काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन भएको छ । दोलखामा सञ्चालित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई एक कित्ता सेयर बराबर एक कित्ताको प्रतिसेयर सय रुपैयाँ अंकित दरका हकप्रद सेयर निष्कासन गरिरहेको छ ।
कम्पनीका संस्थापक नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरूले पाँच अर्ब ४० करोड नौ लाख रुपैयाँ चुक्ता गरेका हुन् ।
कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणबाट पाँच अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्नेछ । मंगलबारसम्ममा सर्वसाधारण सेयरधनीबाट दुर्ई अर्ब ८३ करोड अर्थात् ५५ प्रतिशत रकम संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम संकलन भइसकेको छ, सेयर भर्ने स्थानमा व्यापक भिडभाड देखिएको छ, बाँकी छ दिनमा अपेक्षाकृतरूपमै रकम संकलन हुने देखिएको छ ।’ हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म रहेको छ ।
१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको छ र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको दुई/दुई प्रतिशत संस्थापक सेयर रहेको छ । सेयर स्वामित्वअनुसार प्राधिकरणले चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २१ करोड १८ लाख र २१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयरबापतको रकम चुक्ता गरिसकेका छन् ।
कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ८.८४, दोलखावासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट पाँच अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्नेछ ।
जसअनुसार सञ्चय कोषका सञ्चयकर्ताले एक अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले एक अर्ब ५८ करोड ८५ लाख, दोलखावासीले एक अर्ब पाँच करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नुपर्नेछ । हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts