काठमाडौं । विगत वर्षहरू जस्तै चालु आर्थिक वर्षमा पुँजीगत खर्चको अवस्था दयनीय देखिएको छ । झण्डै साढे चार महिनामा १०.०२ प्रतिशत बजेटमात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आवमा पुँजीगत खर्चका लागि तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रकम विनियोजन गरेकोमा शुक्रबारसम्म ३० अर्ब २७ करोड ८९ लाख रुपैयाँमात्र खर्च गरेको हो । सरकारले चालु खर्च र वित्तीय खर्चमा पनि लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । शनिबारसम्म सरकारले चालु खर्चमा कुल विनियोजित बजेटमध्ये २४.४ प्रतिशतमात्रै खर्च गरेको छ भने वित्तीय शीर्षकमा १७.७५ प्रतिशतमात्रै खर्च गरेको छ ।
चालु आर्थिक वर्षमा सरकारले चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रकम विनियोजन गरेकोमा दुई खर्ब ७८ अर्ब ५८ करोड ९९ लाख रुपैयाँमात्रै खर्च गरेको छ । वित्तीय क्षेत्रमा विनियोजित तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाखमध्ये ५४ अर्ब ५५ करोड ८४ लाख रकममात्रै खर्च भएको छ । सरकारले चालु आवको हालसम्म खर्चअनुसारको आम्दानी गर्न नसकेको देखिन्छ । शनिबारसम्म सरकारले तीन खर्ब ६३ अर्ब ४२ करोड ७२ लाख खर्च गरेको छ, आम्दानी जम्मा तीन खर्ब १२ अर्ब ९४ करोड ३७ लाखमात्रै गरेको छ ।
त्यसो त सरकारको आम्दानी पनि घटेको छ । हालसम्म लक्ष्यको २१.२५ प्रतिशतमात्रै आम्दानी गरेको हो । सरकारले चालु आर्थिक वर्ष आम्दानी र अनुदानमार्फत् १४ खर्ब ७२ अर्ब ४८ करोड सात लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts