काठमाडौं । अर्थतन्त्रको सुधारमा सरकार र निजी सहकार्यमा जोड दिइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एकै मञ्चमा सरकारी अधिकारी र निजी क्षेत्रले समस्या समाधानका लागि सहकार्यमा जोड दिएका हुन् । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको भन्दै अहिलेको व्यवस्थाप्रति स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको दाबीसमेत गर्नुभयो । अर्थतन्त्र सुधारमा स्वयं प्रधानमन्त्रीले गम्भीर पहल लिएको भन्दै उहाँले चाँडै अर्थतन्त्र लयमा फर्किने जिकिर गर्नुभयो । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको, पुँजीबजारले गति लिएको र घरजग्गा व्यवसाय लयमा फर्किएको अर्थमन्त्रीको दाबी थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ऋणीसँग कुनै बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउन आग्रह गर्नुभयो । बैंकले बढी ब्याज लिएको पाइए राष्ट्र बैंकले फिर्ता गराउने उहाँको भनाइ थियो । गभर्नर अधिकारीले गत आर्थिक वर्षमा बढी लिएको चार अर्ब ७६ करोड ब्याज फिर्ता गराएको स्मरणसमेत गराउनुभयो । बैंकहरूले बढी ब्याज लिए भनेर तथ्यभन्दा बाहिर गएर गुनासो नगर्नसमेत उहाँले आग्रह गर्नुभयो । बजेटमा भएका कुरा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सहयोग गरिरहेको पनि गभर्नर अधिकारीले बताउनुभयो । आर्थिक शिथिलताका कारण बैंकको खराब कर्जा बढ्ने भन्दै यस्तो बेला बैंकहरूले प्रोभिजन बढाउनुपर्ने भएकाले राष्ट्र बैंकले कडाइ गरेको उहाँको भनाइ थियो । गभर्नर अधिकारीले भन्नुभयो, ‘खराब कर्जा नबढोस् भनेर टाइट गरेको हो, त्यसो त दक्षिण एसियाको तुलनामा नेपालमा खराब कर्जा कम छ ।’ आफू मिहिनेत नगर्ने अनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाउने गरिएको भन्दै दोष मौद्रिक नीतिलाई दिएरमात्र उम्कन नहुने उहाँले बताउनुभयो ।
बंैकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले कर्जाको ब्याजदर एक प्रतिशतले घटेको जानकारी गराउँदै ब्याजदर अझै घट्दै जाने दाबी गर्नुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भन्ने सरकार, राष्ट्र बंैकले स्वीकार गरी समाधानमा लाग्नुपर्ने बताउनुभयो । राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य पहुँचका आधारमा भन्दा विज्ञताका आधारमा हुनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा झन्झटिलो प्रक्रियाका कारण लगानी भित्रिन नसकेको भन्दै नेपालमा घरेलु तथा साना उद्योग व्यवसायमा जोड दिनुपर्ने सुझाव दिनुभयो । साना उद्यमीको रक्षा गर्न सके त्यसले अर्थतन्त्रमै योगदान पुग्ने उहाँको भनाइ थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बंैकले जमानी बस्नेलाई कालोसूचीमा राख्न गरेको व्यवस्था स्वागतयोग्य रहेको बताउनुभयो ।
विभिन्न आर्थिक पत्रकार पुरस्कृत
कार्यक्रममा सेजनले चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । एकजनालाई फेलोसिप प्रदान गरेको छ । सेजनले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डबाट यस वर्ष कान्तिपुरकर्मी मात्रिका दाहाल र देवेन्द्र भट्टराई पुरस्कृत हुनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई एक लाख राशिको उक्त अवार्ड प्रदान गरिएको हो ।
त्यस्तै क्लिकमाण्डुकर्मी राजेश बर्मालाई ५० हजार राशिको सेजन डिजिटल मिडिया अवार्ड प्रदान गरेको छ भने भोला चालिसे लिवरल जर्नालिजम अवार्ड हिमाल खबरका रमेशकुमार न्यौपानेलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ । सेजन छापामाध्यम अवार्ड नयाँ पत्रिकाकी मुना कुँवरलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।
५० हजार राशिको सेजन ब्रोडकाष्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेललाई प्रदान गरिएको छ । एक लाख राशिको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बञ्जाडेलाई प्रदान गरिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता