बर्दिया । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतले उपहारस्वरूप दिने भनिएका १५ वटा मुर्रा राँगा नेपालगञ्ज आइपुगेका छन् । भारतको पञ्जाबबाट राँगा स्थलमार्ग हुँदै नेपालगञ्ज ल्याइएको हो । भारतबाट ल्याइएका ती राँगा हाल नेपालगञ्जस्थित पशु क्वारेन्टाइनको कार्यालयमा होल्डिङ याडमा राखिएको छ ।
राँगाको स्वास्थ्य परीक्षणलगायत प्राविधिक काम गरेर पशु चिकित्सकसहितको टोलीले राष्ट्रिय पशु प्रजनन् कार्यालयमा पु¥याइने बताइएको छ । हाल राँगाको स्वास्थ्य प्रमाणितको काम भइरहेकाले एक वा दुई दिनपछि सम्बन्धित स्थानमा ढुवानी हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालय पशु सेवा विभाग पशु क्वारेन्टाइन कार्यालय बाँके नेपालगञ्जका सूचना अधिकारी इन्दु रेग्मीले हिमालय टाइम्सलाई बताउनुभयो ।
यसैबीच पशु सेवा विभागले मुर्रा राँगा विद्यमान क्वारेन्टाइन प्रक्रिया पूरा गरी नेपाल ल्याइने राँगा लहान, पोखरा बाँकेको गौघाटस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा व्यवस्थापन गरी जमेको विर्य उत्पादनमा प्रयोग गरिने पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले हिमालय टाइम्सलाई बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय पशु प्रजनन् कार्यालयबाट हाल उत्पादन भइरहेको जमेको विर्यको परिमाण, व्यवस्थापकीय क्षमता र कार्यक्षेत्रका आधारमा भारतबाट प्राप्त हुने १५ वटा राँगा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा सात, राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन् कार्यालय बाँके नेपालगञ्जमा तीनवटा राखिनेछ ।
मुर्रा राँगाको जमेको विर्यको माग पाँच वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान गरिएको छ । मुर्रा राँगाको विर्य उत्पादन वृद्धि गरी कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गर्दै देशका विभिन्न भागमा भैंसीको नश्ल सुधारमार्फत् दूध र मासु उत्पादन साथै उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts