धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका अरू केही नयाँ फाइल छिट्टै खुल्ने उद्घोष गर्नुभएको छ । कैलालीको धनगढीमा सोमबार समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारको नयाँ फाइल खोल्न लागेको बताउनुभएको हो । ‘अहिले धेरै बोल्न मिल्दैन, अरू पनि केही फाइल छिट्टै खुल्दैछन्, सरकारले भ्रष्ट तत्वका विरुद्ध एकपछि अर्को फाइल खोल्दैछ,’ प्रचण्डले भन्नुभयो । सरकार गठन भएदेखि नै सुशासनको पक्षमा काम गरिरहेको दाबीसमेत उहाँले गर्नुभयो ।
नक्कली शरणार्थी, ललितानिवास र सुन तस्करी सम्बन्धमा सरकारले अनुसन्धान गरेर एउटा निष्कर्षमा पु¥याएको प्रचण्डले बताउनुभयो । विगतमा भ्रष्टाचारमा पल्केकाहरूले अहिलेको सरकारलाई ढाल्न खोजेको आरोपसमेत उहाँले लगाउनुभयो । ‘ओम्नी सबैलाई थाहा छ, यती काण्ड सबैलाई थाहा भएको छ,’ प्रचण्डले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको आरोपमा कर्मचारीहरू पक्राउ परेकाले निर्णय गर्न कर्मचारीहरू हच्किएको पनि उल्लेख गर्नुभयो । ‘कर्मचारीहरू अलि कति पनि जोखिम मोल्न तयार छैनन्, कर्मचारीमा आतंक छ । मैले तपाईंहरू अगाडि बढ्नुस्, संरक्षण सरकारले गर्छभन्दा पनि मानिरहेका छैनन्,’ प्रचण्डले भन्नुभयो ।
उहाँले केपी ओली रियल एमाले नभएको टिप्पणी गर्नुभयो । ‘अहिले जसले एमालेको नेतृत्व गर्दै हुनुहुन्छ उहाँ रियल एमाले नै होइन, माधव नेपाल त्यो बेला एमाले अध्यक्ष नभएको भए अहिले भएको एमाले एमाले रहने थिएन’, उहाँले भन्नुभयो । युद्धकालीन अवस्थाको स्मरण गर्दै उहाँले अहिलेको नेतृत्व तत्कालीन अवस्थामा भएको भए अहिलेको परिवर्तन सम्भव हुन नसक्ने प्रचण्डले बताउनुभयो । अहिले पनि जनताको उपलब्धि गुम्ने खतरामा रहेको प्रचण्डको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले इजरायलमा बेपत्ता कञ्चनपुरका विपीन जोशीको खोजी कार्य भइरहेको बताउनुभयो । बेपत्ता बिपिनको खोजी कार्य तीव्र पारिएको उहाँले बताउनु भएको हो । इजरायललगायत वरिपरिका देशमा पनि बिपिनको खोजी भइरहेको उहाँको भनाइ थियो ।
‘कोशीमा एमालेले गरेको चलखेल करेक्सन गर्छौं’
प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेश सरकारमा भएको एमालेको सहभागिता करेक्सन हुने बताउनुभयो । कांग्रेसको असन्तुष्ट गुट र एमालेको गठबन्धन बन्नु लाजमर्दो विषय भएको उहाँले टिप्पणी गर्नुभयोे । ‘कोशीमा दुईवटा गठबन्धन बने, एउटा हाम्रो । अर्काे एमाले र कांग्रेस असन्तुष्टको । त्यसपछि धेरै मिहिनेत गरेर यो गठबन्धनको बारेमा दृढ छौं भनेर कमिटमेन्टसहित हस्ताक्षर ग¥यौं’ प्रचण्डले भन्नुभयोे, ‘एमालेले गरेको चलखेल त्यही रोकियो भनेको त, फेरि भयो । एमालेले मन्त्री छिराइहालेछन्, त्यो करेक्सन हुन्छ । जित्नलाई यही गठबन्धनले जित्छ ।’
प्रचण्डले ठूला पार्टीभित्रको डायानामिक अचम्मको रहेको बताउनुभयो । ‘ठूला पार्टीभित्र अचम्मको डाइनामिक्स छ, एमालेभित्र पहिलो चोटि ठूलठूला चिरा परेको, त्यसलाई सदुपयोग गर्न सकिन्छ । कांग्रेसपार्टी हो कि पार्टी हो कि मञ्च हो बुझ्नै गाह्रो छ’, प्रचण्डले भन्नुभयोे ।
समाजवादी मोर्चा तयार भएको देखेपछि केही पार्टी तर्सिएः नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा तयार भएको देखेपछि केही पार्टी तर्सिएको टिप्पणी गर्नुभएको छ । कैलालीको धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको सन्देश सभामा अध्यक्ष नेपालले चार दल एक ठाउँमा आएर समाजवादी मोर्चा तयार गर्दा देशमा तरंग सिर्जना भएको र देशका मै हुँ भन्ने केही पार्टीको सातो गएको टिप्पणी गर्नु भएको हो । उहाँले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष नेपालले पहिलो चरणमा सन्देशसभा सम्पन्न भए पनि यसपछि जिल्लास्तरसम्म यस्तो अभियान सुरु गर्ने बताउनुभयो । देशमा रोजगारी नभएर विदेश जानेहरूको संख्या बढिरहेका प्रतिचिन्ता व्यक्त गर्दै सरकार यो विषयमा गम्भीर बन्नुपर्नेमा नेपालको जोड दिनुभयो । ‘युवाहरू विदेशमा भौँतारिरहेका छन् । घरघरमा बूढापाकाहरूमात्रै छन् । देशमा रोजगारी छैन’, उहाँले भन्नुभयो । देशी विदेशी शक्तिहरूबाट जोगिएर देशको स्वाधीनता रक्षा गर्नुपर्ने आजको आवश्यकता रहेको नेपालले बताउनुभयो । उहाँले अहिले गठबन्धनको विकल्प नभएको पनि बताउनुभयो । गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने नेपालको दाबी थियो । उहाँले समाजवादी मोर्चा गठन पनि कांग्रेस रुष्ट नभएर खुशी भएको बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र खतरामाः यादव
जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरीलाई रिहा गर्दा थारू नागरिकहरूको समस्या हल नभएको बताउनुभएको छ । कैलालीको धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको सन्देशसभामा बोल्दै उहाँले रेशमलाई रिहा गरेर जनताका समस्या हल नहुने बताउनुभयो । ‘जेलबाट रेशम चौधरीलाई रिहा ग¥यौं तर, थारूहरूको समस्या हल भएको छैन । सुकुम्बासीहरूका समस्या हल भएको छैन । किसानका समस्या हल भएका छैनन् उहाँले भन्नुभयो, ‘गरिबी र बेरोजगारी बढ्दो अवस्थामा । व्यवस्था बदलियो तर, अवस्था बदलिएको छैन । अब हामीले जनताको अवस्था बदल्नुपर्छ,’ यादवले भन्नुभयो ।
उहाँले विभिन्न कारण अहिलेसम्मको सबैभन्दा ठूला उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताउनुभयो । ‘नेपालमा जातीय द्वन्द्व फैलाउने सद्भाव र एकता भएको मुलुकमा धार्मिक द्वन्द्व फैलाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने खेल भइरहेको छ । यसलाई संस्थापन गर्नु ठूलो चुनौती छ’, उहाँले भन्नुभयो, ‘हाम्रो गल्तीले लोकतन्त्र गुम्न सक्छ । अरूलाई दोष दिएर बस्न सकिँदैन ।’ सरकार सदन र सडकबाट गणतन्त्रविरोधी शक्तिलाई पाखा लगाउनुपर्ने र कानुन बनाएर संघीय गणतन्त्रलाई संस्थागत गर्नुपर्ने दाइत्व रहेको यादवको भनाइ थियो ।
मुलुक इतिहासको सर्वाधिक जटिल मोडमाः विप्लव
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक इतिहासको सर्वाधिक जटिल मोडमा रहेको बताउनुभएको छ । उहाँले विश्वको भूराजनीति र बाछिटाहरूबाट नेपालमा प्रभाव परेको र देश जटिल मोडमा रहेको बताउनुभयो । नेपाली जनतालाई स्वतन्त्रता, समानता र स्वाधीनता चाहिएको भन्दै उहाँले दलाल र पुँजीपतिहरूले सत्ता कब्जा गरेको बताउनुभयो । ‘जसले क्रान्ति ग¥यो, ती मान्छेहरू लज्जित भएका छन् । दलालहरू हावी भएका छन्’, उहाँले भन्नुभयो, ‘नेपालमा सैन्य अखडा बनाउने काम भइरहेको छ । भारतमा कहीँ ठाउँ पूजा गर्न पनि नेपाल पाउनुपर्ने भएको छ ।’ समाजवादी मोर्चालाई अझै बलियो बनाउनुपर्नेमा उहाँको जोड थियो ।
एमालेको ‘मिसन–०८४’ एकल बहुमतको सरकारः ओली
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन–२०८४ एकल बहुमतको सरकार रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताउनुभएको हो । जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे उक्त मिसन असम्भव नरहेको ओलीको भनाइ छ । उहाँले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताउनुभयो ।
‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौं । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार,’ उहाँले भन्नुभयो । कांग्रेसले आफूलाई अद्यावधिक गर्न नसकेको पनि अध्यक्ष ओलीको आरोप छ ।’ आफूलाई अध्यावधिक गर्न सकेन भने बूढो हुन्छ । हामी नेपाली कांग्रेसलाई देखिरहेका छौं, पार्टी कसरी बूढो हुन्छभन्दा नेपाली कांग्रेस जसरी । त्यो देखिएको छ । नेपाली कांग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ नीति छैन,’ उहाँले भन्नुभयोे । अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता