गुणस्तरीय शिक्षा प्रदान गर्न धनगढीका पाँच विद्यालय नमूना बनाउने उपमहानगरकाे योजना

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । धनगढी उपमहानगरले सामुदायिक विद्यालयहरूलाई नमूना बनाउने योजना अगाडि सारेको छ । पहिलो चरणमा उपमहानगरको ग्रामीण भेगका पाँच सामुदायिक विद्यालयलाई नमुना बनाउने उपमहानगरको योजना रहेको छ । नमूना विद्यालयका रुपमा विकास गर्न पाँचवटा विद्यालयको छनोट प्रक्रिया सकिएको छ ।

पाँचवटै विद्यालयले नमुना विद्यालय बनाउन पञ्चवर्षीय प्रस्ताव उपमहानगरमा पेस गरेका छन् । विद्यालयको प्रस्ताव आएर तीनवटा विद्यालयको उपमहानगरले अनुगमन गरी सकेको छ भने दुईवटा विद्यालयको अनुगमन केही दिनभित्रै हुने शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताउनु भयो ।

पहिलो चरणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ९ को भवानी माध्यमिक विद्यालय, वडा नम्बर ११ को ठेकराज माध्यमिक विद्यालय, वडा नम्बर १२ को सिद्धनाथ माध्यमिक विद्यालय, वडा नम्बर १६ को बेहडाबाबा माध्यमिक विद्यालय, वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालय नमुना हुने भएका छन् । नमुना विद्यालय विकासको प्रस्ताव उपमहानगरपालिकामा पेस भएपछि प्रस्तावको अध्ययन भइरहेको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख खाती बताउनु भयो ।

‘उपमहानगरपालिकाले नमुना विद्यालय बनाउने भनेपछि पाँचवटा विद्यालयको प्रस्ताव आएको छ । तीन विद्यालयको नगर शिक्षा समितिसहितको टोलीले भ्रमण गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘बाँकी दुई विद्यालयको पनि लगत्तै भ्रमण गरेर विद्यालयहरूले पेस गरेको प्रस्तावमा आवश्यक सुधार गरेर अगाडि बढ्ने योजना छ ।’ उपमहानगरको शिक्षा समितिले चन्द्रोदय र सिद्धनाथ माध्यमिक विद्यालयको अनुगमन गर्न बाँकी रहेको जनाएको छ ।

ADVERTISEMENT

सबै विद्यालयको अनुगमनपछि विद्यालयहरूले पेस गरेका प्रस्तावहरूमा आवश्यक परिमार्जनपछि प्रक्रिया अगाडि बढ्ने छन् । धनगढी उपमहानगरपालिकाले नमुना विद्यालयका लागि पठनपाठनको भाषा अङ्ग्रेजी बनाउने, विद्यार्थीबाट कुनै किसिमको शुल्क असुल नगर्ने, विद्यालयमा रहेका शिक्षकहरूको क्षमता विकास गर्न शिक्षक तालिमको व्यवस्था गर्ने र अपुग शिक्षक उपमहानगरले नै भर्ना गर्ने योजना रहेको धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले बताउनु भयो ।

विद्यालयले माग गरेका सबै कुराको पूर्ति उपमहानगरले गर्ने र पठनपाठन गुणस्तरीय बनाउने जिम्मा मात्रै विद्यालय र शिक्षकले लिनुपर्ने उपप्रमुख रानाले बताउनु भयो । नमुना विद्यालयका लागि छनोटमा परेका विद्यालयमा आगामी शैक्षिकसत्र २०८१ बाट नमुना विद्यालय कार्यक्रम लागु हुनेछ । ग्रामीण क्षेत्रका अभिभावकले राम्रो विद्यालय पढाउन धनगढीमा कोठा गरेर छोराछोरी बसाल्नु पर्ने अवस्था हटाउन र गुणस्तरीय शिक्षाको हकको प्रत्याभूति गर्न विद्यालय सुधारको योजना ग्रामीण क्षेत्रबाट सुरू गरिएको रानाको भनाई छ ।

विद्यालय नमुना हुने भएपछि विद्यालय व्यवस्थापन समिति शिक्षकहरू पनि खुशी भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख खातीले बताउनु भयो । ‘उपमहानगरले नमुना विद्यालयको अवधारणा ल्याएपछि छनोटमा परेका विद्यालय व्यवस्थापन समितिमा रहेका अभिभावकहरू खुशी भएका छन्,’ उहाँले भन्नुभयो, ‘उपमहानगरले गुणस्तर सुधार गर्न आवश्यक दायित्व बहन गर्ने भएपछि उहाँ सकारात्मक नहुने त कुरै हुन्न नि।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?