भक्तपुर । भक्तपुरका इँटा उद्योगीहरूले सरकारसँंग कर्जाको किस्ता र ब्याज बुझाउने अवधि वृद्धिको माग राखेका छन् । उनीहरूले बुधबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठमार्फत् अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
भौतिक संरचना निर्माणका लागि आवश्यक सामग्रीमध्ये इँटा प्रमुख वस्तुमा पर्ने भएकाले देशभर उत्पादित इँटाले माग परिपूर्ति गर्दै आएको, इँटा उद्योग सुक्खायाममा सञ्चालन हुने र गरिबीको रेखामुनि रहेका जनतालाई रोजगार दिने खुला आकाशमुनि सञ्चालन हुने मौसमी उद्योग भएको भन्दै उद्योग सञ्चालनको समयमा बेमौसमी वर्षाले ठूलो परिमाणमा काँचो इँटा नष्ट हुने गरेको उनीहरूले बताएका छन् । जसका कारण लगानी डुब्न जाने र कामदारलाई पेस्की बाँड्नुपर्ने भएकाले लगानी जोखिम उद्योगका रूपमा पनि लिने गरिएको उनीहरूले बताएका छन् ।
कोरोनाकालदेखि नै इँटा उद्योग सञ्चालनको अवस्था दयनीय रहेकाले पर्याप्त कामदार नआउँदा भक्तपुर जिल्लामा सञ्चालित इँटा उद्योग पूर्णरूपमा बन्द रहेको उनीहरूले बताएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० सम्म पनि जिल्लामा रहेका इँटा उद्योगमध्ये ६०/७० प्रतिशतमात्र इँटा उद्योग सञ्चालनमा आएका र त्यसरी सञ्चालित इँटा उद्योगले पनि ५०/६० प्रतिशत अर्थात् दुई/तीन राउण्डमात्र इँटा उत्पादन गरी उद्योग बन्द गर्नुपरेको ज्ञापनपत्रमा उल्लेख छ ।
इँटा उद्योगमा र्हास आउनु र इँटा उद्योग सञ्चालनमा नैराश्यता छाउनुमा कोइलाको मूल्यवृद्धि हुनु, कोइला खरिद गर्दा अग्रिम रकम पठाउनुपर्ने प्रावधान रहेको बताइएको छ । जसका कारण गुणस्तरीय कोइला आपूर्ति नभएको र उद्योगीमा वित्तीय संकटका कारण विषम परिस्थिति सिर्जना हुन गएकाले आर्थिक संकटको अवस्थालाई मनन गरी इँटा उद्योगीलाई पर्न गएको वित्तीय संकट सम्बोधनका लागि पहल गरिदिन अर्थमन्त्रीलाई उनीहरूले ध्यानाकर्षण गराएका छन् ।
बंैक तथा वित्तीय संस्थाबाट ऋण लगानी, पुनर्कर्जा लगानी हुन नसकेकाले उद्योगी व्यवसायी एवं आमसर्वसाधारणले सहज तरिकाले कर्जा पाउन नसक्दा र विगतको कोरोनाको असर तथा रसिया-युक्रेन युद्धका कारण व्यापार व्यवसायमा र्हास आउँदा भौतिक संरचना निर्माणको गति प्रायः ठप्प हुन गई निर्माण सामग्रीको माग न्यून अवस्थामा रहेकाले विगत दुई/तीन वर्षदेखि उत्पादित इँटासमेत बिक्रीवितरण हुन नसकी उद्योगी व्यवसायीमा चरम वित्तीय संकट सिर्जना भएको बताइएको छ । जसका कारण उद्योगीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तोकिएको भाखामा बुझाउन नसकेको बताइएको छ ।
उनीहरूका अनुसार एकातर्फ निर्माण कार्यबापत व्यवसायीले समयमै भुक्तानी पाउन नसक्दा प्रत्यक्ष असर इँटा उद्योगमा पर्न गएको छ भने अर्कोतर्फ सरकारले आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा पुँजीगत शीर्षकमा एकदमै न्यून रकम खर्च गरेका कारण भौतिक निर्माण कार्यले गति लिन नसक्दा अपेक्षाकृतरूपमा इँटा बिक्री हुन सकेको छैन ।
ऋण उपलब्ध गराउने वित्तीय संस्थाले इँटा उद्योगीले लिएको ऋणको किस्ता र ब्याज बुझाउन ताकेता गर्दा भाखाभित्र सावाँ र ब्याजको किस्ता बुझाउन नसक्दा धितो सुरक्षणबापत बैंक तथा वित्तीय संस्थालाई दिएको जेथा जमानी (घरजग्गा) लिलाम बिक्रीको प्रक्रियालाई अगाडि बढाउँंदै उद्योगीको उठिबास गराउने काम भइरहेको भन्दै इँटा उद्योगीले तत्कालका लागि बैंकको ब्याजदरलाई एकल अंकमा राखी इँटा उद्योगीले लिइरहेको कर्जाको सावाँ र ब्याजको किस्ता बुझाउने अवधि २०८२ साल असारसम्म कायम गर्न माग गरेका छन् । भक्तपुर इँटा उद्योग संघका कार्यबाहक अध्यक्ष आशाकाजी त्वानाबासुले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता