✍️ तोयराज नेपाल
कार्तिकशुक्ल षष्ठी तिथिलाई छठ पर्व अर्थात् छठ पूजा भनिन्छ । यस वर्ष मंसिर ३ गते षष्ठी तिथि ३/३० घडी छ । षष्ठी तिथिको उदय भएका दिन यो पर्व मनाउनुपर्दछ । यस पर्वका अधिष्ठातृ देवता वा प्रधानदेवता सूर्यनारायण हुन् । यस पर्वमा सूर्यको उपासना गरिन्छ । सूर्यको उपासना गर्नाले रोगव्याधको नाश हुनुकासाथै यस लोकमा आयु, ऐश्वर्य, कीर्ति वृद्धि भई शारीरिक, वाचिक र मानसिक तीनै प्रकारका दुःख नाश हुने तथा सुख आनन्दको वर्षा हुनेछ भने परलोकमा करोडौं वर्षसम्म स्वर्गादि उत्तमलोकमा सुख ऐश्वर्यको भोगगरी अन्त्यमा उत्तम वैकुण्ठ लोकको बाससमेत प्राप्त हुनेछ ।
छठ पर्वका व्रतालुहरूले छठ पर्वका एक दुई दिनअघिदेखि नै उत्साहकासाथ जलाशयका समीपमा पालहाली पण्डाल बनाएर त्यसलाई रंगीचंगी गरी सिँगारेर र सजाई सुन्दर बनाइएको हुन्छ । छठको व्रत गर्ने व्रतालु नारी अथवा पुरुष जसले पनि यस षष्ठीका दिन पूरा उपवास बस्नुपर्दछ । धोई पखाली गरेर पवित्रपारिएको गहुँलाई घाममा सुकाई पिसेका त्यस पीठामा सखर राखी घ्यूमा पकाएर ठकुवा नामक विशेष किसिमको नैवेद्य तयार गरेपछि अरू पूजामा आवश्यक सामग्री वस्त्र, यज्ञोपवीत, चन्दन, अक्षता, अबीर, सिन्दूर, लाजा फूलपाती, माला, धूप, बत्ती, उखु, केरा, नरिवल, सुपारी, स्याउ, सुन्तला, अम्बा आदि विभिन्न फलफूलहरू नाङ्लामा सजाएर षष्ठीका दिन अपराहृण कालमा वा साँझपख नदी वा तलाउ आदि जलाशयमा गएर स्नान गरी सूर्यनारायणको पूजा गरेर सूर्यास्तको प्रतीक्षा गरिन्छ ।
नदी वा जलाशयमा कम्मरसम्म डुबेर अथवा किनारमा नै रहेर भए पनि अस्ताउँदैगरेका सूर्यभगवान्लाई त्यो ठकुवा र फलादि नैवेद्यले भरी सजाइएको नाङ्लो देखाएर त्यसैलाई अघ्र्य मानी सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । यसैलाई सूर्याघ्र्य भनिन्छ । यस किसिमको अघ्र्य अर्पण गरेपछि कोही व्रतालु घर फिर्दछन् ।
त्यसबेला नदी वा जलाशयमा कम्मरसम्म डुबेर अथवा किनारमा नै रहेर भए पनि अस्ताउँदैगरेका सूर्यभगवान्लाई त्यो ठकुवा र फलादि नैवेद्यले भरी सजाइएको नाङ्लो देखाएर त्यसैलाई अघ्र्य मानी सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । यसैलाई सूर्याघ्र्य भनिन्छ । यस किसिमको अघ्र्य अर्पण गरेपछि कोही व्रतालु घर फिर्दछन् । कतिपय व्रतालु त्यहीँ जलाशयका समीपमा पाल हाली सजाइएको पण्डालमा रातभर भजनकीर्तन गरी धूमधामसँग उत्सव मनाउँदै जाग्राम गरेर बस्ने गर्दछन् । रातभर जाग्राम बसेपछि भोलिपल्ट कार्तिकशुक्ल सप्तमीका दिन सूर्योदय हुने बेलामा जलाशयमा स्नान गरी पुनः सूर्यको पूजा आराधना गरी त्यही अघिल्लोदिन अर्पण गरिएको नैवेद्य र फलादिले भरिपूर्ण गरी सजाइएको नाङ्लो उदाउँदो सूर्यलाई देखाएर अघ्र्य अर्पण गरी आ-आफ्ना घर फिर्ने चलन छ ।
घरमा फर्किएपछि त्यस नाङ्लामा रहेको ठकुवा तथा फलफूलादि नैवेद्य प्रसादका रूपमा गुरु-पुरोहित ब्राहृमण बन्धुवर्ग र आगन्तुक इष्टमित्रलाई समेत बाँडी व्रतालुहरूले स्वयं प्रसाद ग्रहण गर्दछन् र छठपर्व सम्मन्न हुन्छ । यस विधिनुसार सूर्यनारायणको उपासना गर्दा भगवान् सूर्यनारायण प्रसन्न भई व्रतीका मनका सम्पूर्ण इच्छा आकांक्षा पूर्ण भई अतुल ऐश्वर्य तथा अनन्त सुख शान्तिसमेत प्राप्त हुन्छ । षष्ठिका देवी भनेर प्रकृतिकी छैटौं अंशलाई पनि भनिन्छ ।
षष्ठांशा प्रकृतेर्या च सा च षष्ठी प्रकीर्तिता ।
बालकानामधिष्ठात्री विष्णुमाया च बालदा ।।
यिनलाई बालबालिकाकी संरक्षिका भनेर मानिएको छ । हाम्रो हिन्दुसंस्कारमा बच्चा जन्मिएपछि गरिने पहिलो संस्कार जातकर्म संस्कार हो भने छैटौं दिनमा गरिने दोस्रो संस्कारका रूपमा षष्ठिकादेवीको पूजा गरिन्छ । जसलाई छैटी भनिन्छ । अर्को जन्मदिनमा मार्कण्डेयादि अष्टचिरञ्जीवीकासाथमा षष्ठिकामाताको पूजा गरिन्छ । तर कार्तिकशुक्लषष्ठीमा भने षष्ठिकामाताको मात्र नभएर मुख्यरूपमा सूर्यनारायणको उपासना गरिन्छ । सूर्यनारायणको उपासना नै छठपर्वको प्रमुख उद्देश्य हो ।
सूर्यनारायणाय नमः।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts