यज्ञराज जोशी/हिटा
काठमाडौं । दश वर्षपछि नेपाल आइसिसी टी-२० क्रिकेट विश्वकपमा छनोट भएको छ । विश्वकपको एसिया छनोटमा शुक्रबार युएईलाई सेमिफाइनलमा पराजित गर्दै नेपाल २०१४ पछि अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो । उक्त विश्वकपमा हङकङलाई र अफगानिस्तानलाई हराएको नेपालले त्यसको दशवर्षपछि अर्को विश्वकपमा यात्रा निश्चित गरेको हो ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा पहिलो विश्वकपका महत्वपूर्ण खेलाडी ज्ञानेन्द्र मल्लले यसलाई ऐतिहासिक क्षण भएको बताउनुभयो । ‘यो क्रिकेटका लागि मात्रै नभएर नेपाली खेलकुदकै लागि ऐतिहासिक क्षण हो । एकदमै खुसी लागेको छ । पहिलोपटक नेपाल विश्वकपमा छनोट हुँदा म त्यसको भाग थिए,’ उहाँले भन्नुभयो, ‘त्यसलगत्तै फेरि पनि विश्वकप खेल्ने आशा थियो तर लामो समयपछि यस टिमले छनोट भएको छ । यो एकदमै ठूलो खुसीको क्षण हो ।’
यस्तै, नेपाली कप्तान रोहित पौडेलले विश्वकपमा छनोट भएको क्षणलाई गौरवपूर्ण क्षणका रुपमा चित्रित गर्नुभयो । उहाँले सम्पूर्णको सहयोगले यो सम्भव भएको धारणा व्यक्त गर्नुभयो । ‘यो सम्पूर्ण नेपालीका लागि गौरवपूर्ण क्षण हो । हामी २०१४ को विश्वकप हेर्दै हुर्किएका थियौँ । आज हामीले देशलाई नै त्यो स्थानमा पुर्याउन पाउँदा एकदमै खुसी लागिरहेको छ । यो सबैको सहयोगले सम्भव भएको हो । दर्शक, सर्पोटिभ टिम, खेलाडी सबैजना बधाईको पात्र हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।
खचाखच दर्शकहरूले भरिएको माथिल्लो मूलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रोपटक विश्वकपमा छनोट भएको हो । युएईले दिएको १३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा विकेटकिपर आशिफ शेखले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५१ बलमा एक छक्का र सात चौकाको सहयोगमा ६४ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले दुई छक्का र दुई चौकाको सहयोगमा ३४ रन बनाउनुभयो भने गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाउनुभयो । युएईका लागि निलान्स केस्वानी र बसिल हमिदले एक/एक विकेट लिनुभयो ।
टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३४ रन बनायो । युएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाउनुभयो । उहाँले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गर्नुभयो । कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाउनुभयो । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सक्नुभएन । नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । साथै सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिनुभयो । दुई ब्याटर रन आउट हुनुभयो ।
नेपाल समूह ‘ए’ बाट उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । अब उपाधिका लागि आइतबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।
ओमान पनि छनोट
यस्तै, ओमान पनि विश्वकपमा छनोट भएको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो । बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा ग¥यो । ओमानको जितमा कश्यप प्रजापतिले सर्वाधिक ५७ रन बनाउनुभयो । उहाँले ४४ बलमा दुई छक्का र ६ चौका प्रहार गर्नुभयो । साथै प्रतीक अथावेलले ४१ बलमा एक छक्का र चार चौकासहित ४८ रन बनाउनुभयो ।
यसअघि बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १०६ रन मात्रै बनाउन सक्यो । उसका लागि इमरान अलीले ३०, अहमर बिन निसारले २६ र सर्फराज अलीले २३ रन बनाउनुभयो । ओमानका लागि अक्वि इलायसले चार विकेट लिए भने सकिल अहमदले दुई विकेट लिनुभयो । साथै फ्याज बट र जिसान मक्सुदले एक/एक विकेट लिनुभयो ।
विश्वकपमा छनोट हुँदा भाग्यमानी र गर्व लागेको छ : कप्तान पौडेल
आइसिसी टी-२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको बताउनुभएको छ । शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले आफ्नै नेतृत्वमा आइसिसी टी-२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताउनुभएको हो । ‘सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हामी अहिले मेरै नेतृत्वमा छनोट हुँदा खुसी लागेको छ’, रोहितले भन्नुभयो । नेपाललाई विश्वकपसम्म पुर्याउनका लागि टिमका सबैले निकै मिहिनेत गरेको उहाँले बताउनुभयो ।
यसैगरी, राष्ट्रिय टोलीका अर्का महत्वपूर्ण सदस्य सोमपाल कामीले यसपालि खुलेर खेलेकाले विश्वकपमा छनोट भएको धारणा राख्नुभयो । नेपालको जितमा महत्वपूर्ण पारी खेलेका आशिफ शेखले विकेट ट्रिकी भए पनि त्यहीअनुसार प्लान बनाएर खेलेको बताउनुभयो । ‘विकेट ट्रिकी थियो, त्यहीअनुसार प्लान बनाएका थियौँ,’ आशिफले भन्नुभयो, ‘युएईलाई १४० भित्र समेट्ने लक्ष्य थियो, सिचुएसनअनुसार खेल्न सक्यौँ ।’
मोन्टी देशाई प्रशिक्षकका रूपमा आएपछि जित्ने मेन्टालिटी बढेको उहाँले बताउनुभयो । ओमानविरुद्ध विस्फोटक पारी खेल्नुभएका विवेक यादवले राष्ट्रिय टोलीका लागि खेल्दा खुसी लागेको बताउनुभयो ।
सरकार सधैँ क्रिकेट खेलाडीको साथमा छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिनुभएको छ । उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहाले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु । साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैँ यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
बधाई टिम नेपाल ∕ अबको यात्रा विश्वकप : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । टी-२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई ओलीले बधाई दिनुभएको हो । नेपाल विश्वकपमा छनोट भएपछि अध्यक्ष ओलीले खुसी साट्नुभएको छ । सामाजिक सञ्जालमार्फत नेपाललाई बधाई दिँदै ओलीले भन्नुभएको छ, ‘निरन्तर कोसिसपछिको जित ∕ बधाई टिम नेपाल । अबको यात्रा विश्वकप । चियर्स !






