काठमाडौं । पर्यटनसँग सम्बन्धित संघ संस्थाको सञ्जाल टुगेदर फर टुरिजमले भूकम्पपीडितका लागि राहत रकम र सामग्री हस्तान्तरण गरेको छ । होटल संघ नेपाल(हान)को संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राहत रकमका साथै राहत सामग्री हस्तान्तरण गरेको हो । पहिलो चरणमा हानतर्फबाट १५ लाख ५६ हजार आठ सय ७८ र सदस्य होटल हिमालयतर्फबाट थप पाँच लाख बराबरको एक्रिलिक पन्चु पाँच सय थान र लाइभ सेभर वाटर फिल्टर १५ का साथै स्कल नेपालतर्फबाट पाँच लाख बराबरको ब्ल्यांकेट दुई सय ४० थान प्रदान गरिएको हानले जनाएको छ ।
त्यस्तै स्लिपिङ ब्याग सय थान, हिृवलचियर पाँच थान, स्ट्रेचर पाँच थान, प्रोटेक्टिभ सुट २० थान सामग्रीसहित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज र टुरिष्ट बस एसोसिएसन अफ नेपाल गरी करिब ३० लाख बराबरको नगद जिन्सी सहयोग रहेको बताइएको छ । बढ्दो जाडो याममा भूकम्पपीडितलाई न्यानो कपडा, कम्बल, म्याट्रेस, शौचालय प्यान, एकमुखे चुल्होलगायतका सामग्री संकलित रकमबाट खरिद हुनु उपयुक्त हुने दाताहरूले जनाएका छन् ।
सो अवसरमा हानका अध्यक्ष शाहले भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरी सिक्दै कमाउँदैको अवधारणाअन्तर्गत कार्यक्रम छिट्टै सञ्चालन गरी जीविकोपार्जनमा सहयोग पुर्याउने बताउनुभएको थियो ।






