गन्दर्व पेसा संरक्षणमा चुनौती

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ ।

कर्मसँग दिक्दारै परियो
रुदा रुदै पोखरी भरियो

उमेरले भर्खर ४६ वर्ष टेके पनि बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्दर्वको सारङ्गीबाट निस्किएका धुनहरुले जीवनको उत्तरार्धको कथा बोल्दै थिए । विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्र होइन आफ्नै जीवनका कथालाई पनि सारङ्गी रेटेर गीत गाउँदै हिडेको ३५ वर्ष भन्दा बढी भयो ।

बाल्यकालदेखिनै परदेशिका गीतीकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष पहिले सारङ्गी रेटेर परिवार पाल्न मुस्किल भएपछि आफै परदेशिनु भयो । भारत पुगेर केही वर्ष सुरक्षागार्डको जागिर गरेपछि विष्णुका छोरा कमाउने भए, अनि विष्णुलाई आफ्नै पुख्र्यौली पेशाको माया जाग्यो । पछिल्लो २ वर्षदेखि विष्णु पुनः सारङ्गी रेट्दै हुनुहुन्छ ।

हिमाल चुच्चे टाकुरीमा सुन मेरो घर
खेती किसान केही छैन्, सारङ्गीको भर

सारङ्गीको धुनसँगै गीत मिसाएर विष्णुले आफ्नो बाध्यता बोल्नुहुन्छ । “गरेर खाने जग्गा जमिन छैन्, पेशा व्यवसाय गर्नलाई पूँजी छैन्, रोजगार गर्नलाई शिक्षा छैन्, सीप छैन्” उहाँले भन्नुभयो “सारङ्गी रेट्नु, गीत गाउँनु उहाँको रहर माध्य होइन्, बाध्यता हो ।”

सारङ्गी रेट्ने र गीत गाउने कला विष्णुका लागि ‘बाजे र बा’ ले छोडेर गएको पुख्यौंली सम्पत्ती हो । बा बाजेले सिकाएको सीपले अहिले भन्दा १० वर्ष पहिलेसम्म विष्णुले आफ्नो परिवार सजिलै पाल्नु हुन्थ्यो ।

ADVERTISEMENT

मंसिरमा मुरी–मुरी धान उठ्थ्यो, सिजन अनुसार प्रत्येक घरका इष्टहरुले २/४ झोता मकै दिन्थ्ये, माघमा कोदो, जेठ असारमा गहुँ, लाहुरे आउँदा कपडा र कम्मल उठाएर विष्णुको परिवार चल्थ्यो तर, आजभोली पहिले जस्तो आम्दानी नभएका्े विष्णुको भनाई छ । एउटा घरबाट एक मुठी चामल र रु.२० पनि मुस्किलले मिल्नेगरेको बताउदै उहाँले आफूले जस्तो दुख भावी पुस्ताले गर्न नपरोस भन्ने कामना गर्नुहुन्छ ।

सरकारले आफु जस्तै गन्दर्भ र उनिहरुका परिवारको संरक्षणको लागि चासो नदिएको उहाँको भनाई छ । स्थानीय जनप्रतिनिधिले आफ्नो समुदाय, कला र कलाकार बचाउनको लागि केही पनि नगरेको उहाँको गुनासो छ ।

‘हाम्रो त समुदाय नै लोप हुन थाल्यो, पेशा व्यवसाय संकटमा पर्यो, अन्य पेशा आउँदैन, रोजगार गर्न शिक्षा दिक्षा छैन् भनेर लिखित रुपमै वडा कार्यालयमा निवेदन लिएर गएका हौँ,’ विष्णुले भन्नुभयो ‘हामी, हाम्रो समुदाय र हाम्रो कला संस्कृतीको संरक्षणका लागि जनप्रतिनिधिले चासो दिएनन् ।’

विष्णुले सारङ्गी रेट्ने मात्र होइन्, बनाउँनु पनि हुन्छ । न्यूनतम ५ दिन लगाएर खिर्राको काठबाट बनाएको एउटा सारङ्गीको बिक्रि मुल्य २३ हजार पर्न आउँछ । तर, नयाँ पुस्तामा घट्दो पेसा प्रतिको आकर्षणले सीप भएपनि मारेर बास्नुपरेको उहाँको दुखेसो छ । सरकारले चासो नदिँदा नयाँ पुस्ताको आकर्षण नभएको सोही ठाउँका ६५ वर्षीय भद्रबहादुर गन्दर्वको भनाई छ । ‘हाम्रो बलेवामा मात्र २७ घर गन्दर्वका थिए, अहिले घटेर १७ भएका छन्’ भद्रबहादुरले भन्नुभयो ‘हामीले बाचुन्जेल पेट पाल्नुपर्ने बाध्यताले पेशा छोड्न नसकिने भयो, छोरा नातीले त बरु गिट्टी कुट्छन् यो पेशामा रुचि देखाएनन् ।

उहाँले गन्दर्वको जीवन नै सारङगी भएको बताउदै अरु केही गरौंला खाउँला भनेर सोचियन अहिले आएर बाध्यता भएको भद्रबहादुरले जानकारी दिनुभयो । गन्दर्वलाई स्थानीयले नेताले, जनप्रतिनिधिले समेत चासो नदेखाएको उहाँको गुनासो छ । भद्रबहादुरले पछिल्लो समय सारङ्गी रेट्न छोडिसक्नु भएको छ, उहाँले विष्णुलाई साथ दिदै आउनु भएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका वडा अध्यक्ष कोपिलामणी शर्माले अहिलेसम्म गन्दर्व समुदाय लक्षित कार्यक्रम र योजनाहरु नभएको भएपनि आगमी दिनमा उनिहरुका लागि योजना र कार्यक्रम ल्याईने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *