काठमाडौं । सरसफाइ आधुनिक जीवनशैलीको सर्वाधिक महत्वको विषय हो । अन्तर्राष्ट्रिय समुदायले जीवनको सुन्दरता सफाइ भनिरहेको छ । मानिसलाई रोग लाग्नु पहिले पूर्वसावधानी आवश्यक हुन्छ र त्यो पूर्वसावधानीको प्रमुख विषय हो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य र सफाइ । मानिसहरूमा कुनै रोग लाग्नु आफैँमा क्षयीकरण हो । नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवसको स्मरण गरिन्छ । अविकसित, विकासशील र कतिपय विकसित देशहरूको ग्रामीण क्षेत्रमासमेत शौचालय चेत पुगेको नहुनसक्छ ।
यद्यपि, सम्भ्रान्त र विकसित देशहरूमा शिक्षा र चेतनाले प्रत्येक घरपरिवार र नागरिकलाई सुसूचित गराएको हुन्छ । उनीहरूमा सफाइ र त्यो पनि शौचालय, ढल, फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने जानकारी पर्याप्त हुने गर्दछ । सानै उमेरमा बालबालिकाहरूमा शिक्षा र सार्वजनिक उदाहरणबाट सरसफाइको आवश्यकता र महत्वबारे प्रशस्त जानकारी उपलब्ध हुने गर्दछ विकसित देश र समाजमा । तर, अविकसित वा अल्पविकसित देश र समाजको कुरा फरक छ । एसियाका गरिब, पिछडिएका र अशिक्षित जनतामा सफाइको, शौचालयको, ढलको फोहोर व्यवस्थापनको ज्ञान हुनु दुर्लभ हुन्छ । पेटको समस्याले ग्रस्त समाजमा निरोगिताको आवश्यकताबोध त्यति हुँदैन । पहिले पेट त्यसपछि मात्र अरू विषय भन्ने समाजको मनोवृत्तिजन्य माग हो र आवश्यक पनि । अहिले अविकसित देशका अनेक शहरहरू अव्यवस्थित बसोबासका कारण शौचालय, ढल, खानेपानी सडक आदिबाट वञ्चित छन् ।
‘परिवर्तनको गति बढाउँदै’ भन्ने नाराका साथ यसवर्ष पनि विश्व शौचालय दिवस आज (आइतबार) मनाइँदै छ । दिवसका अवसरमा विभिन्न सरोकारवाला निकायले पानी, शौचालय र सरफाइसँगसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् । पानी, शौचालय र सरसफाइ मानव स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण क्षेत्र भए पनि अझै पनि धेरै नागरिक उक्त संविधानप्रदत्त अधिकारबाट वञ्चित छन् ।
संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याएको छ । दिगो विकासको छैटौँ लक्ष्य स्वच्छ खानेपानी र सरसफाइको विषय पनि रहेको छ । तथापि, यथास्थितिमा सन् २०३० सम्म सबैमा स्वच्छ र सुरक्षित पानी सरसफाइको पहुँच चुनौतीपूर्ण देखिएको छ । किनभने सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न हामीसँग अब सात वर्षको समय मात्रै बाँकी छ । यसवर्षको अभियानमा राष्ट्रसंघले ‘हमिड वर्ड’को उपयोग गरेको छ । जसले आफ्नो चुच्चोमा पानी बोकेर डडेलोसँग लडेको प्राचीन कथाको सन्देश बोकेको छ । सबैले आ-आफ्नो क्षेत्रबाट सानोभन्दा सानो प्रयास गरेमा ठूला समस्या समाधान गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा साढे तीन अर्ब मानिस अझै पनि शौचालय सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस अझै पनि खुला स्थानमा शौच गर्छन् । खुला दिसा, पिसाबका कारण फैलिने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । जसले प्रकृति, महिला र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ ।
दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भएपनि पूर्ण सरसफाइको लक्ष्य हासिल गर्न अझै धेरै काम बाँकी रहेको विज्ञहरूले बताएका छन् । नेपाल २०७६ असोज १९ मा खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको थियोे । युएन वाटरले सार्वजनिक गरेको विवरणअनुसार नेपालको ५१ प्रतिशत जनसंख्याले मात्र सुरक्षित सरसफाइ सेवा उपयोग गर्ने गरेको पाइएको स्मार्ट वास सोलुसन्स नेपालका अध्यक्ष ई रामदीप साह बताउनुहुन्छ ।
आगामी सात वर्षभित्रमा झण्डै आधा जनसंख्यालाई यस्तो सेवा पुर्याउनुपर्ने दबाब छ । त्यस्तै, नेपालका ६४ प्रतिशत जनसंख्यामा साबुन पानीले हात धुने सुविधा पुगेको शतप्रतिशत पुर्याउनुपर्ने दबाब छ । त्यसैगरी, घरबाट निस्कने फोहोर पानी प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशत मात्र सकेकाले बाँकी ६१ प्रतिशत फोहोर पानी प्रशोधन र सही व्यवस्थापन गर्नुपर्ने चुनौती छ । शौचालय र सरसफाइ अभियान्ता पूर्वमन्त्री गणेश शाह यथास्थितिबाट लक्ष्यमा पुग्न नसकिने भन्दै सरसफाइ क्षेत्रमा सरकार र निजी क्षेत्र समेतले लगानी बढाउनुपर्ने बताउनुहुन्छ । नेपालमा सार्वजनिक शौचालयको अवस्था दयनीय रहेको र अझै अस्पताल र विद्यालयहरूका शौचालयको अवस्था भयावह रहेको उहाँको भनाइ छ । सरकारले सबैभन्दा पहिले अस्पताल र विद्यालयका शौचालय व्यवस्थापमा जोड दिनुपर्ने पूर्वमन्त्री साह बताउनुहुन्छ । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यको बातावरण बनाउन सकेमा सार्वजनिक शौचालय व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।
विश्व शौचालय दिवसको अवसरमा वाटर एड नेपाल र एसएनभी नेपालको आर्थिक सहयोगमा स्मार्ट वास सोलुसन्सद्वारा आयोजित सार्वजनिक शौचालयको व्यवस्थापन गोष्ठीमा उपसभामुख इन्दिरा रानाले राम्रो कामको सुरुवात आफैँबाट हुनुपर्ने भन्दै संघीय संसद् भवनको शौचालयसमेत अस्तव्यस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मर्यादापालकहरू साक्षी हुनुहुन्छ, हतार छ भन्दैमा प्याडसमेत बकेटमा नहाली बाहिरै छर्न त मिलेन नि, बाहिर छरिएका स्यानिटरी प्याड सफाइ कर्मचारीले हातैले टिप्नुपर्ने अवस्था रहेछ, यस्तो अवस्था अन्त्यका लागि मैले सांसदहरूसँग छलफल पनि चलाएको छु ।’ सिंहदरबारभित्रको आफ्नो सचिवालयको शौचालय सफा गर्न सफाइ कर्मचारी पर्खेर बस्ने चलन नरहेको र शौचालय सफाइ आफूले पनि गर्दै आएको उहाँको भनाइ थियो ।
यसैबीच, सरकारले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको अध्ययन, अनुसन्धान तथा खोज कार्यमा विश्वविद्यालय तथा विज्ञलाई सहभागी गराउने भएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा नवीनतम् प्रविधि, प्रक्रिया र अभ्यासको अनुसन्धान, खोज तथा विकास गरी सोको प्रयोगलाई प्रोत्साहन गर्ने रणनीतिअनुरूप वास क्षेत्रको अध्ययन, अनुसन्धान तथा खोज कार्यमा विश्वविद्यालय तथा विज्ञलाई सहभागी गराउने कार्यनीति अपनाउने राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीतिमा उल्लेख छ ।
दिगो विकासको क्षेत्रगत लक्ष्य हासिल गर्दै सबैलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीतिको लक्ष्य प्राप्तिका लागि विभिन्न रणनीति तय गरिएको छ । जसअन्तर्गत क्षेत्रगत क्षमता अभिवृद्धिका लागि अध्ययन अनुसन्धान गरिने, उपयुक्त प्रविधि छनोट, उपयोग र विकासका लागि क्षेत्रगत क्षमता अभिवृद्धि गरिने, खानेपानी तथा सरसफाइ प्रणाली र प्रशोधन केन्द्रहरूको प्रभावकारिता वृद्धि गर्न सूचना प्रविधिको प्रयोग गरिने नीतिमा उल्लेख छ । त्यस्तै, अध्ययन, अनुसन्धान तथा खोज कार्यमा विश्वविद्यालय तथा विज्ञ सहभागी गराइने, शैक्षिक संस्थाका विद्यार्थीका लागि खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी शोधमा प्रोत्साहन गर्न निश्चित अनुदान व्यवस्था गरिने, विद्यालयलाई प्रतिकूल असर नपर्ने गरी विद्यालयको खुल्ला जग्गा, स्थान, प्रांगणमा पानी पोखरी निर्माण गर्न प्राथमिकता दिइने, अनुसन्धान, खोजा तथा नमुना अभ्यासलाई राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमार्फत प्रशिक्षण तथा प्रवद्र्धन गरिने र सेवा प्रदायकबीचको आपसी सिकाइ आदान प्रदानलाई प्रोत्साहन गरिने पनि नीतिमा उल्लेख छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा