रित्तिदै सामुदायिक विद्यालय, एउटै कक्षाकोठामा सबैलाई पठनपाठन

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 9 mins

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको वसन्त पञ्चमी प्राथमिक विद्यालयले एउटै कक्षाकोठामा विद्यार्थी राखेर पठनपाठन गर्दै आएको पाइएको छ ।

उक्त विद्यालयले बालविकासका २ जना र कक्षा–१ का १ जना विद्यार्थीलाई एउटा कक्षामा तथा कक्षा–२ का ४ जना, कक्षा–३ का १ जना र कक्षा–४ का १ जना विद्यार्थीलाई एउटा कोठामा राखेर तीन महिनादेखि अध्यापन गराईरहेको हो ।

यो विद्यालयमा बालबिकाससहित कक्षा–४ सम्म ९ जना मात्रै विधार्थी अध्ययनरत छ । साउन भदौको विद्यालय विदामा धमिराले काठ (डेस्क, बेन्चलगायत काठ) खाएपछि काठ सुकाएर स्टोर गर्दा कक्षा–४ र कक्षा–२ को कोठा ओगटेकाले एकै ठाउँमा बहुवर्ग शिक्षण गर्नु परेको विद्यालयका प्रधानाध्यापक तिलक श्रेष्ठले बताउनुभयो ।

यसरी एकै ठाउँमा विधार्थीलाई पढाउँदा अरु कक्षाका विद्यार्थीलाई अप्ठ्यारो पर्छ होला नी भन्ने प्रश्नमा प्रअ श्रेष्ठले भन्नभुयो, ‘लामो समय बहुवर्ग शिक्षण विधि अपनाएर लामो समयसम्म एउटै कक्षाकोठामा राखेर अध्यापन गराउँदा असर पर्ने देखियो । तथापी, फर्निचरलाई व्यवस्थापन गर्छौ । कक्षा सुचारु गर्छौ । अलग–अलग कक्षा व्यवस्थापन गर्न सक्षम छौ ।’ त्यो कहिलो हुन्छ ? भन्ने प्रश्नमा उनले एक सातामा आ–आफ्नो कक्षाकोठामा पढाई हुने प्रअ श्रेष्ठले बताउनुभयो ।

सबै विद्यार्थीलाई एउटै कक्षाकोठामा पढाईरहेको देखेपछि १०–१५ दिन अघि नै आफ्नो–आफ्नो कक्षामा पढाउन सुझाव दिईसकेको बाम्राङका वडाध्यक्ष एवंम् वडा शिक्षा समिति संयोजक महेन्द्र बहादुर राईले बताउभुनयो । ‘एकैजना विद्यार्थी भए पनि आफ्नो कोठामा पढाउनुहोस भनिसकेको छु । एकैजना भए पनि उसले पढ्न पाउने नैसर्गिक अधिकार खोसिनुभएन भनेको छु ।’ वडाध्यक्ष एवंम् वडा शिक्षा समिति संयोजक राईले भन्नुभयो ।

कक्षा–१ देखि ३ सम्म बहुबर्ग शिक्षण गर्न पाउने तर, कक्षा–४ लाई बहुबर्ग शिक्षण गराउने नपाईने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षा शाखा प्रमुख तीर्थ बहादुर विश्वकर्माले बताउनुभयो । अन्य कुरा समस्या हेरेर मात्रै भन्न सकिने विश्वकर्माको भनाई छ ।

रित्तिदै विद्यालय

यो विद्यालयमा दुई जनाको स्थायी दरबन्दी छ । जसमा प्रअ श्रेष्ठ र शिक्षिका शुशिला शर्मा । बालबिकासमा तुलसा हिङमाङ छन् । एकजना कार्यालय सहयोगी । तर, विद्यार्थी ज्यादै कम छन् । शैक्षिक सत्रको सुरुवातमा कक्षा–१ मा ७ जनाले भर्ना गरेका थिए । भर्ना भएका ७ मध्ये आकृति परियार बाम्राङकै सावित्रा मावि, तेज विशंखे याम्खा, रमेश राई समावि दिक्तेल, निशा राई र निशान राई तथा आरुष हिङमाङलाई परिवारले काठमाण्डौ लगेपछि अहिले कक्षा–१ मा १ जना मात्र ै(सबिन कटवाल) विद्यार्थी अध्ययनरत छन् ।

कक्षा–२ मा ५ जना भर्ना भएका थिए । अहिले ४ जना मात्रै विद्यार्थी कक्षामा आउँछन् । जसमा विद्यार्थी देवीकला राई समावि दिक्तेल गईन् । कक्षा–३ मा ४ जना भर्ना भए तर, १ जना मात्रै विधार्थी (सोफेस हिङमाङ) अध्ययन गर्न आउँछन् । नेत्र विशंखे याम्खा, अनुशा बिक समावि र आस्तिका राई बालबिकास प्रावि बाम्राङ गईन् ।

ADVERTISEMENT

कक्षा–४ मा पनि ४ जनाले भर्ना गरेका थिए । तर, अहिले १ जना मात्रै विद्यार्थी(सपिक्क्षा हिङमाङ) अध्ययन गर्छन् । रुपेस राई समावि दिक्तेल गए । तुलस नेपाली र प्रकृति परियार नपढि घरमै बसिरहेको विद्यालयले जनाएको छ ।

बालबिकासमा ५ जना भर्ना भएका थिए । तर, भर्ना भएका शेखामाया जोशी नीजि स्कुल गइन् । प्रशंसा दर्नाल र भावना ढकाल घरमै बसिरहेका बालबिकासका शिक्षिका तुलसा हिङमाङले बताउनुभयो ।

भर्ना भईसकेका विद्यार्थीहरु पनि नजिकैको विद्यालयमा गएपछि विद्यार्थी संख्या कम भएको प्रअ श्रेष्ठ बताउनुहुन्छ । पठनपाठन गतिलो नभएर विद्यार्थी अन्त गएको हो कि ? भन्ने प्रश्नमा प्रअ श्रेष्ठले पठनपाठन अरु विद्यालय भन्दा कम नरहेको जिकिर गर्नुभयो । ‘हाम्रो विद्यालयमा भर्ना भएका विधार्थी अधिकांश दलित समुदायका भएकाले छात्राबृत्तिका लागि २–३ वटा विद्यालयमा भर्ना गर्नेे र दुबैतिरबाट लाभान्बित हुने मनसाले हाम्रै विद्यालयमा भर्ना भई पोशाक, पुस्तकको सुविधा लिने र कता सजिलो हुन्छ । त्यतै अध्ययन गर्नाले विद्यार्थी कमी भएको देखियो ।’ प्रअ श्रेष्ठले भन्नुभयो ।

जीर्ण छ भवन

विद्यालयको तीनवटा भवनहरु जीर्ण छ । वि.सं २०४९ सालमा निर्माण गरिएको कच्ची भवनलाई २०७२ सालको भूकम्पले थिलथिलो बनाएको छ । विद्यालयसँग २ रोपनी १४ आना मात्रै जमिन छ । तर, विद्यालयको बलेसीदेखि व्यक्तिको जग्गा छ । विद्यालयको अनुरोधमा व्यक्तिको जग्गालाई सम्याएर विद्यालयको प्राङगण बनाईएको छ । वरिपरि घेराबारा गरिएको छ । बाम्राङमा जम्मा ६ वटा विद्यालय छन् । सुर्केडाँडा निमावि, सावित्रा मावि, शिद्धेश्वरी प्रावि संखु, जनता प्रावि रातापानी, बालबिकास प्रावि र बसन्त पञ्चमी प्रावि छन् ।

एकजना दरबन्दी र एकजना बालबिकास शिक्षिका भएको बालबिकास प्रावि बाम्राङमा पनि विद्यार्थी ज्यादै कम छ । त्यहाँ बालबिकासमा ११ जना, कक्षा–१ मा ५ जना, कक्षा–२ मा २ जना, कक्षा– ३ मा २ जना विधार्थी रहेको प्रधानाध्यापक लक्ष्मी राईले बताउनुभयो । भर्ना भईसकेका विद्यार्थीलाई पनि अभिभावकले निकालेर निजी विद्यालय लगेपछि विद्यार्थीको संख्या घटिरहेको प्रधानाध्यापक राईले बताउनुभयो ।

यसैगरी, सावित्रा मावि बाम्राङमा बालबिकासमा ५ जना, कक्षा–१ मा ८ जना, कक्षा–२ मा ५ जना, कक्षा–३ मा ५ जना, कक्षा–४ मा १० जना, कक्षा–५ मा १० जना, कक्षा– ६ मा १३ जना, कक्षा– ७ मा १८ जना, कक्षा– ८ मा १० जना, कक्षा–९ मा २२ जना र कक्षा–१० मा २३ जना विधार्थी रहेको विद्यालयले जनाएको छ । तर, नगरपालिकाको ईमिस र विद्यालयको हाजिरीमा विवरण मिलेको पाइदैन् ।

विद्यालयहरुले भौतिक विद्यार्थीभन्दा बढी ईमिसमा विधार्थी संख्या देखाएर दैनिक दिवा खाजा र पुस्तक खर्चमा आउने बजेटको दुरुपयोग गर्ने गरेको गुनासो आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *