काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एण्ड इ-कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा ‘बिएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषय पठनपाठन सञ्चालन गर्ने भएको हो ।
तीनवर्षे तथा तीन सय ६० क्रेडिट आवरको यो शैक्षिक कार्यक्रम यसै शैक्षिक सत्रबाट अध्यापन सुरु हुने कलेजले जनाएको छ । कार्यक्रमको पाठ्यक्रममा आधारभूत कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञतालाई एकीकृत गरिएको छ । जसले गर्दा कार्यक्रममा भर्ना हुने विद्यार्थीले अहिले चर्चामा रहेको एआईको क्षेत्रमा विज्ञता हासिल गर्न सक्नेछन् ।
कार्यक्रमबारे कलेज प्रमुख प्रमोद पौडेल भन्नुहुन्छ, ‘अहिले द्रुत गतिमा विकास भइरहेको एआई क्षेत्रको विशेषज्ञ हुन आवश्यक पर्ने व्यावहारिक सीप र सैद्धान्तिक ज्ञान यस कार्यक्रममा समावेश छ, विद्यार्थीले एआई, मसिन लर्निङ, प्यारारल प्रोग्रामिङ र डेटा विज्ञान कसरी जोडिएका छन् र तिनीहरूले कम्प्युटर विज्ञानलाई कसरी परिवर्तन गर्दैछन् भन्ने विषय पढ्नेछन् । समग्रमा कम्प्युटर विज्ञानसँगै एआईमा विज्ञता हासिल गराउने शैक्षिक कार्यक्रम हो यो ।’
कलेजका अनुसार कार्यक्रममा प्रोग्रामिङ एण्ड एल्गोरिदम, सफ्टवेयर डिजाइन, कम्प्युटर आर्किटेक्चर एण्ड नेटवर्क, क्रियटिभ थिंकिङ फर बिजिनेस, इण्ट्रोडक्सन टु आर्टिफिसियल इन्टेलिजेन्स, सफ्टवेयर इञ्जिनियरिङ, एड्भान्स एल्गोरिदम, अपरेटिङ सिस्टम एण्ड सेक्युरिटी, मसिन लर्निङ एण्ड रिलेटेड एप्लिकेसन, डिजाइन थिकिंङ एण्ड इनोभेसनलगायतका विषय राखिएका छन् । उल्लेखित विषयहरू लेक्चर, सेमिनार, प्रयोगशाला, कार्यशाला, अनलाइन, समूहलगायत माध्यमबाट पठनपाठन हुनेछन् ।
भर्ना हुन कक्षा ११/१२ मा न्यूनतम २.० जिपिए अथवा ए लेभलमा भए ३.५ क्रेडिट ल्याएको हुनपर्नेछ । वर्षमा स्प्रिङ र अटम गरी दुर्ई इन्टेकमा भर्ना खुला हुने यो कार्यक्रममा विज्ञान, व्यवस्थापन वा मानविकी समूहका विद्यार्थी भर्ना हुन सक्नेछन् । अध्ययनपछि विद्यार्थी एआई सफ्टवेयर डेभलपर, डेटा साइन्टिस्ट, सफ्टवेयर इञ्जिनियर, सिस्टम आर्किटेक्ट, एआई रिसर्चर, प्रोजेक्ट म्यानेजर, डेटा इञ्जिनियर आदि बन्न सक्नेछन् । शुल्क भने १२ लाख ३१ हजार रुपैयाँ तोकिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता