काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८)मा सहभागी हुन आज (बुधबार) संयुक्त अरब इमिरेट्स (युएई) जाँदै हुनुहुन्छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ कोप-२८ सम्मेलनका उच्चस्तरीय कार्यक्रममा सहभागी हुन युएई जान लाग्नुभएको हो । प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोसमेत सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गंगा दाहाल र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनुहुनेछ ।
कोप-२८ सम्मेलन बिहीबारदेखि दुबईमा सुरु हुँदै छ । उहाँले १६ मंसिरमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । मंसिर १५ र १६ मा प्रधानमन्त्री प्रचण्ड ‘वल्र्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुनुहुने छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम छ । उहाँ युएईको ५२औँ एकता दिवसमा आयोजित समारोहमा सहभागी हुनुहुने छ ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनकै दौरानमा उच्चस्तरीय साइड इभेन्ट पनि आयोजना गर्दै हुनुहुन्छ । जसको नाम ‘हिमालको आवाज : हामीलाई जलवायु संकटबाट कसले बचाउँछ ?’ राखिएको छ । हिमालको एजेण्डालाई कोप सम्मेलनका बेला छलफलको प्रक्रियामा ध्यानाकर्षण गराउन नेपालले कार्यक्रम आयोजना गर्न लागेको नेपाली राजदूतावासले जनाएको छ ।
दुबईमा रहँदा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायसँग अधिकारको मुद्दा उठाउने बताउँदै आउनुभएको छ । नेपाल अहिले जलवायु परिवर्तनका कारण डरलाग्दो स्थितितिर जाँदै गरेकाले अन्तर्राष्ट्रिय समुदायसँग अधिकारको मुद्दा उठाउने उहाँले बताउनुभएको छ ।
केही दिनअघि सम्पन्न जलवायु परिवर्तन राष्ट्रिय सम्मेलनले नेपालको स्पष्ट कार्यदिशा सार्वजनिक गरेको थियो । वन तथा वातावरण मन्त्रालयका अनुसार नेपालको हालको अवस्थिति र कोप-२८ मा प्रस्तुत गरिने नेपालका अवस्थितिपत्र तयार पारिएको छ ।
जलवायु वित्तदेखि हिमालसम्मका मुद्दा उठाइने
कोप–२८ सम्मेलनले विश्वव्यापी चासोको रूपमा रहेको जलवायु परिवर्तनसम्बन्धी हाल भइरहेका कार्यहरूको समीक्षा र आगामी कार्यदिशा तय गर्नेछ । नेपालले पनि यस सम्मेलनमा जलवायुवित्त, जलवायु अनुकूलनको लक्ष्य निर्धारण पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सन् २०१० मा नै धनी राष्ट्रले २०२० देखि लगभग सय अर्ब अमेरिकी डलर बराबरको लगानी नेपालजस्ता विकासोन्मुख देशमा गर्ने भनी घोषणा गरिएको थियो । तर, घोषणा गरिएको रकम अहिलेसम्म परिचालन हुन सकेको छैन । यस विषयलाई नेपालले विशेष प्राथमिकताका साथ उठाउने भएको छ ।
जलवायु परिवर्तनले कृषि, स्वास्थ्य, बसाइँसराइलगायत क्षेत्रमा पारेको असरको हानि नोक्सानी तथा जलवायु अनुकूलनका कार्यक्रमका बारेमा पनि सवाल उठाइने भएको हो । सरकारले हानि नोक्सानी, नेपालको पर्वतीय क्षेत्र, अनुकूलन, जलवायुजन्य बसाइँसराइ, न्यूनीकरण र लैंगिक समावेशिता, युवा र आदिवासी गरी ६ वटा विषयलाई प्रमुख एजेण्डा बनाएको जलवायुविज्ञ डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।
सम्मेलनमा उच्चस्तरीय सहभागिताका साथै अन्य दृष्टिकोणले पनि नेपालका लागि थप महत्वपूर्ण हुनेछ । सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत कात्तिक १२ गतेदेखि नेपालको चारदिने औपचारिक भ्रमण गर्नुभएको थियो । उहाँले सगरमाथा र अन्नपूर्ण आधारक्षेत्रको स्थलगत भ्रमण गरी जलवायु परिवर्तनको विषयलाई दिएको प्राथमिकताले पनि यस सम्मेलनमा नेपाललाई आफ्ना विषय उजागर गर्न सहज हुने बताइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा