काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनी र बिमा सर्भेयर एकअर्काका परिपूरक भन्दै दुवै संस्थाले सानातिना समस्या समाधान गर्दै विश्वसनीयरूपमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल बिमा प्राधिकरणद्वारा आइतबार काठमाडौंमा आयोजित नेपाल बिमक संघ र नेपाल बिमा सर्भेयर संघसँगको अन्तरक्रियामा अध्यक्ष सिलवालले दुवै संघले एकले अर्कालाई बुझेर सानातिना समस्या समयमै समाधान गर्नुपर्ने बताउनुएको हो । उहाँले भन्नुभयो, ‘विद्यमान कानुनअनुसार काम गर्नुपर्छ, बिमा क्षेत्र अघि बढाउन संयुक्तरूपमा अघि बढ्नुपर्छ ।’
बिमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन्, त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेश गर्न पनि सिलवालले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘बिमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँट हुनुपर्छ, दुवै संघले समझदारी गरेर अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा सर्भेयरको फि तय गर्नुपर्छ, विश्वसनीयताका लागि सर्भेयर व्यवस्था गरिएको विषय बिमकहरूले बुझ्नुपर्छ । संघका पदाधिकारीहरूले नयाँ काम गर्नुपर्यो, सर्भेयरका लागि तालिम आयोजना गर्नुपर्यो, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुपर्यो, कुन बिमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ, त्यो थाहा हुने गरी डिजिटल फ्रेमवर्कमा जोडिनुपर्यो, बिमक र सर्भेयरका कारण दाबी फछ्र्योटमा ढिलाइ भयो भन्ने गुनासा आउनुभएन ।’
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बिमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फि भुक्तानी गर्नुपर्ने बताउनुभयो भने प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले बीमितको हकहित सुरक्षित हुने गरी बिमक र सर्भेयरले काम गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमा सर्भेयर संख्यामा भएको वृद्धिलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र बिमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता