✍️ ताराबहादुर बुढाथोकी
नेपाल बहजातीय संस्कृतिको भूस्वर्ग हो । संविधान, ऐन, कानुन र सामजिक मूल्यले पनि सबैको भाषा, धर्म, संस्कृतिलाई समान मान्यता र सम्मान दिएको छ । नेपालमा मनाइने पर्वहरूमा दशैँतिहार, छठ, ल्होसार, योमरी, उँधौली, उँभौली, बकरइद, क्रिसमस, इद त हुन् । हाम्रो संविधानले नोपलमा बोलिने सबै मतृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ । अक्षरमा नलेखिए पनि सबै जातिले मान्ने चाड पर्व राष्ट्रिय पर्व हुन् । हिन्दुमात्रको, बुद्धिष्ट मात्रको, मुस्लिममात्रको भनेर विभाजनका पर्खाल खडा गर्नु भनेको राष्ट्रिय एकता, अखण्डता र सामजिक सद्भाव बिथोल्नुमात्र हो । बगैंचामा सय थरी फूल फुलेपछि यो मखलीमात्रको, गोदावरीमात्रको भन्ने हुँदैन ।
पूजा, व्रत र विधि सम्बन्धित समुदायका सदस्यले गरे पनि खान, रमाउन, मानउन र सहभागी हुन सबैले पाउँछन् । यसैलाई त व्यक्तिको धार्मिक सहिष्णुता भनिँदो हो । यसैलाई त राज्यको धर्म निरपेक्षता भनिदो हो । एक धर्मीले अर्को धर्मीको चाडलाई विरोध गर्नु, विपरीत क्रियाकलाप गरेर सामाजिक सञ्जालमा हाल्नु, गाली गर्नु सरासार राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौसत्ता र राष्ट्रिय एकताविरोधी गतिविधि हो । सामजिक सद्भाव विथोल्ने हर्कत हो । तुरुन्त संविधानविरोधी गतिविधि गरेको अभियोगमा पक्राउ गरी कारबाही गरिनुपर्छ । क्रिसमस डे मनाउँदा तिनलाई अपमान गर्ने व्यक्ति होस् वा दशैँ मनाउँदा दशैँको अपमान गर्ने व्यक्ति किन नहोस् ।
दशैँ किसान वर्गले मनाउन थालेको चाड । वर्षा यामको झरी बादल, भदौको भेलमा गोडमेल गरेपछि शरद ऋतुको सफा दिनमा आराम गर्दै मीठोमसिनो खाने सल्लाह गरी मनाएको चाड । फुर्सद पनि हुने, खाएको पच्ने र बालीहरू झुलेको बेला आनन्द हुने । पशुपालन गर्ने किसानका खसीबोका हरिया घाँसले अरू बेलाभन्दा बलिया भएका हुने । गाउँमा दशैँको सुरुवात नै शानदार हुन्छ । टोल छिमेक मिलेर बाटो-घाटो, धारो-कुवा, आँगन-मझेरी, घर-कटेरा, हात हतियार सफा गरेपछि आउँछ । वातावरणीय सरसफाइ, सामजिक एकता र विकासका लागि श्रमदानको मीठो अभ्यास त दशैँको पूर्वसन्ध्यामै हुन्छ ।
आहा ! कति महान विश्वास, आस्था र निष्ठा छ । कुन जाति, धर्म र समुदायलाई चेली माइतीको यो महान् र पवित्र सम्बन्ध मन नपर्ला ? आयु, आरोग्य, सुख, समृद्धि, आनन्द मन नपराउने को होला र !
शारीरिक सरसफाइको लागि नुहाइधुवाइ र नवीन वस्त्र धारण हुन्छ । आत्मिक शान्ति र सफाइका लागि पूजाआजा, ध्यान गरिन्छ । बलि पूजा र रसिलो पोसिलो खाना खानु पनि मन र शरीरका लागि अनावश्यक होइन । आत्मवल प्राप्तिका लागि आफूभन्दा ठूला मान्यजनको आशीर्वाद लिइन्छ । टीका, प्रसाद ग्रहण गरिन्छ । महानहरूका अघिल्तिर झुकिन्छ । टाढाटाढा रहेर जीवन निर्वाह गरिरहेका स्वजनहरूसँग पुनर्मिलन गराएर शुभकामनाको झरी वर्षाएर दशैँको उस्तै शानदार समापन हुन्छ । दशैँमा गरिने क्रियाकलाप र हुने घटना कहीँ कतै मानव जातिको कल्याण नहुने छैन । भनिएको छ, ‘सर्व मंगलमांगल्ये शिवे सर्वार्थ साधिके, शरण्य त्तयम्ब्यके गौरी नारायणी नमस्तुते :।’
दशैँको कोजाग्रत पूर्णिमाको १५ दिनपछि तिहार आउँछ । संस्कृति र प्रकृतिको कति महान संश्लेषण हुन्छ । यस बेलाका विशेषता भनेको कोठेबारीमा अनेक जातिका फूल ढकमक्क हुनु, खेतबारीका गरामा धान र कोदोको बाला गमक्क हुनु, नयाँ अन्न र फूलका बासना चारैतिर मगमग हुनु, हुस्सुले भुइँमा अल्मलिन भुसुक्कै बिर्सेर नीलो आकाश र रंगीन धर्ती देखादेख हुनु, रातमा ताराहरू र दिनमा घामका पाइलाहरू बेरोकटोक धर्तीमा छाउन पाउनु, मृत्युमाथि जीवनले विजय हासिल गरेर जीउने र रमाउने महान् संस्कृति यतिबेलै ब्युँझिनु हो । वलिराजको हुकुमले पाँच दिनसम्म धर्तीमा यमराज आउन नपाउने विश्वास हुर्किएको छ ।
यमराज र यमुना दाजु-बहिनी पनि तिहार मनाएर रमाइलो गरेर भुल्छन् । यमराजका दूतलाई आदेशविना आएकोमा ओखरसँगै टाउको फोरे भौतिक कारबाही गर्ने भाइटीका । चेलीले लगाइदिएको मखमली माला अजम्मरी हुने, चेलीले खुवाएको गोरस पनि अमृत हुने, चेलीले निधारमा लगाइदिएको सात रंगको टीका सत्चिदानन्द स्वरूप परब्रहृमको सुखानुभूतिको प्रतीक हुने । आहा ! कति महान् विश्वास, आस्था र निष्ठा छ । कुन जाति, धर्म र समुदायलाई चेली माइतीको यो महान् र पवित्र सम्बन्ध मन नपर्ला ? अलिकति चेतना भएको मान्छे छ भने आयु, आरोग्य, सुख, समृद्धि, आनन्द मन नपराउने को होला र ! शुभभावले भरिएका घटनाहरू कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयसम्म पाँच दिन घट्दछन् ।
त्रयोदशीका दिन मनाइने काग तिहारमा यमराजको प्रिय भक्त, सन्देशबाहकको रूपमा कागको ससम्मान पूजा गरिन्छ । चुच्चोमा अमृत बोकेर स्वर्गबाट झरेको यो चरोको चुच्चोमा अमृत त रहेन तर बोलीमा शुभ र अशुभको संकेत चाहिँ छँदैछ । पाँच दिन चाड मनाउने सन्देश यमराजलाई पठाउन र कहिल्यै अशुभ-मृत्यु, वियोग आदि)को सन्देश नल्याउनू भन्ने कामना गरेर कागको पूजा गरिन्छ । कागको पूजा नगरे मृत्युपश्चात् नर्कमा पुगिन्छ भन्ने डर अध्यात्मिक चेत पनि छ । पक्षीहरूको सम्मान गर्ने यो परम्परा कम महत्वको कहाँ हो र ।
कार्तिक कृष्ण चतुर्दशीका दिन मृत्युका देवता यमराजलाई प्रशन्न पार्न कुकरको पूजा गरिन्छ । कुकुर यमराजको बाहन हो । यमदूत पनि मानिन्छ । कुकुरले घरमा कुखुरा चोर्ने स्याल, चिल, बेसारेदेखि घर फोर्ने डकाबाट बचाउँछ । प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पु¥याउँछ । पशुपालन र खेतीपाती गर्ने किसानका लागि इमानदार गोठाला र मायालु प्राणी पनि हो कुकुर । कागको सद्गुणको सम्मान भने पनि यमराजको डरले बाहनको चाकडी भने पनि कुकुरको पूजाबाट एकातिर जनावरको सम्मान र अर्कोतिर आफ्नो दीर्घायु । विश्वास भए पनि नराम्रो त होइन नि ।
औंसीलाई गाईतिहारे औंसी भनिन्छ । गाईतिहार, लक्ष्मी पूजा वा दीपावली भनिन्छ । गाईलाई आमाको रूपमा पूजा गरिन्छ । गाईको दुध खाइन्छ । गाईले जन्माएको गोरु त किसानको लागि खेती गर्दा भाइ सरह हुन्छ । एउटा किसान भाइबाट छुट्टिएर अलग बाँच्न सक्छ तर गोरुबाट अलग भएर खेती गर्न सक्दैन । बाँच्न सक्दैन । भाइभन्दा पनि महत्वपूर्ण भाइ हुन्छ गोरु । भाइकी आमा किसान दाइकी पनि आमा । यस अर्थमा गाईको पूजा हुन्छ । गाईलाई लक्ष्मी माताका रूपमा पनि मानिन्छ । बेलुकी साँझमा बत्ती बालिन्छ । सडक, गोठ, घर, खोर, आागन, चोक सबतिर ।
अरू बेला एउटा बत्ती बालिन्छ भने त्यस साँझ बत्तीहरूको लहर हुन्छ । झिलीमिली हुन्छ । अन्धकारको नास गरी उज्यालो ल्याउँछ र मनुष्यमात्रमा रोगव्याध सार्ने कीटहरू जलाएर वातावरणलाई रोगमुक्त बनाउँछ । यसरी चारैतिर उज्यालो बनाएपछि लक्ष्मी माता पनि घरमा आउँछिन् । घरमा भएसम्मका धनसम्पत्ति, सुनचाँदी, पैसा, अन्न, भाँडकुँडा उज्यालो पारेर पूजा गरिन्छ । धनधान्यले पूर्ण हुन पाऊँ भनी कामना गरिन्छ । बाहिरबाट भैलेनीहरू भन्न थाल्छन् ‘आँगनै बढारिदियौ के ? हरियो गोबरले लिप्यौ के ? हे औंसीबारो गाइतिहारो भैलो ।
गोरु तिहार श्रीकृष्णले गोकुलपुरलाई इन्द्रको कोपभाजनबाट बचाउन गोवद्र्धन पर्वत उचालेको सम्मानपूर्वक सम्झेर गोवद्र्धन पूजा पनि गरिन्छ । अन्तरिक्षबाट हुने विपत्तिहरूबाट बचाउन गोवद्र्धनसँग प्रार्थना गरिन्छ । उल्का, अतिवृष्टि, अनावृष्टि, खडेरीबाट बचाउने कामना गरिन्छ । अर्कातिर गो भनेको गाई र वद्र्धन भनेको वृद्धि पनि हो । गाईहरूको संख्या बढोस् भन्ने कामना पनि हो । महादेवको बाहनको रूपमा रहेका गोरुहरू शक्तिशाली र वीर्यवान भए भने न गोवद्र्धन हुने हो । अन्न उत्पादक र पशुपालक किसानहरूको जीवनबाट तिहारका चारदिनको परिकल्पना भएको हो । यो सर्वहारा, भुइँमान्छे र भूमिपुत्रको चाड हो ।
फलानो धर्म र तिलानो जातिको भन्ने कुरा घिनलाग्दो व्याख्यामात्र हो । तीज, रक्षाबन्धन, विजया दशमी र भाइटीको अन्तरसम्बन्ध आफ्नै खालको छ । चेलीले माइतीको र माइतीले चेलीको उन्नति, प्रगति, प्रतिष्ठा, दीर्घायु र सुखको कामना गर्ने भाइटीका कसको मात्र हुने र कसको मात्र नहुने हो र । देउसी, भैलो खेलौं, शुभकामना आदानप्रदान गरौं । जुवातास नखेलौं, मादक पदार्थ नखाऔं । चाडवाड मनाऔं । जीवनको कल्याणका कामना गरौं तर कसैले चाडपर्वको अपमान हुने क्रियाकलाप र अभिव्यक्ति दिने नगरौं । हामी नेपाली हाम्रो नेपाल ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता