काठमाडौं । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ बिहीबारदेखि सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्नुभएको हो । एमालेले अभियानअन्तर्गत झण्डै दुई हजार किलोमिटर लामो संकल्प यात्रा पूरा गर्नेछ ।
एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ लगाएको छ । उक्त अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ । अभियानमा ठूला सभाहरू कम र अन्तरक्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढावा दिने एमालेको लक्ष्य छ । ठूला सभाहरू पनि एक डेढ घण्टाको मात्र हुने बताइएको छ । सभामा अध्यक्ष ओली र स्थानीय नेताले सम्बोधन गर्नेछन् । कम्तीमा एउटा जिल्लामा एउटा सभा गर्ने एमालेको तयारी छ । उक्त अभियानका क्रममा पुग्ने स्थानीय तथा जिल्ला कमिटीले नै खर्चको व्यवस्थापन गर्ने एमालेले जनाएको छ । केन्द्रले नगरी नहुने शीर्षकमा मात्र केन्द्रीय कोषबाट खर्च गरिने बताइएको छ । झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ । अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।
बिहीबार अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष ओलीले अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताउनुभयो । जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उहाँले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने दाबी गर्दै भन्नुभयो, ‘सरकारी अकर्मण्यता, अहिलेको देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीति यो सबै कुराहरूलाई सही बाटोमा ल्याउने सन्दर्भमा यो यात्राले चिन्तन, मननदेखि व्यावहारिक नीति र योजना निर्माण गर्नका लागि मद्दत पुर्याउन सक्छ भन्ने विश्वास लिएको छु ।’
अभियानको सुरुमा मध्यपहाडी क्षेत्रका नागरिकको उत्साह देखेर आफू खुसी भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो संवाद, अध्ययन र संकल्पको यात्रा हो, देशलाई समृद्ध बनाई छाड्ने यात्रा हो । हिमाली भेगभन्दा तल र तराईभन्दा माथिको यो क्षेत्रको कसरी विकास गर्न सकिन्छ, यहाँका जनशक्ति, स्वास्थ्य, रोजगारी, सीप विकास, उत्पादनको बजारीकरण कसरी हुन्छ भन्ने खोजीको यात्रा हो ।’
अभियानमा जनतासँग सघन सम्वाद गर्ने, प्राध्यापक, शिक्षक, राजनीतिक दलका नेता-कार्यकर्ता र विभिन्न पेसा, व्यवसायमा काम गरिरहेकाहरूसँग अन्तरक्रिया गर्ने उहाँको भनाइ छ । फरक/फरक भूगोल, वातावरण र हावापानीमा विविधतायुक्त विकासको पहिचान गर्ने पनि अभियानको ध्येय रहेको स्पष्ट पार्दै ओलीले भन्नुभयो, ‘जनताको अपेक्षा के छ ? भोगिरहेका समस्या के छ ? एमालेसँग जनताको अपेक्षा के छ ? एमालेले कसरी काम गरोस् भन्ने छ चाहिराख्नु भएको छ ? समृद्ध देश सुखी जनताको राष्ट्रिय आकांक्षा कसरी पूरा गर्न सकिन्छ भनेर हामी आएका हौँ ।’
उद्घाटन कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सुरु गरिएको यात्राले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै भन्नुभयो, ‘यात्राका क्रममा स्थानीय जनतासँग संवाद गरिनेछ । पुष्पलाल लोकमार्ग निर्माणले ल्याएको परिवर्तन नजिकबाट नियालिनेछ । जनतामा रहेका विभिन्न खालका भ्रमहरूलाई चिर्ने काम हुनेछ । देशको समग्र विकासको खाका कोर्न सहयोग पुग्नेछ ।’
राजाको सालिक बनाएर तमासा गरिरहेका छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरू हुन आफूहरू तयार नभएको बताउनुभएको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बिहीबार बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेको बताउनुभयो । गणतन्त्रको विरोध गर्नु दुस्साहसी काम भएको टिप्पणी गर्दै ओलीले भन्नुभयो, ‘उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ । एमाले फेरि पछाडि फर्किन र रैती हुन तयार छैन ।’
जनतालाई भड्काए सहृय नहुने चेतावनी
मुलुकलाई सत्ता गठबन्धनले सही दिशामा लैजान नसक्दा अहिले प्रतिगामीहरू दुलाबाट टाउको निकालेर सल्बलाउन थालेको भन्दै अध्यक्ष ओलीले प्रतिगामी शक्तिहरूलाई कुनै पनि सल्बलाहट नगर्न चेतावनी दिनुभएको छ । राष्ट्रिय एकताका लागि एमालेले काम गरिरहेको तर केहीले त्यो एकतालाई खल्बल्याउने कोसिस गरेको उहाँको दाबी थियो । पहिचानवादी आन्दोलनका नाममा अहिले जनतालाई भड्काउन खोजिएको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘राजनीतिक हिसाबले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्न खोजिएको छ । पहिचानको कुरा सम्बोधन गर्न हामीले संविधानमै समावेशीताको प्रावधान राखेका छौँ । पहिचानको नाममा राजनीतिक हिंसा फैलाउने र अरूलाई आक्रमण गर्ने कुरा सहृय हुन सक्दैन ।’
एमालेको सरकार ढलेपछि अस्थिरता बढेको दाबी
अध्यक्ष ओलीले नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि अर्थतन्त्र ओरालो लागेको दाबी गर्नुभएको छ । एमालेको सरकार ढलेर वर्तमान गठबन्धन सरकार बनेपछि देशको राजनीति अस्थिरता हुनुका साथै अर्थतन्त्र ओरालो लागेको टिप्पणी गर्दै ओलीले भन्नुभयो, ‘हामीले सरकार छोडेपछि यी अढाइ वर्षमा देशको अर्थतन्त्र ओरालो लाग्यो, राजनीति अस्थिरतामा गयो, रोजगारीका अवसर समाप्त भए । देश झन्–झन् अप्ठ्यारोमा पर्दै छ, अहिले कर्मचारी पाल्ने पैसा पनि सरकारसँग छैन, आन्तरिक ऋण उठाएर कर्मचारी पाल्नुपर्ने अवस्था पहिलो चार महिनामा परेको छ भने कस्तो अवस्था होला ? तस्करी बढेको छ । एक क्विन्टल सुन पक्राउ पर्यो । तर, त्यो अघि नै ३५ क्विन्टल सुन तस्करी भएको रहेछ । भन्सारमा सिगरेटबाट सुन आइरहेको छ । यो सबै कमिसनतन्त्रको खेल हो ।’
एकीकृत समाजवादीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष एमालेमा प्रवेश
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष लगायतका नेता एमालेमा प्रवेश गरेका छन् । एमालेले सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीमा आयोजित आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इञ्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन् । यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयरमा निर्वाचित नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् । पार्टीमा भित्रिएका नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर स्वागत गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts