नाका नागढुंगा–मुग्लिन सडकखण्ड आजबाट दैनिक चार घण्टा बन्द हुने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । संघीय राजधानीको मुख्य नाका नागढुंगा–मुग्लिन सडकखण्ड आज (बिहीबार) देखि राति चार घण्टा बन्द हुने भएको छ । काठमाडौं–नागढुंगा–नौबिसे त्रिभुवन राजपथ र नौबिसे–मलेखु पृथ्वीराजमार्ग सुधार तथा विस्तारको लागि भन्दै आज रातिबाट बन्द गर्न लागिएको हो । अहिले नौबिसे–मलेखु खण्डको विभिन्न स्थानमा पहरा काट्ने काम भइरहेको छ । यसरी काम गर्दा सडक अवरुद्ध हुने र यात्रुहरू मार पर्ने भएकाले सडक रातिको समयमा बन्द गर्नुपरेको धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो ।

प्रजिअ गैरेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले पृथ्वीराजमार्गको नौबिस–मलेखु सडक खण्डको विस्तार कार्य भइरहेकाले खयरघारी र पोखरेखोला नजिक बांगेमा स्वीकृत डिजाइनअनुसार सडक चौडा गर्दा निर्माणको समयमा सवारी प्रयोगकर्तालाई हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्ने निर्णय भएको नागढुंगा–मुग्लिन सडक योजना प्रमुख ईश्वरी रिजालले बताउनुभयो ।

सडक बन्द गरेर भीर काट्ने काम भइरहेको अवस्थामा एम्बुलेन्स र सुरक्षा निकायको सवारीबाहेकका सबै यातायातका सेवा बन्द गर्ने निर्णय भएको छ । पूर्वमा थाक्रे गाउँपालिका–१ उक्लेफाँट र पश्चिममा गजुरी गाउँपालिका–५ घाटबेसीमा यातायातका साधन रोकिनेछन् ।

ADVERTISEMENT

त्रिभुवन राजपथको नागढुंगा–नौबिसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ८८ करोड ९८ लाख रुपैयाँ लागतमा दुई वर्षमा सक्ने र पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार सात अर्ब ८३ करोड ४७ लाख रुपैयाँ लागतमा तीन वर्षमा सक्ने गरी लागत अनुमान गरिएको थियो । तर, निर्माण कम्पनी जिअंसु र सगुन कन्स्ट्रक्सनले संयुक्त रूपमा २०७८ साल चैत २४ गते नागढुंगा–नौबिसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ३१ करोड ८४ लाख रुपैयाँ लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण गरिरहेको छ ।

यसैगरी निर्माण कम्पनी शर्मा–लामा कन्स्ट्रक्सन र जेआइसिजीले संयुक्त रूपमा २०७८ साल चैत २४ गते नौबिसे–मलेखुखण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार पाँच अर्ब ३३ करोड १९ लाख रुपैयाँ लागतमा तीन वर्षमा सक्ने गरी निर्माण कार्य गरिरहेको छ । दुवै खण्ड गरी ५५ दशमलव ८०२ किलोमिटर सडकको लागत ६ अर्ब ६५ करोड अर्थात् प्रतिकिलोमिटर ११ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस सडकको परामर्शदाताहरू अस्ट्रेलियाको एसएमईसी इन्टरनेसनल प्रालि, पीईसी लिमिटेड र रिपब्लिकन अप कोरिया इन एसोसिएसन, आइटिइसिओ र टिएमएस रहेका छन् । सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

निर्माण कार्यस्थल नजिक हुनसक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारीसाधन रोकी व्यवस्थापन गर्न पनि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो । उहाँले सम्बन्धित आयोजनाका तर्फबाट सबै पक्षलाई सूचित गर्न राष्ट्रिय दैनिक तथा अन्य सञ्चार माध्यमबाट सूचना प्रवाह गर्न र छिमेकी जिल्लासँग पनि समन्वय गरी यात्रुले दुःख नपाउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?