माछा मारेर जीविकोपार्जन गर्दै आएका मुसहर समुदाय वैकल्पिक पेसा रोज्दै

रासस
रासस
Read Time = 5 mins

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-७ मुसहर बस्तीका १८ घर मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् ।

नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका मुसहर समुदाय माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् । केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने गर्नुभएको छ । “वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ, तरकारी बेचेर राम्रै कमाइ भएको छ”, उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउको सानो घर र घरनजिकको सामूहिक प्लटमा आफैँले फलाएका स्थानीय जातका तरकारी बेच्ने बमबहादुरकहाँ ग्राहक झुम्मिने गरेका छन् । उहाँले लुँडे, खोले साग, फर्सीको मुन्टा, स्थानीय जातको खुर्सानी, केरुङ साग, मकै, बोडी र ताजा निगुरो बेच्नुहुन्छ । कावासोती हाटबजारमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार तीन दिन बमबहादुर साइकलमा तरकारी बोकेर हाट लाउन जाने गर्नुभएको छ ।

“नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएको हाम्रो परिवार अहिले तरकारी बेच्न हाटबजार आउने गरेका छौँ”, उहाँले भन्नुभयो, “पुगेसम्म त आफैँले उत्पादन गरेका तरकारी बेच्छु, व्यापार त गर्नैपर्छ कहिलेकाहीँ स्थानीय उत्पादन पनि खरिद गरेर बेच्ने गरेको छु ।”

ADVERTISEMENT

पुख्र्यौली पेसामा सङ्कट आउन थालेपछि आफूहरू वैकल्पिक आयआर्जनको बाटोतर्फ लागेको स्थानीय रमिया मुसहरले बताउभयो । “हुन त हाम्रो परम्परागत पेसा माछा मार्ने नै हो तर यो पेसामा समस्या आउन थाल्यो, नदीमा माछा पाइन छाड्यो”, उहाँले भन्नुभयो, “निकुञ्जको निगरानी पनि बढ्दै गयो, गैँडा, बाघजस्ता जङ्गली जनावरको जोखिमसँगै मुसहर समुदाय पेसा परिवर्तनतर्फ लागेका हौँ ।”

पछिल्लो समय कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आउनुभएका स्थानीय धर्मबहादुर मुसहर मछुवारी पेसाभन्दा खेती किसानीले नै परिवारमा केही खुसीयाली थपिएको बताउनुभयो । केही मुसहर परिवारले बस्ती छेउको खाली जग्गामा खनिएको माछापोखरीमा रहु, नैनी, कमनलगायतका उन्नत जातका माछा पालेर थप आयआर्जन पनि गर्ने गरेका छन् । माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेरमात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्ने क्रम बढेको स्थानीय सन्तबहादुर माझीले बताउनुभयो ।

“माझी, मुसहर र बोटे समुदायका मानिस अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारीमा र कतिपय सिकर्मी, डकर्मी पेसातर्फ उन्मुख भएका छन्”, उहाँले भन्नुभयो, “पहिले–पहिले तराई क्षेत्रमा आवादी खुले पनि राज्यसँगको पहुँच नहुँदा जग्गा, जमिन जोड्ने कुराबाट बञ्चित मुसहर समुदाय कतिपय स्थानीय बस्तीका किनारमा झन्डै दुई पुस्तादेखि भूमिहीन अवस्थामै छन् ।”

नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो विपन्न समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयासमा रहे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *