
काठमाडौं । चार महिना अन्तरमा मनाङ एयरको दोस्रो हेलिकप्टर दुर्घटनामा परेको छ । ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार बिहान ७ बजेर २५ मिनेटमा सोलुखुम्बुको लोबुचेको हेलिप्याडनजिकै दुर्घटनाग्रस्त भएको हो । लुक्लामा सामान झारेर लोबुचेमा पर्यटक लिन बिहान ७ बजेर १३ मिनेटमा हेलिकप्टर उडेको थियो । हेलिकप्टरमा एकजना चालक मात्र थिए । दुर्घटनामा पाइलट प्रकाश सेडाइँ गम्भीर घाइते हुनुभएको छ ।
हेलिकप्टर ल्याण्डिङका क्रममा असन्तुलित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको त्रिभुुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताउनुभयो । हेलिकप्टर जलेका कारण पाइलट सेडाइँको शरीरको केही भाग जलेको उहाँले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । उहाँको अहिले काठमाडौंको हृयाम्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत अध्ययनको रिपोर्ट भने आउन बाँकी छ ।
यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा दुईपटक दुर्घटनामा परेपछि मनाङ एयरको एओसी नै निलम्बन गरेको हो । पटक–पटक भएको दुर्घटनाका कारण कम्पनीको सम्पूर्ण हेलिकप्टरको अवस्था चेकजाँच गर्ने र प्रक्रिया पूरा नभएको वा त्रुटि भेटिएमा सेवा सञ्चालन प्रमाणपत्र खारेज गर्ने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले बताउनुभयो ।
पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई दुर्घटना न्यूनीकरणका लागि विभिन्न नियम ल्याइरहेको छ । तर, चार महिनामै दुईवटा दुर्घटना हुनुलाई पनि गम्भीरसाथ हेलिकप्टर कम्पनीहरूले नलिएको पुष्टि भएको नाम नखोल्ने सर्तमा प्राधिकरणका एक उच्च अधिकारीले हिमालय टाइम्सलाई बताउनुभयो । ‘हामीले ल्याएका नियम पालनाभन्दा विरोध गर्न बढी कम्पनी सञ्चालकहरू लागिरहेका हुन्छन्,’ ती अधिकारीले भन्नुभयो, ‘दुर्घटना हुँदा प्राधिकरणले मात्र होइन, मुलुकलाई नै ठूलो क्षति पुगिरहेको हुन्छ ।’
यसअघि २६ असारमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामाजुरा क्षेत्रमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यसअघि २२ वैशाखमा अरुण तेस्रो जलविद्युत् आयोजनाको सामग्री झारेर फर्किंदा सिम्रिक एयरको हेलिकप्टर संखुवासभाको भोटखोला गाउँपालिकाको सिप्रङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भयो ।
दुर्घटनामा पाइलटसहित चारजना यात्रु घाइते भएका थिए । गत २५ चैतमा एयर डाइनेस्टीको हेलिकप्टर ९ एन–एजेडी हृयाम्स अस्पतालको छतमा अवतरण गर्ने क्रममा ‘टेल स्ट्राइक’ भएको थियो । हेलिकप्टरको टेल रोटर मात्र भाँचिएको हुँदा पाइलटलाई कुनै चोटपटक लागेको थिएन । अर्को दिन २६ चैतमा हेली एभरेस्टको हेलिकप्टर धौलागिरि बेसक्याम्पमा दुर्घटनामा परेको थियो । कार्गो बोकेको हेलिकप्टर हवाहुरीका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा क्याप्टेन प्रिया अधिकारी सामान्य घाइते हुनुभएको थियो ।
अहिलेसम्म विभिन्न स्थानमा ४१ हेलिकप्टर दुर्घटनामा परेका छन्, जसमा सयजनाभन्दा बढीको मृत्यु भएको छ । कुल हेलिकप्टर दुर्घटनामध्ये २० दुर्घटनामा मानवीय क्षति भएको छ भने २१ दुर्घटनामा पाइलट र यात्रु सामान्य घाइते भएका छन् । मनाङ एयर हिमाली क्षेत्रमा पर्यटकको उद्धारमा प्रख्यात मानिन्छ ।
४१ हेलिकप्टर दुर्घटनामा १०३ को मृत्यु, अनुसन्धान रहस्यमय
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ११ वर्षमा नेपालमा ४१ वटा हेलिकप्टर दुर्घटना भएका छन् । दुर्घटनामा परी १०३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म भएका हेलिकप्टर दुर्घटनामा ३० जनाभन्दा बढी विभिन्न देशका नागरिकले ज्यान गुमाएको उड्डयन प्राधिकरणले जनाएको छ । विशेष गरी सरसामानको ढुवानी, विपद् उद्धार, विकास परियोजनहरूको सर्वेक्षण, हिमाल अवलोकन जस्ता काममा हेलिकप्टर प्रयोग हुँदै आएको छ । सेवाग्राहीको आवश्यकताअनुसार विभिन्न प्रयोजनका लागि हेलिकप्टरले सेवा दिँदै आएको छ । तर, नेपालको हेलिकप्टर सेवा असुरक्षित हुँदै जाँदा दुर्घटना बढ्दो क्रममा छ ।
भौगोलिक हिसाबले नेपालमा हेलिकप्टर उडान सुरक्षित हुन सकिरहेको छैन । भने, पर्यटनदेखि वृत्तचित्र तथा चलचित्र निर्माणको क्रममा र मेला महोत्सवमा पनि हेलिकप्टरको प्रयोग गरिन्छ । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूले पनि हेलिकप्टर प्रयोग गरी विभिन्न कार्यक्रम जाने गरेका छन् । उड्डयन प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा पाँच सयपटक शीर्ष नेताहरूले सार्वजनिक कार्यक्रममा हेलिकप्टरमार्फत उडान भरेका छन् । सरकारको नेतृत्व गरेका प्रधानमन्त्री, मन्त्री र अन्य नेता तीन सय पटकभन्दा धेरै उडान भरेको उड्डयन प्राधिकरणको तथ्यांकमा छ ।
हेलिकप्टर दुर्घटनाको इतिहास
नेपालको हवाई इतिहासमा ४१ वटा हेलिकप्टर दुर्घटना भएका छन् । नेपाली आकाशमा अहिलेसम्म भएका ४१ वटा हेलिकप्टर दुर्घटनामध्ये सबैभन्दा ठूलो ताप्लेजुङको घुन्सामा सन् २००६ मा भएको थियो । श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा बहालवाला वन राज्यमन्त्री गोपाल राई, संरक्षणविद् हर्क गुरुङसहित त्यसमा सवार सबै २४ जनाको मृत्यु भयो । यसैगरी, सन् २०१९ मा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभयो । त्यतिबेला नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभया तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो ।
नेपालको इतिहासमा पहिलोपटक सन् १९७९ मा लाङटाङमा हेलिकप्टर दुर्घटना भएको थियो । लाङटाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । दोस्रोपटक सन् १९९७ मा कर्णाली एयरको हेलिकप्टर दुर्घटना हुँदा एकजनाले ज्यान गुमाए । यस्तै, सन् १९९८मा एसियन एयरआइन्सको हेलिकप्टर मूलखर्कमा दुर्घटना हुँदा तीन जनाको ज्यान गयो ।
सन् २००१ मा रारा तालमा फिस्टेलको हेलिकप्टर खस्यो । त्यतिबेला पनि चार जनाको मृत्यु भयो । फेरि सन् २००२ मा एसियन एयरकै हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो । सन् २००३ मा सिम्रिक एयरको हेलिकप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटनामा पर्दा दुई जनाको ज्यान गयो । २००५ मा रामेछापको ठोसेमा हेली हान्सको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाउनुपर्यो।
सन् २००६ मा श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा बहालवाला वन राज्यमन्त्री गोपाल राई, संरक्षणविद् हर्क गुरुङसहित त्यसमा सवार सबै २४ जनाको मृत्यु भयो । यस्तै, २०१० मा फिस्टेल एयरको हेलिकप्टर अमादब्लम हिमालमा दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए । सन् २०१३ र २०१४ मा पनि फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा एक/एक जनाले ज्यान गुमाएका थिए । दुर्घटना सिमिकोट र सिन्धुपाल्चोकमा भएको थियो । सन् २०१५मा माउन्टेन हेलीको हेलिकप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा खस्दा चार जनाको ज्यान गयो ।
२०१५ मै भूकम्प प्रभावितको उद्धारका लागि गएको अमेरिकी सेनाको हेलिकप्टर दोलखाको घोर्थलीमा दुर्घटना हुँदा अमेरिकी सैनिकसहित १३ जनाको मृत्यु भयो । यता, २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भयो । यस्तै, २०१८ मा हिल्सामा मनाङ एयरको होलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भयो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मैलुङमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २०२३ मा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामाजुरा क्षेत्रमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
हेलिप्याडको समस्या
नेपालमा हेलिकप्टर दुर्घटना हुनुको प्रमुख कारण नै प्राविधिक विषय भएको प्रश्न उठ्ने गरेको छ । देशमा हेलिकप्टर दुर्घटना बढ्दै गएपछि छानविन आयोग गठन भएको थियो । तर, त्यसको कारण भने खुल्दैन । भूगोल र मौसमलाई गम्भीरतापूर्वक ख्याल गरेर हेलिकप्टर उडाए दुर्घटना कम गर्न सकिने प्रतिवेदनमा औँल्याइएको भए पनि सोहीअनुसार कार्यान्वयन गरेको पाइँदैन । हेलिकप्टर पाइलटले आँखाले देखेको भूगोलको आधारमा उडाउनुपर्ने यातायात साधन भएका कारण सानो गल्ती दुर्घटना हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता जगनाथ निरौलाले जानकारी दिनुभयो ।
हेलिकप्टर पाइलटले प्रविधिक विषयमा राम्रो जानकारी, मौसम र नेपालमा फेरिने मौसमका कारण पनि दुर्घटना हुने गरेको उहाँले बताउनुभयो । ‘भौगोलिक र मौसमको कारणले उडानमा बढी जोखिम पनि यस्तै क्षेत्रमा बढी हुन्छ । कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत र दुर्घटनाका बेला उद्धारका तथा ढुवानीमा पनि हेलिकप्टर सबैभन्दा प्रभावकारी हुन्छ ।’ उहाँले भन्नुभयो । हेलिप्याडहरूमा सुधार गरेर मानवीय कम, प्रविधिको भर बढी बनाएर दुर्घटना न्यून गर्न सकिने र यो विषयमा अध्ययन भइरहेको उहाँको भनाइ छ । नेपालको भौगोलिक बनावट र मौसमको ख्याल नगरी उडान भर्ने प्रवृत्तिका कारण दुर्घटना बढ्दै गएको निष्कर्ष यस क्षेत्रका विज्ञहरूको आरोप छ ।
प्राविधिक पक्ष कमजोर
हेलिकप्टर उडानअघि र पछि नियमित परीक्षण नगर्ने हेलिकप्टरहरू नै दुर्घटनामा पर्छन् । प्राधिकरणका अनुसार एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्ने, कुहिरोभित्र नछिर्ने मापदण्ड पालना नगर्ने, जमिनकै नजिक हेलिकप्टर उडाएर हवाई गतिविधि गर्ने र तोकिएको भन्दाबढी भारी बोकेका हेलिकप्टर दुर्घटनामा परेका छन् । नेपालमा हेलिकप्टर दुर्घटना हुनुको प्रमुख कारण नै प्राविधिक विषय भएको यस क्षेत्रका विज्ञहरू बताउँछन् ।
दुर्गम भेगमा पर्यटकीय आकर्षणका कारण पनि हेलिकप्टर प्रयोग बढेको छ । पर्यटकीय सिजनमा खुम्बु, अन्नपूर्ण र हुम्लाको सिमकोट क्षेत्रमा अधिक हेलिकप्टर उडान हुन्छ । हेलिकप्टरले त हेलिप्याड नभएको स्थानमासमेत ल्याण्ड गरी बिरामीको उद्धार गर्नुपर्ने हुन्छ । नेपालमा सुविधा सम्पन्न हेलिप्याड पनि छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच