काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'ले कोप-२८ बाट आफू सन्तुष्ट रहेको बताउनुभएको छ । दुबईमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२८) मा सहभागी भएर आइतबार स्वदेश फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले नेपालले पर्वतीय मुलुकहरूको नेतृत्व गर्दै आफ्नो मुद्दा जोडदारसँग राखेको बताउनुभयो । सम्मेलन अगाडि राष्ट्रसंघका महासचिवले गरेको नेपाल भ्रमणको विश्वव्यापी प्रभाव परेको पनि उहाँको भनाइ थियो । ‘म सन्तुष्ट छु, जस्तो होस् भनेको हो, त्यस्तै भयो,’ उहाँले भन्नुभयो, ‘मेरो अध्यक्षतामा जुन राउण्ड टेबल भयो, सबैले नेपालको प्रशंसा गर्नुभयो ।’ मूल स्टेटमेन्ट पनि यो पटक हामी माग्न आएजसरी निरीह भएर प्रस्तुत हुने होइन । अधिकारको निम्ति योद्धा जसरी प्रस्तुत हुने भनेको थिएँ, त्यस्तै भयो । ‘पोलिसी लेभलमा हाम्रो बलियो उपस्थिति भयो । अब नेपाललाई माइनस गर्न सक्दैन ।’ नेपालले पर्वतीय मुलुकको नेतृत्व गरेको र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि नेपाललाई प्राथमिकतामा राखेकाले आर्थिक सहयोग आउनेमा ढुक्क रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिका लागि आउने आर्थिक तथा प्राविधिक सहायता पहिलाभन्दा बढ्ने उहाँले दाबी गर्नुभयो । जलवायु परिवर्तनले पारेको असरको विषय पहिलेभन्दा गम्भीर ढंगले उठाएको, विकसित देशले पनि त्यसअनुसार नै प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले सुनाउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो युएई भ्रमण अभूतपूर्व रूपमा सफल भएको दाबी गर्नुभएको छ । पहिले कहिल्यै नभएको अनुभव नेपालले हासिल गरेको उहाँले बताउनुभयो । उहाँ मंसिर १५ र १६ गते विश्व जलवायु शिखर सम्मेलनको उच्चस्तरीय सत्रमा सहभागी हुनुभएको थियो । साथै उहाँले मंसिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबईमा एकत्रित भएका विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल यही मंसिर १३ गते युएईतर्फ प्रस्थान गरेका थिए । उहाँलाई स्वागत गर्न सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जंगी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित युएईको राजदूतावासका उच्च अधिकारी विमानस्थल पुग्नुभएको थियो ।
यात्रु छुटेको दुबई पुगेपछि मात्र थाहा पाएँ
प्रधानमन्त्री प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो फ्लाइटको टाइम मिलाएको भन्ने जानकारी आफूले पाएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई जाँदा ३१ जना यात्रु छुटेका थिए । ‘३१ जना यात्रु छुट्दै छन् भन्ने थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ । जुन टाइम हो, त्यही टाइममा जान्थेँ, ‘उहाँले भन्नुभयो, ‘मैले त क्यानले मिलायो भन्ने मात्र बुझेँ । उहाँ पुगिसकेपछि मात्र थाहा भयो कि मेरो कारणले २ घण्टा छिटो ल्याउन खोज्दा ३१ जना यात्रु छुटेका रहेछन् । मैले साथीहरूलाई भने पनि, यो कुरा मलाई यहाँ थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थेँ ।’
तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन
प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा तत्काल कुनै हेरफेर नहुने स्पष्ट पार्नुभएको छ । आइतबार दुबईबाट प्रधानमन्त्री नेपाल फर्किनेबित्तिकै पत्रकारले मन्त्रिमण्डलमा व्यापक हेरफेर गर्ने चर्चा चलिरहेको छ नि ? भनेर सोधेका थिए । उक्त चर्चालाई प्रधानमन्त्रीले खारेज गर्नुभयो । ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन,’ उहाँले भन्नुभयो ।






