गाजापट्टी । इजराइली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजराइल र हमासबीच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा शहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ । ‘हमासले जारी विरामको उल्लंघन गरेको छ, यसका साथै उसले इजरायली क्षेत्रतर्फ गोली हानेको छ,’ इजराइली सेनाले भनेको छ, ‘आइडिएफ (इजराइली सुरक्षा बल) ले गाजापट्टीमा हमास लडाकु समूहविरुद्ध पुनः लडाइँ सुरु गरेको छ ।’
उक्त घोषणा गाजाबाट प्रहार गरिएको एउटा रकेटलाई रोकेको बताएको केही मिनेटपछि आएको हो । सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो । गाजाभित्र रहेका एएफपीका एक पत्रकारका अनुसार इजराइली लडाकु विमानहरूले धेरै हमला गरेका छन् र गाजा शहरमा तोप प्रहार भएको छ । युद्धको पुनः सुरुवातले सातदिने युद्धविरामको विस्तारको अपेक्षाहरूलाई धरासायी बनाएको छ । सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीको रिहाइको बदलामा हमासबाट दर्जनौँ बन्धकलाई रिहा गरिएको थियो । युद्धविरामले क्षतिग्रस्त गाजापट्टीमा थप सहयोगका लागि अनुमतिसमेत दिएको छ ।
बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइली र प्यालेस्टिनी अधिकारीहरूसँग भेटेर शत्रुता रोक्ने क्रमलाई बढाउन आहृवान गर्नुभएको थियो । साथै उहाँले युद्धको कुनै पनि सुरुवातले प्यालेस्टिनी नागरिकको रक्षा हुनुपर्ने चेतावनी दिनुभयो ।
युद्धविरामले अक्टोबर ७ देखि सुरु भएको युद्धलाई रोकेको थियो । हमासका लडाकुहरू गाजाको सैन्यकृत सीमा तोडेर इजराइलमा पसेपछि युद्ध सुरु भएको थियो । इजराइली अधिकारीहरूका अनुसार अचानक भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमास लडाकुहरूले करिब दुई सय ४० मानिसलाई अपहरण गरेका थिए ।
जवाफमा इजराइलले हमासलाई निमिट्यान्न पार्ने वाचा गर्दै गाजामा हवाई र स्थल आक्रमण सुरु गर्यो । हमास सरकारका अनुसार इजराइली हमलामा अधिकांश सर्वसाधारणसहित १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
कतारको मध्यस्थतामा भएको युद्धविरामका क्रममा दुई सय ४० प्यालेस्टिनी बन्दीहरूको बदलामा ८० इजराइली बन्धकलाई मुक्त गरिएको थियो । इजराइलमा बसोबास गर्ने २० भन्दा धेरै थाईलाई सम्झौताको दायराभन्दा बाहिर रहेर मुक्त गरिएको थियो । दुई महिलालाई मुक्त गरिएको केही घण्टापछि रातारात थप छ इजराइलीलाई रिहा गरिएको थियो । ती इजराइलीसँग दोहोरो राष्ट्रियता थियो ।
यसबाट बिहीबार रिहा हुने कुल मानिसको संख्या आठ भएको छ । यो युद्धविराम सम्झौताअन्तर्गत हमासले रिहा गर्नका लागि आवश्यक प्रतिदिन १० बन्धकभन्दा कम हो । हमासको एक निकट स्रोतका अनुसार उसले सातौँ खेपको हिस्साका रूपमा बुधबार रिहा गरिएका दुई रुसी-इजराइली महिलालाई गणना गरेको छ । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts