काठमाडौं । नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुस्करले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँंदै उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थसचिवको जिम्मेवारी दिएको छ । यो कुरा मैले निकै संवेदनशीलतासाथ मनन गरेको छु । राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौँ भन्ने विश्वास लिएको छु । लडेर-भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौँ ।’
उहाँले अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरबाट चुनौतीहरू देखापरेको भन्दै दृढ विश्वासका साथ काम गरे समाधान गर्न सकिने बताउनुभयो । अर्थसचिव पुस्करका अनुसार आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापनलगायतका विषय चुनौतीपूर्ण छन् । पुँजीबजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।
वित्त नीति र मौद्रिक नीतिका समन्वयात्मक कार्यान्वयनबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिनेछ । यसअघि पनि अर्थमन्त्रालयमा राजस्व सचिव र अर्थसचिवका रूपमा काम गरिसक्नुभएका अर्थसचिव पुस्करले भन्नुभयो, ‘हामीले नतिजामुखी काम गर्ने भनेको ‘टिम वर्क’ बाट हो । सबै साथीहरूमा कामप्रतिको लगाव छ । त्यसको सम्मान गर्दै थप जाँगरका साथ काम गर्न आग्रह गर्दछु, तपाईंहरूले व्यावसायिक, जिम्मेवार र उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता