असोज १० गतेदेखि फर्निचर एक्स्पो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । के हामी आत्मनिर्भर छौँ ? भन्ने नाराका साथ असोज १० गतेदेखि काठमाडौंकोे भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) आयोजना हुने भएको छ । आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले बिहीबार पत्रकार सम्मेलन गर्दै एक्स्पोबारे जानकारी दिएको हो । असोज १४ गतेसम्म हुने एक्स्पोका लागि यसअघि नै आयोजकले फर्नेक्सको इभेण्ट लञ्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुला गरिएकोमा अधिकांश स्टल बुकिङ भइसकेको एसोसिएसनले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक गतिविधि सुस्त भइरहेका बेला एक्स्पोले बजार चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ ।’

मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन संघले पहलकदमी लिँदै आएको एक्स्पोका संयोजक निकुञ्ज अग्रवालले बताउनुभयो । हरेक वर्ष आयोजना भइरहेको फर्नेक्सले अभियानलाई सहयोग गरिरहेको भए पनि पछिल्ला दिनमा सरकारले गरेको नयाँ व्यवस्थाका कारण स्वदेशी उत्पादनको बजार विस्तार चुनौतीपूर्ण भएको उहाँको भनाइ थियो । संयोजक अग्रवालले भन्नुभयो, ‘अर्थतन्त्र कमजोर अवस्थामा रहेका बेला स्वदेशी मुद्रा बाहिरिनबाट रोक्नुपर्नेमा सरकारले वन नियमावलीमा निजी क्षेत्रलाई निषेध गर्दा आयातित वस्तुको मात्र बढ्ने हो कि भन्ने चिन्ता लागेको छ, एक्स्पो आयोजना हुँदै गर्दा सरकारलाई निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्न एसोसिएसन आग्रह गर्दछ ।’

ADVERTISEMENT

आयोजकका अनुसार सयभन्दा बढी स्टल रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एसोसिएसनका महासचिव सञ्जय लामाले भन्नुभयो, ‘ग्राहकलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामग्री उपलब्ध गराउन एक्स्पो महत्वपूर्ण हुने विश्वास लिएका छौँ । साथै फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरूलाई साझा प्लेटफर्म प्रदान गर्ने भएकाले उद्योगी तथा व्यवसायीका लागि एक्स्पो साझा प्लेटफर्म बन्ने विश्वास छ ।’

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ भने इन एसोसिएसन विथमा प्रेस्टिज कार्पेट रहेको छ । पावर्ड वाइमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रिज, सरावगी ओभरसिज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज