आर्थिक मन्दीको प्रभाव : घट्यो भेडा च्याङ्ग्राको व्यापार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो । चार हजार ७०० मिटरको उचाइमा रहेको नालीखोलादेखि बेसी झर्न उहाँलाई दुई दिन लाग्यो । १४ दिनमा उहाँ आइतबार बागलुङको गलकोट आइ पुग्नु भएको थियो । हरेक वर्ष दसैँमा व्यापारका लागि बजार आउने तिलु यस वर्ष निकै निराश देखिनुहुन्छ । व्यापारमा निस्केको दुई हप्तामा उहाँले नौँ वटा मात्रै भेडा व्यापार गर्नु भयो । एक सय ५० वटा भेडा लिएर बजार आउनु भएका बुढा मगर व्यापार नभएपछि चिन्तित हुनु भएको छ । परिवार र दसैँ खर्च चलाउनका लागि यो सिजनमा बजार झर्नु भएका उहाँ व्यापार नहुँदा घर खर्च कसरी चलाउने भन्ने पिरले उहाँलाई सताइ रहेको छ ।

अघिल्लो वर्षको तुनामा यस वर्ष भेडाको मूल्य केही बढेको छ । तर बुढा मगरले साविककै मूल्यमा विक्री गर्दा पनि भेडा व्यापार निकै कम भएको छ । अघिल्लो वर्षहरुमा घटस्थापनाको दिनसम्म बजार ल्याएका आधाभन्दा बढी व्यापार हुने गरे पनि यस पटक निकै कम भएका छन् । रहेक वर्ष पर्वतको कुश्मा र डिमुवासम्म पुगेर फर्किने बुढा मगर यस वर्ष व्यापार नहुँदा पोखरासम्मै पुग्ने योजनामा हुनुहुन्छ । मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सिप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आउनु भएका तिलुलाई भेडा व्यापार नभए फर्काउनु पर्छ कि भन्ने चिन्ताले सताइ रहेको छ । वर्षभरी लेकबेसी गरेर उत्पादन गरेको भेडाले बजार नपाउँदा उहाँले दुःख व्यक्त गर्नुभयो ।

करिब ढेड सय किलोमिटर टाढाबाट आउनु भएका तिलुले व्यापार नभएपछि अघिल्लो वर्षको भन्दा कम मूल्यमा भेडा विक्री गर्न बाध्य हुनु भएको छ । पोहोर साल एउटा भेडालाई २८ हजारदेखि ४८ हजारसम्म पार्ने गरेको भन्दै यस वर्ष करिब ५२ हजारसम्म पुगेको छ । तर पाहोर सालकै मूल्यमा व्यापार नभएपछि केही रकम घटाएर विक्री गर्नु परेको उहाँ बताउनुहुन्छ । पहिले-पहिले बाटोमा भेडा आए भने व्यापारी बथानमै छिरेर मन परेको भेडा किन्ने गरेको भन्दै यसपाली घरै अगाडि लगेर किन्न आग्रह गर्दा पनि व्यापार नभएको तिलुले गुनासो गर्नुभयो । पहिलेको तुलनामा यस वर्ष बजार पनि सुनसान पाएको उहाँ बताउनुहुन्छ ।

“यसपाली दसैँ ढिला आयो, ७ गतेको दिन टिका रैछ, ५ गते त घर फर्कि सक्नु पर्छ, मेरो अरु केही व्यवसाय छैन, वर्षभरी यिनै भेडा पाल्छु, दसैँ त हामी जस्ता गोठालाको लागि व्यापार गर्ने ठूलो पर्व जस्तै हो, के गर्ने हजुर अहिले त भेडा व्यापार गर्न सकिएन, मान्छेहरुले पैसा छैन भेडा राख्न सकिदैन भन्छन्” बुढा मगरले भन्नुभयो - “बजारमा पहिलेको जस्तो चहलपहल पनि देखिएन, किन यस्तो भयो ?, बुझ्नै सकेको छैन, आर्थिक मन्दी भन्छन्, मैले भेडा पाल्न थालेको ३७/३८ वर्ष भयो अहिलेसम्म यस्तो अवस्था कहिले पनि आएका थिएन ।”

बुढा मगरले २८ हजार पर्नेलाई २३ हजार र ५२ हजार पर्ने भेडालाई ४०/४५ हजारमा दिँदा पनि कसैले किन्न नमानेको गुनासो पोख्नु भयो । भेडा व्यापार नभएपछि परिवार चलाउनै समस्या हुने उहाँको भनाइ छ । ५ गतेसम्म व्यापार नभए गाडीमा हालेर गाउँ फर्किने योजना उहाँको छ । बुढा मगरको जस्तै मुस्ताङबाट आउने भेडा च्याङ्ग्रा पनि अघिल्लो वर्षको तुलनामा कम विक्री भएको व्यापारीहरुले बताउने गरेका छन् ।

ADVERTISEMENT

उपल्लो मुस्ताङदेखि भेडाच्याङ्ग्रा लिएर आउनु भएका प्रकाश गुरुङले यस वर्ष निकै कम व्यापार भएको बताउनुभयो । असोज पहिलो सातानै भेडाच्याङ्ग्रा खरिदका लागि मुस्ताङ पुगेको भन्दै ११ गतेदेखि बजार १७ गतेदेखि बजार झार्न सुरु गरेको बताउनुभयो । करिब पाँच यसहो हाराहारीमा भेडाच्याङ्ग्रा लिए पनि अहिलेसम्म ७० वटा मात्रै विक्री भएको उहाँको भनाइ छ । बागलुङ, पर्वत, पोखरा, तनहुँ हुँदा काठमाडौसम्म पु¥याउने योजना रहेको भन्दै आर्थिक मन्दीले व्यापार कम भएको गुरुङ बताउनुहुन्छ । अघिल्लो वर्ष १२ यस बढी भेडाच्याङ्ग्रा बजार ल्याउने गरेकोमा यस वर्ष घटाएको उहाँले सुनाउनुभयो ।

गुरुङले भन्नुभयो - “बजारमा सबै सामान महङ्गिएर आकाशिएको छ, भेडाच्याङ्ग्राको पनि मूल्य स्वभाविक रुपमा बढ्नेनै भयो, तर पहिलेपहिले जति राम्रो व्यापार हुन्थ्यो अहिले छैन, यसले गर्दा हामी जस्ता व्यापारी मर्कामा परेका छौँ, मैले आफै पाल्ने गरेको छैन, गोठमै पुगेर गरिद गरि ल्याउने हो, किसानले गोठमै महङ्गोमा बेच्नु हुन्छ, हामीहरुले बजार ल्याउँदा थोरै मात्र नाफा राखेर बेच्दा पनि विक्री गर्न मुस्किल पर्छ ।”

स्थानीय प्रेमप्रसाद शर्माले बजारमा अन्य सामान विक्री नहुँदा यस वर्ष भेडाच्याङ्ग्रा किनेर दसैँ बनाउन सक्ने अवस्था नरहेको बताउनुहुन्छ । पहिलेको तुलनामा बजारमा हुने खाद्यान्न तथा फेन्सी सामानको मूल्य आकाशिएको र व्यापार कम हुँदा पोहोर परार सालको जस्तो हर्षोल्लास नभएको शर्मा बताउनुहुन्छ । महङ्गी र घट्दो व्यापारका कारण सामान्य परिवारले भेडाच्याङ्ग्रा किनेर दसैँ मनाउने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

“तीन/चार वर्ष अगाडि त बजारमा किनेमेल गर्ने मान्छेको भीड हुन्थ्यो, अहिले बजार हेर्नुहोस् त कस्तो सुनसान छ, बजारका सामान व्यापार भएको किसानका भेडाच्याङ्ग्रा व्यापार हुन्छन्, बजारको अवस्था यस्तो छ, कसरी भेडच्याङ्गा किनमेल हुन्छ, त्यसमाथि महङ्गी” उहाँले भन्नुभयो - “आर्थिम मन्दीले धेरै तिर समस्या पुर्‍याएको छ, यसपालीको दसैँ कुखुराकै मासुले मनाउने ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?