काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।
उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए। ‘कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ’, उहाँले भन्नुभयो ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गर्नुभयो ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ । केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ दशमलव ५, १२ः२९ बजे ४ दशमलव २, १२ः३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३ः४० बजे ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको छ ।
उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts