काठमाडौं । पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । कोभिडपछि नेपालमा सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा भित्रिएका छन् । यो नेपालको इतिहासमा अहिलेसम्मकै धेरै भएको पर्यटन बोर्डले जनाएको छ । अध्यागमन विभागका अनुसार अक्टोबरमा एक लाख १७ हजार पर्यटक नेपाल भित्रिएका छन् । २०१९ को अक्टोबरमा भन्दा पनि धेरै पर्यटक अहिले भित्रिएको विभागको तथ्यांकमा छ । गत वर्ष यही महिना ५२ हजार १२१ पर्यटक मात्रै भित्रिएको विभागले जनाएको छ ।
कोभिडअघि २०१९ मा एक लाख १० हजार पर्यटक नेपाल भित्रिएका थिए । त्यसपछि यो अक्टोबरमा धेरै पर्यटक नेपालमा घुम्न आएको पर्यटन बोर्डका प्रवक्ता मनिराज लमिछानेले जानकारी दिनुभएको छ । अक्टोबर महिनामा हिमाल आरोहणसँगै ट्रेकिङको समय भएका कारण पनि सबैभन्दा बढी पर्यटक भित्रिएको उहाँले बताउनुभयो । ‘नेपाल हिमाल आरोहण र ट्रेकिङका लागि युरोप, अमेरिका, रसिया र अफ्रिकी पर्यटन धेरै आएका छन् । हिमाल आरोहणमा रसिया र अमेरिकाका धेरै पर्यटक अक्टोबरमा आएका छन् । यो नेपालका लागि राम्रो हो,’ उहाँले भन्नुभयो, ‘एसियाबाट धेरै पर्यटक धर्मका लागि आउने गरेका छन् । भारत, बंगलादेश र खाडीका केही देशबाट आएका पर्यटक धार्मिक हुन् । उनीहरूले पनि ट्रेकिङ र मठमन्दिर घुम्ने गरेका छन् ।’
कोभिडपछि धेरै पर्यटक गत महिनामा आएका छन् । पछिल्लो समय पर्यटकको आकर्षण पनि नेपालमा बढ्दै गएको उहाँको भनाइ छ । आर्थिक मन्दीका कारण युरोपबाट आउने पर्यटक घटे पनि अन्य देशबाट आउने पर्यटक भने बढ्न थालेको बोर्डले जनाएको छ ।
कुन देशबाट कति पर्यटक भित्रिए ?
अक्टोबरमा सबैभन्दा धेरै भारतबाट पर्यटक आएको बोर्डको तथ्यांकमा छ । यो महिना भारतबाट १८ हजार ४८० पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डले संकलन गरेको तथ्यांकअनुसार ग्रीष्म ऋतुमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८० पर्यटक भित्रिएका छन् । अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट आठ हजार २१९, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट पाँच हजार ९१६, फ्रान्सबाट पाँच हजार २७१ र बंगलादेशबाट चार हजार २९२ पर्यटक नेपाल भित्रिएका छन् ।
पछिल्लो समयमा हवाईबाट भन्दा भारतबाट स्थलगत हुँदै धेरै पर्यटक भित्रिने गरेको बोर्डले जनाएको छ । सन् २०२३ मा करिब १३ लाख पर्यटक नेपाल भित्रिने बोर्डको अनुमान छ । पर्यटकहरू आउने क्रम बढिरहेका बेला यसपालि वसन्त ऋतुका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि हालसम्मकै धेरै व्यक्तिले अनुमति पाएको बोर्डले जनाएको छ । सन् २०२३ मा करिब दुई सयभन्दा बढी सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथाको ‘नर्मल रुट’ का लागि वसन्त ऋतुमा प्रतिविदेशीले ११ हजार अमेरिकी डलर, शरद् ऋतुमा पाँच हजार पाँच सय र शिशिर तथा वर्षा ऋतुमा दुई हजार सात सय पचास डलर तिर्नुपर्ने बोर्डले जनाएको छ ।
सगरमाथाको दक्षिणपूर्वी धारबाहेकको हकमा भने वसन्त ऋतुमा प्रतिविदेशीले १० हजार डलर, शरद् ऋतुमा पाँच हजार र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर तिर्नुपर्छ ।
सगरमाथाबाहेक अरू हिमाल आरोहण गर्नका लागि तुलनात्मक रूपमा कम रकम बुझाउनुपर्ने बोर्डले जनाएको छ । रुटअनुसार विदेशी पर्वतारोही दलले प्रत्येक सदस्यका लागि नेपाल सरकारलाई सलामी बुझाउनुपर्ने हुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा