काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताउनुभएको छ । शनिबार बालुवाटारमा आयोजित विशाल खड्काको ‘पर्यावरणीय संकट, आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले एकथरी मानिसहरू जातीय रूपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रूपले पनि धार्मिक अतिवाद र त्यसबाट कहीँ न कहीँ असहिष्णुता र भएको सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताउनुभयो । उहाँले राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने मासवादीले भएको र आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले एकथरी मानिसहरू जातीय रूपले पनि साम्प्रदायिकता फैल्याउने, धार्मिक रूपले पनि धार्मिक अतिवाद र त्यसबाट कहीँ न कहीँ असहिष्णुता र भएको सामाजिक सद्भाव पनि खलबल पार्ने कोसिस भइरहेको देखिन्छ । यसले आखिरमा राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने भनेको मासवादीले नै हो । आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गर्नुपर्छ ।’ प्रधानमन्त्री प्रचण्डले कोप २८ मा नेपाल योद्धाको रूपमा प्रस्तुुत हुने बताउनुभयो । उहाँले ठूला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना र जनसंख्याको हिसाबले अतिकम विकसित र विकासोन्मुख मुलुकले बेहोर्नु परिरहेको बताउनुभयो । उहाँले गरिब देशमध्ये पनि बालबालिका, महिला र अशक्तहरूलाई यसको सबैभन्दा बढी जोखिम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ठूला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना र जनसंख्याको हिसाबले अतिकम विकसित र विकासोन्मुख मुलुकले व्यहोर्नु परिरहेको छ । गरिब देशहरूमध्ये पनि बालबालिका, महिला र अशक्तहरूलाई यसको सबैभन्दा बढी जोखिम भएको छ । कोपमा हामी अधिकारका लागि लड्ने हिसाबले प्रस्तुत हुनेछौँ । हामीले नगरेको कामको दण्ड भोग्नुपर्ने बाध्यता किन आइलागेको छ ? योपटक कोप २८ मा हामी योद्धाको रूपमा प्रस्तुत हुने हो, माग्नेको रूपमा प्रस्तुत हुने होइन । त्यो हाम्रो अधिकार हो ।
यसै पनि हामीले कम विकसित मुलुकको अध्यक्ष भएको नाताले ४७ देशको प्रतिनिधित्व पनि गर्नुछ । हामीले हाम्रो अधिकार स्थापित गर्ने संघर्षको रूपमा हामी प्रस्तुत हुनेछौँ ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो अधिकार स्थापित गर्ने संघर्षको रूपमा कोप २८ मा प्रस्तुत हुने प्रतिबद्धता जनाउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता