काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकताका लागि फेरि प्रक्रिया अघि बढेको छ । एक वर्षअघि नै एकता गर्ने तयारी गरेका दुई पार्टीबीच अहिले फेरि सघन छलफल सुरु भएको हो । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादीसँग एकताका लागि संयोजन समिति गठन गरिसकेको छ । जसको नेतृत्व स्वयं डा. भट्टराईले गर्नुभएको छ । भट्टराई नेतृत्वको समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज साह सदस्य हुनुुहुन्छ । संयोजन समितिले पार्टीको नाम, चिहृन, विचारलगायत विषयमा निर्णय गर्ने नेताहरूको भनाइ छ । नेसपासँग एकता गर्न माओवादी नाम फेर्नसमेत सहमत भइसकेको छ । माओवादी केन्द्रको गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले कोष्ठक भित्रको माओवादी केन्द्रको नाम फेर्न तयार भएको भन्दै नेसपालाई पत्र पठाएको थियो ।
माओवादी केन्द्रले भने केन्द्रीय समिति बैठकबाटै एकता संयोजन समिति बनाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ‘प्रचण्ड’को संयुक्त अरब इमिरेट्स भ्रमणपछि बस्ने केन्द्रीय समिति बैठकले समितिबारे टुंगो लगाउने तयारी गरेको छ । गत वर्षको मंसिरमा भएको संघीय चुनावमा समाजवादी पार्टीले माओवादीको चुनाव चिहृन लिएर आफ्ना उम्मेदवार उठाएको थियो । नेसपाले चार उम्मेदवार पाउँदा डा. भट्टराईकी पुत्री मानुषी यमीले काठमाडौं-७ बाट लड्नुभएको थियो । डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ प्रचण्डलाई छोडिदिनु भएको थियो । मानुषी पराजित हुनुभयो भने भट्टराईको क्षेत्रबाट प्रचण्ड विजयी हुनुभयो । त्यसपछि पार्टी एकता गर्न विभिन्न चरणमा छलफल भए पनि अहिलेसम्म निष्कर्षमा पुगेको छैन ।
चुनावपछि विकसित सत्ता राजनीतिको समीकरणले माओवादी र नेसपाबीचको एकता ओझेलमा परेको थियो । अझै गत असारमा समाजवादी मोर्चा घोषणापछि दुई पार्टीको एकताको च्याप्टर लगभग क्लोज भएको थियो । असार ४ गते नेकपा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गरी चार दल सम्मिलित मोर्चा घोषणा भएको थियो । मोर्चाको सूत्रधार डा. भट्टराईको दल भने अटाएको थिएन । जसमा उहाँले व्यापक असन्तुष्टि जनाउनुभएको थियो । ०७२ असोज ९ गते भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गर्नुभएको थियो । माओवादीबाट नयाँ शक्ति, जनता समाजवादी पार्टी (जसपा) हुँदै भट्टराईले नेसपा गठन गर्नुभएको थियो ।
यसलाई अझै व्यापक बनाउँदै लैजाने अध्यक्ष प्रचण्डको योजना छ । ‘प्रचण्ड’ले हरेकजसो कार्यक्रममा पूर्वमाओवादीको एकीकरणलाई जोडतोडका साथ उठाउँदै आउनुभएको छ । केही दिनअघि रुकुम पुग्नुभएका प्रचण्डले भट्टराईसँगै विप्लव पनि छिट्टै एकीकरण प्रक्रियामा सामेल हुने बताउनुभएको थियो । लामो समयदेखि एकीकरणको मुद्दा उठाए पनि उहाँले हालसम्म छिन्नभिन्न बनेका माओवादी घटकलाई एक ठाउँमा ल्याउन सक्नुभएको छैन ।
२०६३ मंसिर ५ गतेको शान्ति सम्झौतापछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी अहिले चिरा चिरामा विभाजित छ । मूलधारका रूपमा प्रचण्ड नेतृत्वमा माओवादी केन्द्र रहे पनि तत्कालीन प्रभावशाली नेताहरू विभिन्न समूहमा विभाजित छन् । प्रचण्डबाहेक डा. भट्टराई, मोहन वैद्य किरण, रामबहादुर थापा, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, गोपाल किराती, आहुतीलगायत नेताहरू छुट्टाछुट्टै समूहमा विभाजित छन् ।
फेरि विश्वासको वातावरण बनेको छ, चाँडै एकता हुन्छ होला : श्रेष्ठ
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले पछिल्लो समय नेसपा र माओवादीबीच विश्वासको वातावरण बन्दै गरेको बताउनुभयो । बीचमा केही समय अविश्वासजस्तो देखिए पनि अहिले दुवै पार्टीका अध्यक्षबीच पनि विश्वासको वातावरण बनेको उहाँको भनाइ छ । राम्रो वातावरण बनेकाले दुई पार्टीबीच चाँडै एकता हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । अध्यक्षद्वय दाहाल र भट्टराई एकताबद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्ब नहुने उहाँको भनाइ छ । ‘पहिले पनि एकताका विषयमा थुप्रै छलफल भएका हुन् । बीचमा केही कारणले पूर्णता पाउन सकेन,’ उहाँले भन्नुभयो, ‘अहिले फेरि विश्वासको वातावरण बनेको छ । हाम्रो तर्फबाट एकता गर्न समिति पनि बनिसकेको छ । उहाँहरू (माओवादी)ले पनि समिति बनाएपछि प्रक्रिया अगाडि बढ्छ । उहाँहरूले चाँडै समिति बनाउनुहुन्छ होला ।’
माओवादीहरू मिल्नुको विकल्प छैन : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीलाई अपराधी करार गर्ने खेल सुरु भएको बताउनुभएको छ । आइतबार रोल्पाको माडी गाउँपालिका-२ स्थित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साम्राज्यवादीहरूले माओवादीलाई सिध्याउने खेलमा लागेको बताउनुभयो । ‘माओवादीलाई शून्य बनाउने खेल सुरु भएको छ । अपराधी करार गर्ने खेल सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘साम्राज्यवादीहरूले माओवादीलाई सिध्याउनुपर्छ भनिरहेका छन् ।’ देशमा सबैभन्दा खराब शक्ति माओवादी नै भएको भ्रम फिँजाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘केही शक्तिहरू माओवादीलाई सिध्याउने भनेर मज्जैले लागेका छन् । बाहिर जनतामा सबै कमजोरीहरू माओवादीले नै गरेको हो भन्ने बनाउन खोजिएको छ,’ उहाँले भन्नुभयो, ‘तर, त्यसो होइन । यो भ्रम मात्रै हो ।’ वर्तमान व्यवस्थाको मुख्य दाबेदारी माओवादी नै भएको उहाँले जिकिर गर्नुभयो । क्रान्तिकारीहरू सकिने र दलालहरूले सत्ता प्राप्त गर्ने क्रम चलिरहँदा माओवादीहरू मिल्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements