काठमाडौं । स्वास्थ्य मन्त्रालयले एक सयदेखि तीन सय बेड सम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने प्रस्ताव गरेको छ । मंगलबार मन्त्रालयस्तरबाट उक्त प्रस्ताव अघि सार्दै पढाउन सक्ने अस्पतालहरूको राय मागिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जानकारी दिनुभयो । यस्तै, तीन सय शै्ययाभन्दा माथिका सरकारी अस्पतालमा एमबिबिएस पढाउने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.अञ्जनीकुमार झा पनि राखिएको मन्त्रालयले जनाएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भन्नुभयो, ‘पारामेडिक्स र नर्स पढाउन ती अस्पतालमा जनशक्ति पुग्छ भन्ने हामीलाई लागेको छ । संरचनामा अलिकति थपघट गर्नुपर्ने होला । पढाउनका लागि आवश्यक जनशक्ति र संरचनाको विषयमा अस्पतालसँग राय मागेका छौँ ।’
प्रधानमन्त्री प्रचण्ड र आफ्नो पार्टी सभापति शेरबहादुर देउवासँग यसबारे छलफल गरेको मन्त्री बस्नेतको भनाइ छ । सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने आफ्नो कामले नेपालको मेडिकल शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गर्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘चिकित्सा शिक्षा ऐनले यसमा बाधा पार्ने अवस्थामा ऐन संशोधनको तयारीसमेत भइरहेको छ । प्रधानमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष राखेर छलफल भइसकेको छ ।’ सहमतिका लागि चिकित्सा शिक्षा आयोगलाई पत्र लेखिसकेको मन्त्री बस्नेतले उल्लेख गर्नुभयो । यसैगरी, तीन सयभन्दा माथि बेडका अस्पतालमा एमबीबीएस पढाउनका लागि पनि अनुमति दिने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।
नेपालमा स्वास्थ्य जनशक्ति अभाव देखिन थालेकाले उक्त प्रस्ताव अघि सारिएको बताइएको छ । तर, यो प्रस्ताव कार्यान्वयनको चरणमा जान भने समय लाग्ने बताइएको छ । जनशक्ति, भौतिक संरचना र कानुनी आधारका विषयमा मन्त्रालयले छलफल सुरु गरेको हो । यसको यथाशीघ्र कार्यान्वयनका लागि सबैतिरबाट पहल र दबाब जरुरी हुने मन्त्री बस्नेतले बताउनुभयो । यसैगरी, स्वास्थ्यमा जनशक्ति बढाउनसमेत पहल थालेको उहाँले जानकारी दिनुभयो । विंस २०५२ पछि स्वास्थ्यमा जनशक्ति नबढेको उल्लेख गर्दै मन्त्री बस्नेतले आफूले त्यसमा समेत पहल गरिरहेको जानकारी दिनुभयो । सरकारी सेवामा २९ हजार नर्स, पाँच हजार चिकित्सक र २२ हजार पारामेडिक्स चाहिने उल्लेख गर्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘२९ हजार नर्स, पाँच हजार डाक्टर र २२ हजार पारामेडिक्स आवश्यक छ । त्यसका लागि दरबन्दी बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीसँग सल्लाह भएको छ । पालिकाहरूलाई एमडिजिपी छात्रवृत्ति पढाउनसमेत आग्रह गरिएको छ । ठूला इक्विपमेन्ट नकिन्नसमेत आग्रह गरिएको छ । ठूला इक्विपमेन्ट नकिनौँ ७५३ स्थानीय तहका लागि आवश्यक उपकरण किन्न लागेका छाँै । ठूला उपकरण नकिन्न र किन्नैपर्ने भएमा सस्तोमा किन्नुहोस् मैले अरू केही भनेको छैन ।’
पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले सरकारसँग भएको संरचना र जनशक्तिको उपयोग गर्न छलफल थालेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिक्षामा पहल थालेको रूपमा बुझ्नुपर्ने बताउँदै पोखरेलले भन्नुभयो, ‘भौतिक संरचना,गुणस्तर र जनशक्तिका विषयमा पनि छलफल गर्दै जानेछौँ ।’
जनतालाई अनुभूति हुने गरी काम भइरहेको दाबी
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताउनुभएको छ । स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको जिकिर गर्दै भन्नुभयो, ‘म मन्त्रालय आएदेखि सबैको साथ र सहयोगले स्वास्थ्य क्षेत्रले फड्को मारेको छ । हामीले वार्षिक समीक्षामार्फत आफ्नो कामको मूल्यांकन गर्दै गर्दा पुराना गल्ती दोहो¥याउनु हुँदैन । नयाँ काम गर्न नसक्ने भए पनि पुराना गल्ती भने सच्याउनुपर्छ ।’ स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्नका लागि स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण,स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनका लागि मन्त्रालय लागिपरेको स्पष्ट पार्दै मन्त्री बस्नेतले राम्रा कामका लागि बजेट अभाव नहुने बताउनुभयो ।
स्वेदशमै स्वास्थ्य जनशक्ति उत्पादन गर्न र विदेशीलाई पनि नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि आकर्षण गराउन शिक्षा नीति आवश्यक भएको उल्लेख गर्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘अहिले दुई लाख पारिश्रमिक दिँदा पनि दुर्गममा चिकित्सक पाएका छैनौँ । अर्कातर्फ ८२ प्रतिशत ‘स्कोर’ ल्याएका विद्यार्थीले नर्सिङ पढ्न पाएका छैनन् । यस्तो शिक्षा नीतिले हाम्रा विद्यार्थीलाई विदेश पलायन हुन बाध्य बनाइरहेको छ । हिजो हामीले घोषणा गरिसकेका छौँ, अब सरकारले नेपालमा चिकित्सा शिक्षा मापदण्ड र कार्यविधि बनाएर शुल्क निर्धारणमा कडाइ गर्नेछ । अब डाक्टर, नर्स र प्यारामेडिक्स पढ्नका लागि विदेश भौतारिनु पर्दैन ।’
यसैबीच, स्वास्थ्य मन्त्रालयले आगामी चैतमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा विश्वभरिका स्वास्थ्यकर्मी र यस क्षेत्रका विज्ञहरूको सहभागीता रहनेछ । काठमाडौंमा आयोजना हुने सम्मेलनमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने विज्ञ, चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारलाई सम्मान गर्ने तयारी छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा