जेरूसेलम । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ । ‘गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्’, संयुक्त राष्ट्र संघको मानवीय निकाय ओसीएचएले भनेको छ । ओसीएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपत्कालीन आश्रयस्थल तोकिएको छ ।
हमासको लडाकु समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौं रकेट प्रहार गरेपछि इजरायलले शनिबारदेखि गाजामा सयौं हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लुए) का प्रवक्ता अदनान अबु हसनाले यो संख्या अझै बढ्ने अपेक्षा गरेको बताउनुभएको छ ।
‘यी विद्यालयमा बिजुली छ, हामी उनीहरूलाई खाना, सफा पानी, मनोवैज्ञानिक सहयोग र चिकित्सा उपचार प्रदान गर्छौं’, उहाँले एएफपीसँग भन्नुभयो । गाजामा २३ लाख प्यालेस्टिनी छन्, उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन् । रासस/एएफपी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता