काठमाडौं । नेपाल-नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले शनिबारदेखि काठमाडौं-संघाई-काठमाडौं उडान सेवा सुरु गरेको छ । सेवा विस्तारलाई एयरलाइन्सले दुई देशबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्ध प्रवद्र्घन गर्ने प्रतिबद्धताका रूपमा लिएको छ ।
काठमाडौं-संघाई–काठमाडौं रुटले यात्रुलाई नेपालको राजधानी र चीनको सबैभन्दा विशाल एवं विश्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित शहरबीचमा सहज यात्राको विकल्प प्रदान गर्ने एयरलाइन्सले जनाएको छ । दुर्ई शहरबीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवं प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एयरलाइन्सकोे प्रतिबद्धतासमेत झल्काएको बताइएको छ ।
एयरलाइन्सका अनुसार पहिलो आउट बाउण्ड उडान एच ९७८०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान नौ बजेर ५० मिनेटमा प्रस्थान गरेको थियो र संघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार साँझ चार बजेर ३१ मिनेटमा अवतरण गरेको थियो । उडान अवधि चार घण्टा सात मिनेटको रहनेछ । पहिलो उडानमा कुल यात्रु संख्या एक सय ३८ रहेको थियो ।
सुरुमा हरेक शनिबारमात्र उडान सेवा सञ्चालन गर्ने योजना रहे पनि डिसेम्बर २० देखि हरेक बुधबार र शनिबार गरी हप्तामा दुईपटक उडान सेवा विस्तार गर्ने एयरलाइन्सको तयारी छ । उक्त उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एयरलाइन्सको यो तेस्रो सिधा उडान सेवा रहेको छ । एयरलाइन्सले यसअघि नै बेइजिङ र छिन्ताओमा नियमितरूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।
हिमालयले संघाईपछि यही महिनामै चोङकिङ र ल्हासामा पनि उडानको तयारी गरेको छ ।
उद्घाटन कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी र नेपालस्थित चिनियाँ आर्थिक तथा वाणिज्य कन्सुलर सीयुको उपस्थिति रहेको थियो भने हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठले स्वागत गर्नुभएको थियो । सो अवसरमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, ‘नेपाल र चीनबीचको दुर्ई दशकको उड्डयन इतिहासमा चीनले नेपालमा पहिलो यात्रु उडानको सुरुवात गरेको थियो । चीनबाट नेपालमा सबैभन्दा धेरै एयरलाइन्सले उडान सेवा सञ्चालन गर्छन् । हिमालय एयरलाइन्ससमेत गरी नेपालमा छवटा एयरलाइन्सबाट चीन-नेपाल उडान हुँदै आएका छन् ।’
उपाध्यक्ष श्रेष्ठका अनुसार हिमालय एयरलाइन्सले कोरोनाअघि चीनका पाँच गन्तव्यमा उडान भरेको थियो । एयरलाइन्सका हालका गन्तव्यहरू पर्यटकीय गन्तव्यमा आधारित छन् । कोरोनाअघि विश्वभर १६ करोड पर्यटक बाहिर पठाएको चीनले कोरोनापछि पनि विश्वका विभिन्न भागमा थप पर्यटक पठाउने प्रयास गरिरहेको छ, जसमध्ये नेपाल पनि प्रमुख गन्तव्यका रूपमा रहेको छ । हिमालयले यसै महिना चीनका चोङकिङ र ल्हासामा पनि उडान सेवा विस्तारका लागि तयारी गरिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विश्वकै व्यापारिक केन्द्र तथा चीनको प्रमुख शहरमा गरिएको नयाँ गन्तव्य विस्तारका रूपमा संघाईको उद्घाटन उडानका लागि हिमालय एयरलाइन्सलाई बधाई दिँदै भन्नुभयो, ‘यो गन्तव्य विस्तार एयरलाइन्सका लागि यात्रुलाई नयाँ र विविध अनुभवसाथ जोड्ने उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताका लागि महत्वपूर्ण कोसेढुंगा रहेको छ ।
यो उडान विस्तारसँगै एयरलाइन्सले आफ्नो योजनामा सफलता प्राप्त गर्दै बढीभन्दा बढी चिनियाँ पर्यटक नेपालमा आकर्षित गरी पर्यटन र उल्लेख्य मालसामान ढुवानी वृद्धिसँगै दुर्ई राष्ट्रबीचको सम्बन्ध अझ मजबुत रहोस् ।’ नेपालका लागि चिनियाँ आर्थिक तथा वाणिज्य कन्सुलर सीयुले हिमालय एयरलाइन्सलाई काठमाडौंदेखि संघाईसम्मको उद्घाटन उडानका लागि बधाई दिनुभयो । एयरलाइन्सले संघाईजस्ता चीनका प्रमुख शहरमध्ये एक महत्वपूर्ण शहरमा उडान सुरु गर्नु र यही महिनामै चोङकिङ र ल्हासालाई पनि उडान तालिकामा समावेश गरी उडान गन्तव्य विस्तार गर्नु एयरलाइन्सका लागि गर्वको कुरा रहेको उहाँको भनाइ थियो ।
चार करोड जनसंख्या भएको चीनको प्रविधि र उत्पादनको केन्द्रका रूपमा रहेको संघाई शहरमा हिमालय एयरलाइन्सले सुरु गरेको सिधा उडानको प्रशंसा गर्दैै उहाँले भन्नुभयो, ‘यो सेवाले नेपाली व्यापार विस्तारका लागि एउटा उल्लेखनीय अवसर प्रदान गर्ने विश्वास राख्छु । हिमालय एयरलाइन्सका लागि संघाईको सिधा उडानले ठूलो महत्व राख्छ । यो नयाँ रुटले चीनमा नेपाली व्यापार विस्तारका लागि एउटा उल्लेखनीय अवसर प्रस्तुत गरेको छ ।’






