
काठमाडौं, सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । मंगलबार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम पुगेर उहाँले प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको हो । पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे पनि जानकारी लिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो । उहाँका अनुसार घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।
भूकम्पका घाइते र प्रभावितलाई भेट्दै उहाँले बसोबास, आवश्यक खाद्यान्नलगायत सबै कुराको प्रबन्ध गर्न सरकारसँग कुरा गर्ने बताउनुभयो । जाजरकोटका भूकम्प प्रभावितसँगको भेटमा उहाँले अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी समस्या समाधान गर्न सरकारसँग कुरा गर्ने बताउनुभएको हो । ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी त्यसको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार पोखरेलले भन्नुभयो ।
भूकम्प प्रभावितलाई जाडोयाम र वर्षाका बेलामा समस्या नहुने गरी अस्थायी आवासको प्रबन्ध गर्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै, स्थायी आवास बनाउँदा दीर्घकालीन रूपमा उपयुक्त ठाउँको पहिचान गर्नुपर्ने पनि राष्ट्रपति पौडेलको भनाइ थियो । ‘तपाईंहरूको समस्या समाधानका लागि मसँगै छु, चिन्ता नगर्नुहोस्,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भन्नुभयो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । राष्ट्रपतिले जाजरकोट सदरमुकाम खलंगा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी दिनुभएको हो । राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापतिलगायत सहभागी हुनुहुन्थ्यो ।
राहत वितरणमा ढिलाइ, पीडितलाई समस्या
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा राहत वितरण गर्न ढिलाइ भएपछि भूकम्प पीडितलाई समस्या परेको छ । एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्ने बाध्यताले एकैपटक सबै ठाउँमा राहत नपुग्दा पीडितलाई खान र बस्न समस्या भएको हो । जाजरकोटको बारेकोट गाउँपालिकाका भूकम्पपीडितले मंगलबार बिहानसम्म राहत पाएका छैनन् । त्रिपाल, कम्बल, खाद्यान्नलगायत राहत सामग्री गाउँ नपुग्दा खानाको जोहो गर्न र चिसो रात काट्न पीडितलाई मुस्किल परेको छ । एकातिर भौतिक संरचना र आफन्त गुमाएको पीडाले थलिएका भूकम्पपीडित समयमै राहत नपाउँदा मानसिक रूपमा पनि विक्षिप्त बनेका छन् ।
बारेकोट गाउँपालिका–६, का भूकम्प पीडित डम्बर विश्वकर्माले खुला आकाशको चिसोमा रात काट्न बाध्य भएको भन्दै राहतका लागि त्रिपाल र खाद्यान्नसमेत नपाएको गुनासो गर्नुभयो । ‘चार जनाको परिवार भूकम्पबाट त बाँच्न सफल भयौँ । तर, आफन्त र घरभित्र रहेको खाद्यान्न तथा लत्ताकपडाहरू ढुंगामाटोमै बिलाए,’ जाजरकोट भेरी नगरपालिका-१ रावत गाउँका चन्चल रावतले भन्नुभयो, ‘आजसम्म राहत पाएका छैनाँै । पीडामाथि पीडा सहेर खुल्ला आकाशमुनि पाल टाँगेर चिसोमा रात काट्दैछौँ ।’
समयमै राहत नपाउँदा भेरी नगरपालिका-१ कै मानबहादुर विकले पनि पीडामाथि थप पीडा थपिएको महसुस गर्नुभएको छ । नेपाली सेनामा कार्यरत उहाँले भूकम्पबाट ७० वर्षीया हजुरआमा र तीन वर्षको छोरा गुमाउनुपरेको छ । उहाँले भन्नुभयो, ‘भूकम्पले छोरा र हजुरआमाको ज्यान लियो । श्रीमती र आमाको उपचार भइरहेको छ । राहत पाएको भए भोको पेट भरिन्थ्यो कि ?’
यी उदाहरण प्रतिनिधि पात्र मात्रै हुन् । तर, समयमै राहत नपाउँदा भूकम्प पीडितको विचल्ली हुन थालेको छ । भूकम्प प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक कुराहरूको आवश्यकता देखिन्छ । खाद्यान्न, पाल, कम्बल, भाँडाकुँडाको आवश्यकता छ ।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत वितरणमा एकद्वार प्रणालीले समयमै राहत नपुग्दा निकै पीडाको महसुस भएको बताउनुभयो । ‘पीडित त्रिपाल, कम्बल खाद्यान्न नपाएर तड्पिराखेका छन् । हामीले पालिकाको तर्फबाट सकेजति सहयोग गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘सदरमुकाममा सिडिओले सबै सामग्री होल्ड गरेर बस्नुभएको छ । एकद्वार प्रणालीका नाममा राहत पुग्नैपर्ने ठाउँमा पुग्न नदिने काम भयो ।’
एकद्वार प्रणालीको नाममा सहज राहत वितरणको बाटो नै बन्द गरिएको उहाँको आरोप छ । ‘हामीले सहयोगको अपिल गरेका छौँ तर, प्रदेश र संघबाट हामीलाई खोज्ने काम भएको छैन,’ उहाँले भन्नुभयो, ‘हाम्रो पीडा र अवस्था के छ ? भनेर प्रदेश र केन्द्रले बुझ्न सकेको छैन । तत्काल भौतिक पुनर्निर्माणको अभियान पनि सञ्चालन गर्नुपर्ने छ ।’
इता, जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले राहत वितरण जारी रहेको भन्दै सबै पीडितले पहिलो चरणको राहत पाइसकेको दाबी गर्नुभयो । ‘राहत वितरणमा एकद्वार प्रणाली अपनाउँदा सबै राहत एकैचोटि नपुगे पनि पीडितले अवश्य राहत पाउनेछन्,’ उहाँले भन्नुभयो, ‘अन्य निकायले आफूखुसी राहत बाँड्दा वास्तविक पीडित छुट्न सक्छन् । एकद्वार प्रणालीबाट चरणबद्ध राहत बाँडिरहेका छौँ ।’
उहाँका अनुसार राहत आउनेक्रम पनि जारी छ । राहत नगद र जिन्सी सामग्री उपलब्ध भइरहेको छ । साथै जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले क्षति भएका छन् भने दुई हजार ९६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पबाट १५३ जनाले ज्यान गुमाएका छन् भने अन्य २४६ जना घाइते भएका छन् । यस्तै, १४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
सरकार राहत र पुनर्निर्माणमा केन्द्रित भइसकेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पपछि उद्धार र उपचारसँगै सरकारले अब राहत र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुएको छ । मंगलबार बिहान बालुवाटार पुग्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको खोज तथा उद्धारको काम सफलतापूर्वक सम्पन्न भएको र अब राहत र पुनर्निर्माणको कामलाई केन्द्रमा राखेर काम सुरु भइसकेको बताउनुभयो । राहत व्यवस्थापनका लागि विभिन्न ढंगले पहल भइरहेको उहाँको भनाइ थियो । ‘दुवै छिमेकी राष्ट्रका राजदूतहरूलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि सकारात्मक कुरा भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘देशभित्र र बाहिरबाट पनि हामीलाई राहत व्यवस्थापनका लागि सहयोगका वचनहरू आएका छन् । यसलाई चुस्त व्यवस्थापनको लागि सरकारले कुनै कसुर बाँकी राख्दैन ।’ प्रधानमन्त्री प्रचण्डले यसपटक संकटको बेला एकैठाउँमा उभिने नेपाली संस्कार थप मजबुत भएर प्रस्तुत भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच