काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनु भएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा। महतले भन्नुभयो ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन्।’
युवाहरूलाई यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ भन्ने लागेको भए त्यो भ्रममा नपर्न आग्रह गर्नुभयो। मन्त्री डा. महतले भन्नुभयो ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन्। त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो। तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुष्म चाहिन्छ।’
हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसकेको उहाँको दाबी छ। 'अहिले निजी क्षेत्रबाट ३ सय मेगावट जलविद्युत उत्पादन भइरहेको छ। सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेका छन्। माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुँदैछ, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्दैछ। हामीले ऋण सहुलियत दरमा मागेका छौं,’ उहाँले भन्नुभयो ।
आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्ने मन्त्री महतले बताए। 'यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौं, अब यसमा गैरआवासीय नेपाली साथीहरु जोडिनुपर्छ’ उहाँले भन्नुभयो, ‘हामी बुढिगण्डकी जलासययुक्त आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौं,’ उहाँले बताउनु भयो ।
लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा रहेको उनले बताए। 'बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदो रहेछ। बेलायत मात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ। सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ,' उहाँले भन्नुभयो ।
जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्ने बताउनु हुँदैन मन्त्री डा. महतले भन्नुभयो, ‘अर्को क्षेत्र भनेको पर्यटन हो। यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। मध्यपूर्वलगायत कोरिया गएकाहरु फर्किदा सानो पूँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन्। उनीहरुले यही सानो व्यवसाय सुरु गरिसकेका छन्। हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौं। अनुदार र करको सुरक्षा सरकारले गर्छ। यसबाट उत्पादन बढाउने सरकारको योजना छ।’
नेपालमा धेरै नकरात्मक भावना फैलिएको उहाँले बताउनु भयो। अब सकारात्मक भावना फैलाउनु पर्ने उहाँको भनाइ छ। 'नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ। यो देशमा केही हुन्न, यिनीहरुले केही गर्दैनन्, यिनीहरु बिगार्न मात्र आएका हुन्। खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ। सबै क्षेत्रमा राम्रा मान्छे पनि छन्,’ मन्त्री डा. महतले भन्नुभयो ‘सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहालौं। जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौं। सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो। तपाईंहरुले भन्नुभएको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म सन्देश पुग्छ।’






