विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने हुुुनुभएको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही आज (२० गते) विश्वासको मत लिने समझदारी जुटेको हो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बन्नुभएको थियो । संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नु पर्ने हुन्छ । सोही व्यवस्थाबमोजिम कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो ।
भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष समेतको मत जोडेको विषयलाई गैरसंवैधानिक करार दिँदै सर्वोच्च अदालतले भदौ २१ गते बदर गरिदिएको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त हुनुभएका उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षको पनि मत खसेपछि सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो । त्यसपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता कार्की मुख्यमन्त्री बन्नुभएको थियो ।
संविधानको धारा १६८ मा प्रदेश मन्त्रिपरिषद्को गठन बारेको व्यवस्थामा तेस्रो विकल्पका रूपमा कार्कीले विश्वासको मत लिन लाग्नुभएको छ । उक्त धाराको उपधारा (३) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ भन्ने व्यस्थाअनुरूप सबैभन्दा ठूलो दलको हिसाबले कार्कीले मुख्यमन्त्रीका लागि विश्वासको मत लिन लाग्नुभएको हो ।
तर, विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (५) को व्यवस्था अपनाइनेछ । उक्त व्यवस्थाबमोजिम कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ भन्ने एउटै विकल्प बाँकी रहनेछ । तर, त्यो विकल्पबाट पनि विश्वासको मत पाउने सम्भावना न्यून छ । त्यसपछिको बाटो भनेकै विघटनको बाटो बाँकी रहन्छ । उपधारा (७) मा उल्लेख छ, ‘उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभालाई विघटन गरी छ महिनाभित्र अर्को प्रदेशसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ ।’
विश्वासको मत पाउनै मुस्किल
कार्कीलाई विश्वासको मत पाउन भने मुस्किल हुने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद चाहिन्छ । प्रदेशसभामा एमालेका ४० सांसद छन् । तर, उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्दा मतदान गर्न मिल्दैन । दनुवारले मत नहालेपछि एमालेका ३९ मात्रै सांसद कार्कीको पक्षमा हुनेछन् ।
एमालेको गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि छ । तर, राप्रपाले कार्कीले विश्वासको मत पाउने आधार भएमा मात्र साथ दिने जनाएको छ । राप्रपाले मत दिँदा पनि कार्कीको पक्षमा ४५ मत मात्रै हुन्छ । त्यसैले आफूहरूले मत दिए पनि सरकार नटिक्ने भएपछि नदिने मनस्थितिमा पुुगेको जानकारी दिँदै यसअघि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताइसक्नु भएको छ । यसअघि प्रदेश सरकारमा सहयात्री बनेको राप्रपाले योपटक भने विश्वासको मत नदिने भएको हो ।
कार्कीले यसअघि विश्वासको मतका लागि एकीकृत समाजवादीसँग पनि संवाद गरेको थियो । एकीकृत समाजवादी पार्टी कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा सहभागी छ । बुधबार मात्रै समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको गठबन्धनबाट दायाँबायाँ नहुने स्पष्ट पारिसक्नु भएको छ । यसर्थ कार्कीले विश्वासको मत लिन कठिन देखिएको छ ।
एमाले नेतृत्वमा बन्ने सरकारसँग भन्दा गठबन्धनसँग बरु एक मत बढी छ । कोशी प्रदेशसभामा कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को चार र जनता समाजवादी पार्टी (जसपा) का एक सांसद छन् ।
४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनपछि कोशीमा एमाले नेतृत्वमा सरकार बनेको थियो । एमाले सरकारलाई माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साथ दिएका थिए । तर, माओवादी र जनता समाजवादी पार्टीले एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि एमाले नेता कार्की मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको थियो ।
त्यसपछि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बन्नुभएको थियो । थापाले प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिको समेत समर्थनमा विश्वासको मत पाउनु असंवैधानिक भनी सर्वोच्चले फैसला गरेपछि पदमुक्त हुनुभएको थियो । त्यसपछि प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नुभएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता