‘उच्च गतिमा अर्थतन्त्र विस्तारको सम्भावना’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

काठमाडौं । विश्व बैंकले आगामी दिनमा नेपालको आर्थिक विस्तार उच्च गतिमा हुने सम्भावना रहेको जनाएको छ । बिहीबार काठमाडौंंमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने र आगामी दिनमा वृद्धिदर उच्च गतिमा हुने जनाएको हो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै विश्व बैंकले दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट प्रतिवेदन सार्वजनिक गरेको हो । विश्व बैंकले ६/६ महिनामा यस्तो प्रतिवेदन सार्वजनिक गर्छ । आयात प्रतिबन्ध हटाइनु, पर्यटनमा फर्किंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः खुकुलोपनलगायत कारण नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२५ मा नेपालको अर्थतन्त्र पाँच प्रतिशतले विस्तार हुने उसको अनुमान छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले आगामी वर्षहरूमा आर्थिक वृद्धि हुँदै जाने बताउनुभयो । नेपालमा उच्च आर्थिक सम्भावना रहेको र नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेकोमा खुसी व्यक्त गर्दै उहाँले विश्व बैंकले विश्वसनीय तथ्यांकका आधारमा प्रतिवेदन तयार पारेको जानकारी गराउनुभयो ।

विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत र आगामी दिनमा वृद्धिदर उच्च गतिमा हुने जनाएको हो । 

विश्व बैंकको दक्षिण एसियाली क्षेत्र हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्के ला ओनसोर्जले दक्षिण एसियामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, जलवायु परिवर्तन, चीनमा देखिएको मन्दी, प्राकृतिक प्रकोपका कारण मानिसहरू प्रभावित हुनु, आयात र निर्यातमा गरिएको प्रतिबन्ध, नयाँ विदेशी मुद्रामा प्रतिबन्धजस्ता कारण अर्थतन्त्रमा चुनौती थपिएको बताउनुभयो ।

ADVERTISEMENT

दक्षिण एसियाका अधिकांश देशमा निजी लगानीको कमजोर अवस्था रहेको भन्दै उहाँले वित्तीय चुनौती बढ्दै गएको बताउनुभयो । उच्च ऋण, न्यून आयको समस्या रहेकाले वित्तीय नीतिहरू धेरै बाध्यकारी हुन नसकेको उहाँको भनाइ थियो । विश्व बैंकका अर्थशास्त्री नयनकृष्ण जोसीले नेपालले ऊर्जा क्षेत्रमा राम्रो प्रगति गरिरहेको बताउनुभयो । गत वर्ष प्रसारण प्रणालीमा पाँच सय मेगावाट विद्युत् थपिएको र नेपालले भारतमा विद्युत् निर्यात गरिरहेको जानकारी गराउनुभयो । थोक र खुद्रा व्यापारमा आएको सुस्तताका कारण सन् २०२३ मा सेवा क्षेत्रको वृद्धिलाई सुस्त बनाएको, औसत उपभोक्ता मूल्य सात वर्षयताकै उच्च बिन्दुमा पुगेको, कम आयात र उच्च रेमिट्यान्सका कारण चालु खाता घाटा छ वर्षयताकै न्यूनस्तरमा रहेको उहाँले बताउनुभयो ।

नेपालमा अनिश्चितरूपमा हुने वर्षाले कृषि उत्पादनमा प्रभाव पार्न सक्ने, भारतले चामललगायत खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मूल्यवृद्धि बढ्न सक्ने समेत जोशीको भनाइ थियो । नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिनुका साथै वैदेशिक आकर्षण गर्न आफ्ना नीति परिवर्तन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले उत्पादकत्व, एक्सचेन्ज रेट र निर्यातका सम्बन्धमा भएको प्यानल डिस्कसनमा नेपाली विद्यालय शिक्षाको उत्पादकत्वसँग समन्वय नै गर्न नसकेको बताउनुभयो । सोही कारण नेपालको शिक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने उहाँको भनाइ थियो ।

लक्ष्मी सनराइज बैंककी प्रमुख बिजनेस अफिसर आरती राज्य लक्ष्मी रानाले आयात वृद्धि नहुनु र रेमिट्यान्स बढ्नु अर्थतन्त्रका लागि सकारात्मक भएको बताउनुभयो । जलविद्युत् क्षेत्रमा नेपालको प्रगति राम्रो भएको भन्दै उहाँले नेपालले भारतमा चालु वर्षमा मात्र पाँच अर्ब ४३ करोडभन्दा बढीको विद्युत् बेचेको उल्लेख गर्नुभयो । केन्द्रीय बैंकको नीतिअनुसार बैंकहरूले १० प्रतिशत जलविद्युत्मा लगानीसमेत गरेको रानाको भनाइ थियो ।

नेपालस्थित स्विट्जरल्याण्ड राजदूतावासकी कार्यक्रम म्यानेजर दोरोथी लोड्सचेरले नेपालको आर्थिक विकासका लागि प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । नेपाली शिक्षित युवाहरू रोजगारी र अवसरको खोजीमा भारतलगायत देशमा जाने गरेकाले आफ्नो बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने र शिक्षित युवालाई स्वदेशमै राख्नुपर्ने उहाँको सुझाव थियो ।

साउथ एसिया वाच अफ ट्रेडका कार्यकारी निर्देशक निर्देशक डा. पारस खरेलले उत्पादनमुखी क्षेत्रको प्रवद्र्धन गरेर निर्यातमा जोड दिनुपर्ने बताउनुभयो भने अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. पोषराज पाण्डेले भूपरिवेष्ठित मुलुक भएका कारण सामान आयात र निर्यात महँगो पर्ने गरेको भन्दै नेपाल स्तरोन्नतिको चरणमा रहेको उल्लेख गर्नुभयो । काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले हरित ऊर्जामा जोड दिनुपर्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज