका सर्जकमा प्रशस्त मात्रामा सांगीतिक अनुशासन पाइन्थ्यो । अहिलेका आशालाग्दा गायकगायिकामा पनि यो विशेषता हुनु जरुरी देखिन्छ । गीतसंगीत क्षेत्रका विश्लेषक प्रकाश सायमीले एउटा समारोहमा बोलेका कुरा सार्थक लाग्छ अहिले पनि ।
नेपालको मुटु राजधानीको किलागलमा विसं १९९६ आश्विन १८ मा पिता आशागोपाल गुरुवाचार्य र माता रामदेवी गुरुवाचार्यका कोखबाट जन्मिएका नारायण गोपालले जीन्दगीभर नेपाली संगीतको सेवा गरे । थुप्रै मान, पदवी, पुरस्कार र अलङ्कारबाट अलङ्कृत हुन पुगे । केही वर्ष सांस्कृतिक संस्थानको महाप्रबन्धक पदमा रही सेवा गरेका उनले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा रत्न रेकर्डिङलगायत संस्थानहरूमा संगीत विज्ञका रूपमा पनि काम गरे । नेपाली गीतसंगीतको विस्तारका लागि त्यसबेला उनी शोभियत रुस, दक्षिण कोरिया, बर्मा, जापान, भारतलगायत मुलुकको सांगीतिक भ्रमण पनि गरे ।
विसं २०४७ साल मंसिर १९ गते ५१ वर्षको उमेरमै उनको निधन राजधानीको वीर अस्पतालमा भयो । मुलुकभर सांगीतिक शोक पर्यो । ३३औं स्मृति दिवससम्म आइपुग्दा पनि नेपाली आमाले अर्को नारायण गोपाल जन्माउन सकिनन्, जुन अभाव खट्किरहेको छ भनेर संगीतज्ञहरू भनिरहेका छन् । उनको निधनले धेरैलाई चोट पर्यो । त्यसबेला धेरैको भान्सामा खाना पाकेन । एकले अर्काको मुख हेर्दै भक्कानिएर रोएँ । रेडियो नेपालको तत्कालीन कार्यक्रम प्रस्तोता पाण्डव सुनुवार कार्यक्रम सञ्चालन गर्दागर्दै रोएका थिए । आज उनी पनि हामीबीच छैनन् । धेरै स्रष्टाहरू यस धरतीमा हुनुहुन्न । समाजमा भुल्नै नहुने स्रष्टालाई नेपाल सरकारले श्रद्धाञ्जलिका शब्द खर्चनुबाहेक बाँकी केही गर्न सकेको छैन । संस्कृति र संस्कारविनाको कोरा राजनीति कति वर्षसम्म टिक्न सक्ला र ?
स्वरसम्राटको सालिक राजधानीको महाराजगञ्ज चोकमा स्थापना गरेर सरकारले गुन लगाएको छ । देशका सातवटै प्रदेशमा उनको सालिक स्थापना गर्नु जरुरी देखिन्छ । यसका साथै नारायणगोपाल गुरुवाचार्यलाई नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गर्नु आवश्यक छ । जुन सांगीतिक क्षेत्र र अन्य वर्गका लागि न्याय हुनेछ । नारायण गोपालका सन्तान छैनन् । कालजयी गीत र मखमली स्वर नै उनका अजम्बरी सन्तान हुन् । उनको सम्झनामा उनको घर महाराजगञ्जमा धर्मपत्नी पेमला गुरुवाचार्यको संयोजकत्वमा विसं २०४७ मा नारायणगोपाल संगीत कोषको स्थापना गरियो ।
पेमला भाउजू स्वर्गलोक भएको पनि धेरै वर्ष बितिसक्यो । सो कोषबाट देशका विशिष्ठ व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने कार्यले निरन्तरता पाइरहेको छ । स्वरसम्राटको सम्झनामा उनले गाएका गीतहरू प्रत्येक वर्ष आजकै दिन विभिन्न गायक, गायिकाले गाउँदै आएका छन् । संगीत साधकका लागि मंसिर १९ गते ठूलो सम्झनाको दिन पनि हो भनेर हाल अष्टे«लियामा बस्दै आएकी संगीतको मेधावी विद्यार्थी शृंखला जोशीको भनाइ छ । सो कोषका अध्यक्ष उषा शेरचन, महासचिव दीपक केसी र संगीतगुरु राजकुमार श्रेष्ठले कोषका तर्फबाट यसका लागि हरेक वर्ष प्रबन्ध मिलाउँदै आएको देखिन्छ ।
दुईटा फूल देउरालीमा साथै राख्यौँ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँडे जस्तो लाग्छ
रचना : ईश्वर बल्लभ, संगीतकार/गायक नारायणगोपाल
लौ सुन म भन्छु मेरो रामकहानी
त्यो एकदिनको घाम, सयौं दिनको पानी
रचना/संगीत : गोपाल योञ्जन, गायक : नारायणगोपाल
यो सम्झिने मन छ, म बिर्सू कसरी
तिमी नै भनिदेऊ ए ! जाने निष्ठुरी
रचना : दिनेश अधिकारी, संगीत/गायकः नारायणगोपाल
साउनको झरी बनी तिमी आउन
मेरो मनको अधेरीमा जून छाउन
रचना : दीपक जंगम, संगीत/गायक : नारायणगोपाल
मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठीकै छु, बिथोल्न नआऊ
रचना : हरिभक्त कट्वाल, संगीत/गायक : नारायणगोपाल
यी र यस्तै गीतहरूले मन छुन्छ, आँखाबाट आँसु झर्छ अनि भन्न मन लाग्छ-स्वरसम्राट ! स्वर्गको पर्दा उघारेर आऊ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता