सुर्खेत । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमका अधिकांश स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाटै सेवा दिन थालिएको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति भए पनि सेवाग्राहीलाई मध्येनजर गरी अस्थायी टहराबाट सेवा प्रवाह भइरहेको हो ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था भवनमा क्षति पुगेको छ । भूकम्पले क्षती पुर्याएका स्वास्थ्य संस्थाले अस्थायी टहराबाट सेवा दिइरहेको निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताउनुभयो ।
उहाँका अनुसार जाजरकोटमा १८ वटा, रुकुमपश्चिममा २४ वटा र सल्ल्यानमा तीन वटा गरी ४५ वटा स्वास्थ्य संस्था भवनमा क्षति पुगेको छ । जसमा ११ वटा भवनमा पूर्ण क्षति भएको छ । ‘गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति भएको छ । क्षतिको आकलन भइरहेकाले यो संख्या बढ्नसक्ने देखिन्छ’ डा. खड्काले भन्नुभयो, ‘स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि सेवा प्रवाहमा समस्या भएको छ । तर अस्थायी रूपमा त्रिपाल राखेर भएपनि स्वास्थ्य सेवा प्रवाह रोकिएको छैन ।’
विद्यालय सञ्चालन गर्ने चिन्ता
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमका दुई सय आठ वटा विद्यालय भवनमा पूर्ण क्षति भएपछि विद्यार्थीलाई पढाउन सकस हुने भएको छ । विद्यालय व्यवस्थापन समितिलाई दसैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता छ ।
भूकम्पबाट दुई सय आठ विद्यालयमा पूर्ण क्षति हुदाँ करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएको जनाइएको छ । जाजरकोटमा एक सय ७३ र रुकुमपश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी पाँच सय ८१ र रुकुमपश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएका छन् ।
मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा दुई सय आठ पूर्ण र चार सय १८ आंशिक तथा रुकुमपश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति भएको बताउनुभयो । भूकम्पबाट जाजरकोटमा २२ हजार सात सय ५९ र रुकुम पश्चिममा १७ हजार तीन सय ५१ गरी कूल ४० हजार एक सय १० विद्यार्थी प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
१० विद्यार्थीले निःशुल्क पढ्न पाउने
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको साउथ एशियन स्कालर्स एकेडेमीले भुकम्पबाट प्रभावित भएका दुई जिल्लाका १० विद्यार्थीलाई निःशुल्क पढाउने घोषणा गरेको छ ।
भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका १० जना बालबालिकाहरुलाई कक्षा ४ देखि १२ सम्म निःशुल्क पढाउने एकेडेमीले घोषणा गरेको हो । वीरेन्द्रनगर नगरपालिका–३ यरिचोक नजिकै रहेको एकेडेमीले भुकम्पबाट बुवा–आमा गुमाएका बालबालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्रीसहित निःशुल्क पढाउने निर्णय गरेको हो ।
‘आमा, बुवा अथवा दुवै जना अभिभावक गुमाएका बालकालिकालाई निःशुल्क पढाउने निर्णय गरेका छौं,’ एकेडेमीका कार्यकारी प्रमुख छत्र बडुवालले भन्नुभयोे, ‘ती बालकालिकाको कक्षा अनुसार निःशुल्क पढाउने व्यवस्था गरेका हौं ।’ प्रभावित दुवै जिल्लाका १० जना बालबालिकाहरुले एमेडेमीसँगै ज्ञान सिन्धु सुर्खेत कलेज र भेरी एजुकेशन एकेडेमीमा निःशुल्क पढ्न पाउने निर्देशक गणेश अधिकारीले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts