ताप्लेजुङ । अनुकूल मौसमका कारण यतिबेला ताप्लेजुङको पाथीभरा दर्शनका लागि उत्तम मानिन्छ ।
पाथीभरा दर्शनका लागि शरद ऋतुकोे असोज, कार्तिक र वसन्त ऋतुको चैत्र, बैशाखलाई उत्तम महिना मानिन्छ । जेष्ठ र मंसिर महिनाको आधाउधिसम्म यहाँ दर्शनार्थी आउने गरेको स्थानीय बताउँछन् ।
हिमाली जिल्ला ताप्लेजुङको १२ हजार फिट उचाइमा रहेको यो प्रसिद्ध तीर्थस्थलमा वर्षको ६ महिना दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
विशेषत वर्खा र जाडो महिना बाहेकका महिनामा यो पवित्र तीर्थस्थलमा रहेको पाथीभरा माताको दर्शका लागि तीर्थालुहरु आउने गर्दछन् । दर्शनार्थीहरुले पूर्वी तराईको जिल्ला झापाबाट इलाम र पाँचथर हुँदै झण्डै ९ घण्टाको गाडी यात्रा पछि ताप्लेजुङको पाथिभराको तल्लो फेदीसम्म पुग्ने समय खर्चिनु पर्ने हुन्छ । त्यसपछि बयस्क र स्वस्थकरले करिव चार घण्टा र अशक्तहरुले ५–६ घण्टाको कष्टकर यात्रा पछि मन्दिर दर्शन गर्न सकिन्छ ।
लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा प्रकट गर्ने गरेपनि धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन । सबै प्रकारका धर्मालम्बीहरु यो पवित्रस्थलमा जाने गरेका छन् ।
विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मीटरको उचाईमा अवस्थित छ ।
यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पो) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम 'पाथीभरा देवी' भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका लिम्बू समुदायहरू पाथीभरा पहाडलाई 'मुकुम्लुङ' भनेर चिन्दछन् । लिम्बू भाषामा 'मुकुुम'को अर्थ शक्ति वा बल, 'लुङ'को अर्थ ढुंगा भन्ने जनाउँदछ। अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा प्रकट गर्ने गर्दछन् ।
देवी उत्पति सम्बन्धी किम्बदन्ती
पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू पाइन्छ ।
भनिन्छः परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए ।
त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।
आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ ।
आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।






