बागलुङ । एक दशक अगाडिसम्म बागलुङको धेरै जसो गाउँहरुमा सराय नाच नाच्ने प्रचलन थियो । तर पछिल्लो समय एक/दुई गाउँमा मात्र देख्न पाइन्छ । मौलिक संस्कृति बोकेको सराय नाच हराउँदै जान थालेपछि बुढापाकाले चिन्ता गर्न थालेका छन् । नयाँ पुस्ताले यो नाच नाच्ने तर्फ चासो नदिँदा हराउँदै गएको हो । विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सराय नाच अहिले दसैँका दिनमा मात्रै सीमित छ । पहिले यो नाच दसैँको समयमा आफन्तजन तथा गाउँले जम्मा भएर तरबार नचाएर एक आपसमा खुसी साटासाट गरि नाचिने गरेको स्थानीय वीरबहादुर चन्दले बताउनुभयो ।
गाउँका मठ मन्दिरमा राखिएको दरबार तथा खुँडा, घरमा राखिएको जमराको माला र एउटै किसिम कपडा पहिरिएर ठूलो समूहमा यो नाच नाच्ने चन्दको भनाइ छ । युवा पुस्ताले चासो नदिँदा अहिले थोरैले मात्र नाच्ने गरेको उहाँले बताउनुभयो । परापूर्वकालदेखि नाच्न थालिएको सराय नाचले वर्षौँदेखि टाढिएका आफन्तजन, इष्टमित्र र गाउँलेलाई जमघट गराउने चन्द बताउनुहुन्छ । आधुनिक प्रबिधिको विकासले मौलिक संस्कृति हराउँदै गएको उहाँको गुनासो छ ।
“यो नाच कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन, तर हाम्रो जिजु, बाजे र बाउले नाच्दै आए, हामीहरुले पनि त्यही सिको गरेर नाच्यौँ, तर अहिलेका हाम्रो छोरा भतिजले नाच्न छोडे, यो त राम्रो सम्पत्ति हो, तर नयाँ पुस्ताले संरक्षण गर्न सकेनन्” उहाँले भन्नुभयो - “अहिले हामी बुढाहरुले मात्रै नाच्दै आएका छौँ, हरेक वर्ष नाच्नेको संख्या घट्दै गएको छ, पुराना बित्दै गए (मृत्यु हुनु), नयाँले नाचेनन्, अबको १०/१५ वर्षमा गाउँमा सराय नाच्ने कोही हुँदैनन् होला ।”
केही वर्ष अगाडिसम्म सराय नाच हेर्नेको भिड हुने गरेको भन्दै अहिले धेर्र जसो मोबाइलमै झुण्डि राख्ने स्थानीय पदमबहादुर घर्ती बताउनुहुन्छ । बुढापाका पुस्ता नसक्ने हुँदै गएपछि पुराना परम्परा, कला र संस्कृति पनि मेटिदै जाने हुँदा सराय नाचको लोप हुने खतरा बढेको उहाँले बताउनुभयो । पहिले गाउँको प्रत्येक घरबाट एक जना भाला र तरबार लिएर नाच्न आउने गरेको स्मरण गर्दै अहिले नाच्ने युवा जति विदेश पलायन भएको घर्तीको भनाइ छ । मौलिक कला संस्कृतिको संरक्षणमा सरोकारवाला निकायले पनि ध्यान दिनु पर्ने उहाँले बताउनुभयो ।
घर्ती भन्नुहुन्छ - “हामीहरु बुढा भयौँ, नयाँ सिक्ने युवा विदेश गए, गाउँनै रित्तिन थालेको छ, अब कसरी पुराना संस्कृति संरक्षण गर्ने ?, यहाँ भएकाहरुले पनि चासोनै दिँदैनन्, यो परम्परालाई जोगाउने हो भने नयाँ पुस्ता तयार हुनुपर्छ, ध्यान दिनु पर्छन, नत्र भने केहीपछि सराय नाच देख्न पनि पाइने छैन, यो त पुस्तौँदेखि पुस्ता हस्तान्तरण हुँदै आजसम्म आएको हो ।”







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts