
✍️ केशव चौलागाईं
संसारमा कुन संस्कृति धनी छ भन्ने कुरा त्यहाँको भाषा र साहित्यले दर्शाउँछ । यदि कुनै पनि भाषा लोप भयो भने त्यस समाजको साहित्य र संस्कृति लोप भएर जान्छ अनि साहित्य र संस्कृति लोप भयो भने त्यो समाजको अस्तित्व हराएर जान्छ । संसारमा यस्ता धेरै समाज, समुदायहरू छन् जसले आफ्नो भाषा साहित्यको जगेर्ना गर्न नसकेर लोप भएका छन् । भाषाले कुनै पनि जातिको साहित्य र संस्कृतिलाई बचाइराखेको हुन्छ ।
अन्य शब्दहरूझैँ भाषा शब्दको पनि आफ्नै अर्थ र स्वरूप रहेको हुन्छ । ‘भाष’ धातुमा अङ्+टाप् (आ) प्रत्यय जोडिएर भाषा शब्दको उत्पत्ति भएको पाइन्छ । यहाँ भाषा शब्दको अर्थ स्पष्ट वा व्यक्तिवाणी भन्ने हुन्छ । उच्चारण अवयवद्वारा उच्चारित अर्थयुक्त बोलीलाई नै स्पष्ट वाणीको अर्थमा लिइन्छ । भाषा एक मानवीय वस्तु हो । मानव समाजमा आपसी विचार विनियमका लागि प्रयोग गरिँदै आएको एक अमूल्य निधि हो । भाषा कथ्य र लेख्य गरी दुई किसिमका हुन्छन् । कथ्य भाषा लेख्य भाषाको तुलनामा बढी अस्थिर हुन्छ । समाजमा रहेका व्यक्तिहरू बीच एउटाको भावना अर्कोसम्म पुर्याउने माध्यम नै वास्तवमा भाषा हो । यसलाई मानव सभ्यताको महत्वपूर्ण उपलब्धि मानिन्छ ।
आफूलाई संसारमा चिनाउने सशक्त माध्यम नै भाषा हो । आफ्नो भाषाबिना हरेक प्राणीको जीवन निरर्थक हुन पुग्दछ । आफ्नो धर्म, संस्कार, संस्कृति जातित्वको पहिचान भाषाले गराउने भएकाले भाषाको ज्यादै ठूलो महत्व रहेको छ ।
भाषाले नै मानवीय मनका विविध विचारहरू परस्परमा आदान-प्रदान गराउँछ । भाषाको सम्बन्ध जीवसँग, जीवनसँग, जीवनको प्रयोग, विकास र विस्तारसँग जोडिएको हुन्छ । भाषा सम्बन्धित जाति, जनजाति, समुदायको पहिचान हो । आफ्नो भाषाको प्रयोगले हामी आफूले जानेबुझेका कुराहरू अरूलाई बुझाउँछौं । आफ्नो भाषाको प्रयोगले आत्मसम्मान, आत्मगौरव पैदा हुन्छ । भाषाको लोप भयो भने आफ्नो गहकिलो पहिचान समाप्त हुन पुग्दछ । यस्तो दुष्प्रयासबाट हामी जोगिनुपर्दछ । मान्छे-मान्छेबीचमा विचारको विनियम गर्न सक्ने प्रमुख माध्यम नै भाषा हो । समाजका प्रत्येक व्यक्तिबीच सम्बन्ध स्थापित गर्न र सामाजिक व्यवहार आदान-प्रदान गर्न भाषा अपरिहार्य हुन्छ ।
भाषाबिना एक व्यक्तिले अर्को व्यक्तिसँग न त व्यवहार नै गर्न सक्छ न त विचारको विनियम नै । फलतः भाषा मानव जीवनको एक मात्र संप्रेषणको माध्यम हो । यही संप्रेषणता नै भाषाको महत्वपूर्ण विशेषता हो । भाषिक व्यवस्थाअन्तर्गत ध्वनि व्यवस्था, व्याकरण व्यवस्था, अर्थ व्यवस्था र शब्दभण्डार पर्दछन् । भाषाभित्र सन्दर्भपरक अर्थ, कोशीय अर्थ, अर्थ परिवर्तन, अर्थ संकोच, अर्थ विस्तार आदि अर्थ व्यवस्थासित सम्बन्धित कुराहरू रहेका हुन्छन् । संसारका अन्य भाषासरह नेपाली भाषाको पनि आफ्नै किसिमको अर्थ व्यवस्था रहेको छ । भाषाको शब्दभण्डार जति ठूलो भयो त्यति सूक्ष्म अभिव्यक्ति गर्न सकिन्छ । शब्दभण्डार वृद्धि गर्न भाषाले निरन्तर रूपमा शब्द सापटी लिएर नयाँ शब्दको निर्माण गरिरहन्छ ।
आफूलाई संसारमा चिनाउने सशक्त माध्यम नै भाषा हो । आफ्नो भाषाबिना हरेक प्राणीको जीवन निरर्थक हुन पुग्दछ । आफ्नो धर्म, संस्कार, संस्कृति जातित्वको पहिचान भाषाले गराउने भएकोले भाषाको ज्यादै ठूलो महत्व रहेको छ । त्यसैले भाषा समाप्त हुनु भनेको पहिचान नै समाप्त भएर जानु हो । आफ्नो भाषाको प्रयोग जाति, जनजाति, वर्ग समुदायले गर्नुपर्दछ । भाषाको विस्तार गरी प्रयोगक्षेत्र फराकिलो बनाउँदै लैजानुपर्छ । आफ्नै भाषामा विज्ञान प्रविधिका नयाँ-नयाँ विषयवस्तु आविष्कार गरी बाहृय जगत्लाई नेपाली भाषाप्रति आकर्षित गर्न सकिन्छ ।
भाषाको प्रवर्धन गर्न बाजे-बाबु, छोरा-नाति, पनाति हुँदै पुस्तौं पुस्तासम्म भाषाको मौलिकता संरक्षण र विस्तारमा लाग्नुपर्दछ । पहिचानलाई माया गर्ने, भाषालाई महत्व दिने, मातृभूमिका लागि योगदान दिन तत्पर हुने, संस्कार, संस्कृति, धर्मप्रति जिम्मेवार ठान्ने, आफ्नो र आफ्नो जाति समुदायलाई सम्पन्न बनाउने जस्ता कार्यले हाम्रो चिनारी सर्वत्र फैलिन पुग्दछ । नेपाली भाषा खस, पर्वते, सिञ्जाली तथा गोरखा भाषा नामले चिनिन्छ । यो भाषा भारोपेली परिवारको विभिन्न शाखाहरूमध्ये शतम् शाखाबाट इरानेली शाखाको आर्येली हाँगो हुँदै प्राचीनसंस्कृत-वैदिकसंस्कृत-लौकिकसंस्कृत-प्राकृत-सौरशैनीको पहाडी अप्रभंश (कसैले खस अपभंश भनेका छन्) भएर नेपालकै सिञ्जा उपत्यकामा उत्पत्ति भएको हो भन्ने भाषा वैज्ञानिकहरूको मत रहेको छ ।
नेपाली भाषा संस्कृत भाषाबाट विकसित भएकाले यसका कतिपय पक्षमा संस्कृत भाषाको महत्वपूर्ण देन रहेको कुरामा शंका छैन । नेपाली भाषाको वर्तमानलाई सन्दर्भमा राख्दा यो भाषाको विगतलाई हेर्नुपर्ने हुन्छ । आज हजारौं वर्षदेखि भाषा विकसित हुँदै आएको छ । यस सन्दर्भमा विश्वमा तीन हजारभन्दा बढी भाषा छन् । विभिन्न भाषाका आधारमा विभाजन गर्दै लैजाने सन्दर्भमा भारोपेली परिवारको सन्दर्भ यहाँ उल्लेख यस अर्थमा गर्नुपर्छ । यो नेपाली भाषा भारोपेली वर्गको हो । यो भाषा हिन्दी, फारसी, अंग्रेजी, फ्रेन्च जस्ता भाषासँग निकटको छ । उर्दू, पञ्जावी वा मराठी पनि यसै सन्दर्भमा आउँछन् ।
सबभन्दा महत्वपूर्ण कुरा के हो भने आज हामी विश्वव्यापीकरणमा छौं, भूमण्डलीकरण । यस अर्थमा विश्व आज प्रविधिका दृष्टिले सागुँरिएर गएको छ । यही क्रममा नेपालीहरू विश्वका हरेक देशमा छरिएर रहेका छन् । यसरी छरिएका नेपालीहरू ज्ञान, विज्ञान र प्रविधिका विभिन्न क्षेत्रमा काम, माम र अन्य कुराको खोजीमा विदेशमा छरिएका छन्, फैलिएका छन् र कति विभिन्न प्रकारले बसाइँ पनि सरेका छन् । यस अर्थमा आज नेपालीहरू विश्वव्यापीकरण भएका छन् ।
यो विश्वव्यापीकरण हुने सन्दर्भमा एकातिर उनीहरूले विश्वभाषा अंग्रेजी आत्मसाथ गरिरहेका छन् भने अर्कोतर्फ उनीहरूका सन्तानले त्यहाँको स्थानीय भाषा पनि पक्डेका छन् । लामो समयसम्म विदेशमा बस्नेहरूका सन्तान भने आफनो मातृभाषा भुल्न सक्ने अवस्था पनि देखापरिरहेको छ तर जे जति नेपालीहरू यो पुस्तामा पुगेका छन् । उनीहरूको नेपालीसँगको सम्पर्कको माध्यम चाहिँ नेपाली भाषा छ जुन अत्यन्त सन्तोष र गौरवको विषय बनेको छ ।
नेपाली भाषा भारतका दार्जिलिङ, सिक्किम, आसाम, बर्मा, कलकत्ता, पटना, देहरादुन, दिल्ली, मेघालय, मणिपुर, पश्चिम भारतका राज्य पञ्जाव, गुजरात, जम्मुकश्मिर, हिमाचल, कुमाउ, गढवाल मुम्बईसम्म विस्तार भएको छ । नेपाली भाषा राम्रोसँग उच्चारण गर्ने, शुद्धसँग लेख्ने मानिसको कमी हुँदै गइरहेको छ ।
दिनहुँ बढ्दो वैज्ञानिक आविष्कारको प्रयोगसँगै विश्व विभिन्न प्रकारले परिर्वन हुँदै गइरहेको छ । यो परिवर्तमा आफ्नो अस्थित्वको रक्षा गर्दै आधुनिकतासँग परिचित हुँदै परिवर्तनलाई अंगीकार गर्नु एकातर्फ ठूलो चुनौती बन्न गएको छ किनभने विश्व भूमण्डलीकरणको यस रूपमा नेपाली भाषाको स्वरूप कस्तो बन्ने हो भन्ने कुरा भविष्यको गर्भमा छ । अहिले विश्वमा छरिएका नेपाली डायस्पोरासँग नेपाली भाषाले सम्झौता गर्नु त्यसै पनि चुनौतीपूर्ण छ । बहुजाति, बहुभाषा, बहुसंस्कृति भएका नेपालीहरूलाई अंग्रेजी जस्ता भाषाका साथै स्थानीय भाषाहरू सम्बन्धित राष्ट्रिय भाषाहरूसँगको चुनौतीपूर्ण छ ।
खास गरेर नेपालीहरूको जातीय भाषाको रूपमा परिचित नेपाली भाषा नेपालका जातीय मातृभाषाको विकास, विस्तारको लागि मात्र होइन संरक्षणका लागिसमेत अघि बढ्नुपर्ने अवस्था आएको अनुमान गर्न सकिन्छ । देशभित्र नेपाली भाषालाई संरक्षण र सम्वद्र्धन गरेसरह अन्य भाषाहरूको संरक्षण, सम्बद्र्धन र विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम तयार गरेर राष्ट्रियस्तरमै परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ ।
नेपाली भाषाको मानक प्रयोग र एकरूपता अनिवार्य छ । भाषाको मानक प्रयोग र एकताका लागि शब्दकोश र व्याकरणको आवश्यकता पर्छ । झापाको मान्छे कञ्चनपुर पुग्दा आफ्नो भूमिभित्र भूमिपुत्रका रूपमा जुन गौरवबोध गर्छ त्यसमा आफ्नै मगमग, हरर बास्ना आउने गर्छ, सुवास भइरहन्छ । यसको विशिष्टता आफ्नै प्रकारको छ । एउटा गुरुङले अर्को शेर्पासँग कुरा गुर्न पर्यो भने नेपाली भाषामै कुरा गर्छ र त्यसमा अपनत्व सम्झने गर्छ । एउटा व्यापारीले काठमाडौंमा आएर मैथिल भाषा बोल्दैन उसले नेपाली नै बोल्ने गर्दछ । यसरी नेपाली भाषा नेपालमा जनजीवनको भाषा बनेको छ । यो आफ्नै स्वाद, आफ्नै आनीबानी, आफ्नै नियमको रूपमा परिचित बनेको छ ।
पहाडमा, तराईमा, वनारसमा, दार्जिलिङ्मा, आसाममा, देहरादूनमा, भुटानमा, बर्मामा, सिक्किममा, हिमाचल प्रदेशमा, मणिपुरमा, मेघालयमा नेपाली भाषामा प्रयोग भएका शब्दहरू भेला पार्न अहिले पनि सकिएको छैन । हाम्रा लोकसाहित्य सिर्जनाले हाम्रो भाषालाई जीवन्त बनाइराखेका छन् । जातीय दृष्टिकोणदेखि रीतिथिति, रहनसहन, परम्परा संस्कृतिको रूपमा यिनीहरूले नै जोगाएका छन् । भोटेसेले, बालुन, मारुनी, कौरा, सोरठी, चुड्का, मुनामदनजस्ता अनेकन लोकभाकालाई तिखार्दै, निखार्दै लैजानुपर्दछ । यिनै लोकसाहित्यले नेपाली भाषालाई जोगाएका छन्, मौलिक पहिचानलाई बचाएका छन् ।
भाषा, साहित्य, कला, संस्कृति एक-अर्काका परिपूरक हुन् । भाषा समाजको ऐना हो । कुनै पनि समाज कस्तो छ भन्ने कुरा त्यस समाजको भाषाले बताउँछ । विकसित र सम्पन्न समुदायमा बोलिने भाषा र अविकसित र विपन्न समुदायमा बोलिने भाषामा गहिरो अन्तर रहेको पाइन्छ । कुनै पनि समाज वा देशमा भाषाको विकास भयो भने भाषा सँगसँगै त्यहाँको कला, साहित्य, संस्कृति, दर्शन, सिर्जनशीलता, मौलिकता, वैज्ञानिक खोज, आविष्कारजस्ता कुरा निखारिएर जाने गर्दछन् । जार्मनको विकासमा जर्मनी भाषामा जर्मनी नागरिकको वैज्ञानिक खोज, आविष्कार, सिर्जनशीलता, मौलिकता, कला, संस्कृतिको विकासजस्ता कुराहरू जोडिए जस्तै अंग्रेजी, जापानी, चाइनिज, कोरियन, रसियन आदि संसारका विभिन्न भाषाले पनि यस्तो किसिमले विकास गरेको सहजै अनुमान गर्न सकिन्छ । तसर्थ, हामी नेपालीले पनि हाम्रो भाषाको विकास देश विकासको पहिलो सर्त हुनजान्छ ।
नेपाली भाषा भारतका दार्जिलिङ, सिक्किम, आसाम, बर्मा, कलकत्ता, पटना, देहरादून, दिल्ली, मेघालय, मणिपुर, पश्चिम भारतका राज्य पञ्जाव, गुजरात, जम्मुकश्मिर, हिमाचल, कुमाउ, गढवाल मुम्बईसम्म विस्तार भएको छ । नेपाली भाषा राम्रोसँग उच्चारण गर्ने, शुद्धसँग लेख्ने मानिसको कमी हुँदै गइरहेको छ । बजारमा टाँगिने/टाँसिने/प्रयोगमा ल्याइने विभिन्न किसिमका पर्दा, पम्प्लेट, साइनबोर्डहरूमा पनि अशुद्ध नेपाली भाषाको प्रयोग भएको पाइन्छ । ठूला-ठूला उद्योग, कम्पनी, संघसंस्था समेतले केही कुरा लेखेको हेरियो भने भाषागत शुद्धता गलत भएको पाइन्छ । यस्तो लेखाइले राम्रो पढ्न लेख्न जान्ने मानिसहरूसमेत झुक्किने गरेका छन् । तसर्थ सबैले नेपाली भाषालाई बचाउँदै स्तरवृद्धि गर्दै लैजानुपर्दछ ।
नेपाली भाषा शिक्षा, प्रशासन, मिडिया, अदालत र प्रकाशनमा सरकारी कामकाजको भाषाको रूपमा छ । नेपालको संविधानको २०७२ को धारा ७, उपधारा १ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा, नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनेर उल्लेख गरिएको छ । राज्यले भाषाको विकासमा नयाँ पाठ्यक्रम, २०८० लाई कक्षा १ देखि कक्षा १२ सम्म अनिवार्य नेपाली र सामाजिक भाषालाई नेपाली भाषामै अध्ययन अध्यापन पूर्णरूपमा लागू गरेको छ ।
यसले भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा केही सहज भने पक्कै बनाएको छ तर पनि भाषामा वैज्ञानिक खोज, आविष्कार, अध्ययन-अनुसन्धान, सिर्जनशीलता, मौलिकता, कला, साहित्य, संस्कार, संस्कृतिको विकास एवं विस्तार गर्नु अत्यन्त जरुरी छ । त्यसका लागि हामीभित्र रहेका अन्तर्निहित क्षमतालाई निखारेर बाहिर ल्याई परिष्कार गरी समय परिवेश सुहाउँदो विकास आजको प्रमुख आवश्यकता बनेको छ । (चौलागाईं रिलायन्स पब्लिक स्कुलमा नेपाली विषय अध्यापनरत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच