कठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका १३ जना पक्राउ परेका छन् ।
राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न लगायत विषयमा केन्द्रीत रहि आज मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको थियो ।
उक्त प्रदर्शनमाउनीहरूलाई प्रहरीले शीतल निवासबाट पक्राउ गरेको हो । प्रदर्शनको क्रममा १३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी लगायत छन् ।












