काठमाडौं । रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने बहस हुँदै आए पनि रेमिट्यान्सको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनअनुसार उक्त रकममध्ये दैनिक उपभोगमा सबैभन्दा बढी अर्थात् ५८.७८ प्रतिशत खर्च हुने गरेकोे छ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २२.४८ प्रतिशत, ऋण तिर्न १०.७ प्रतिशत र मनोरञ्जन तथा अन्य क्षेत्रमा ८.६७ प्रतिशत खर्च हुने गरेको छ ।
दैनिक उपभोगमा सबैभन्दा बढी अर्थात् ५८.७८, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २२.४८, ऋण तिर्न १०.७ र मनोरञ्जन तथा अन्य क्षेत्रमा ८.६७ प्रतिशत खर्च हुने गरेको छ ।
लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका तीन सय ८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ । अध्ययनमा समेटिएका परिवारमध्ये ९६.६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको पाइएको छ भने ९६.०८ प्रतिशत परिवारको चाडपर्व, मनोरञ्जन, सामाजिक खर्चसमेत बढेको छ ।
रेमिट्यान्स रकमबाट व्यापार व्यवसायमा लगानी गर्ने ६८.२१ प्रतिशत, घरघडेरीमा लगानी गर्ने ६५.८० प्रतिशत र गरगहना खरिद गर्ने ६३.१९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएकाको लैंगिक हिसाबले विश्लेषण गर्दा पुरुष ९४ प्रतिशत तथा महिला छ प्रतिशत रहेका छन् भने वैवाहिक अवस्थाका आधारमा विवाहित ८५.९० प्रतिशत र अविवाहित १४.१० प्रतिशत रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/०८० मा नेपालबाट श्रम स्वीकृति लिनेको संख्या सात लाख ७१ हजार तीन सय २७ रहेको, लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने एक लाख ३६ हजार नौ सय ८४ रहेका छन् । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स २४.२८ प्रतिशत र सबैभन्दा कम ओमन तथा बहराइनमा १.८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन् । अध्ययनमा समेटिएका परिवारमध्ये वैदेशिक रोजगारीअन्तर्गत पाँच वर्षभन्दा कम अवधि काम गर्ने ३६.८२ प्रतिशत र पाँच वर्षभन्दा बढी काम गर्ने ६३.१८ प्रतिशत रहेका छन् भने आर्थिक अवस्था सुधार्न वैदेशिक रोजगारीमा जानुपर्ने प्रमुख कारण भएको ४१.८० प्रतिशतले बताएका छन् । वैदेशिक रोजगारीमा संलग्नमध्ये सीपमूलक तालिम नलिई जाने ७६ प्रतिशत रहेका छन् । वैदेशिक रोजगारीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने ४२.३० प्रतिशत, पाँचदेखि १० लाखसम्म ३९.६९ प्रतिशत र १० लाखभन्दा माथि आयआर्जन गर्ने १८.१ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका अधिकांशले बैंकिङ माध्यमबाट रेमिट्यान्स पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगारमा रहेका ९७.६५ प्रतिशतले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने गरेका हुन् । बैैंकिङ च्यानलभन्दा बाहिरबाट रेमिट्यान्स पठाउने श्रमिकको हिस्सा २.३५ प्रतिशतमात्रै रहेको छ ।
वैदेशिक रोजगारीमा गएका परिवारको स्वास्थ्य बिमामा आबद्धता गुल्मी जिल्लामा सबैभन्दा धेरै ६९.२३ र रोल्पामा सबैभन्दा कम २१.०५ प्रतिशत रहेको छ । ३७.९६ प्रतिशत परिवारको वैदेशिक रोजगारीमा गएपछि सम्बन्ध सुधार भएको देखिएको देखिएको छ भने ५४.२८ प्रतिशत परिवारको सम्बन्ध यथावत् र ७.७६ प्रतिशत सम्बन्ध बिग्रिएको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीमा जानुपूर्व लघुवित्त, सहकारी तथा अन्य संघ-संस्थामा पारिवारिक सदस्यको आबद्धता ३७.३४ प्रतिशत रहेकोमा बढेर ६४.२३ प्रतिशत पुगेको देखिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements