त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको वास्तविक संख्या परस्पर विरोधात्मक आइरहेका बेला अन्तर्राष्ट्रिय मानवीय सहायता निकायले राहत सामग्री ल्याएका छन् ।
पूर्वी शहर डेर्नाका एघार हजार तीन सय मानिसले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले शुक्रबार बताएका थिए तर पूर्वी भेगका स्वास्थ्यमन्त्रीले तीन हजार एक सय ६६ जनाको मृत्यु भएको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अधिकारीले तीन हजार नौ सय ९८ शव भेटिएका जनाएको छ ।
डेर्नामा मात्र अझै नौ हजार जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौं हजार बेपत्ता भएका तथा ५० हजारभन्दा बढी विस्थापित भएका छन् । गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुईवटा बाँध भत्केपछि बाढीले गाउँ-शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिँदैन । सामाजिक संघसंस्थाका प्रतिनिधि हिलोमा पुरिएका लाश निकाल्न र तिनको व्यवस्थापनमा व्यस्त छन् ।
बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले बताएको थियो । नब्बे हजार जनसंख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक संघसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार १९० जनाको अन्त्येष्टि गरिएको जनाइएको छ ।
यसैबीच, पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल-गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुईवटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्यांकमा आधारित भएर उहाँले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताउनुभएको हो । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको संख्या २० हजारको हाराहारीमा पुगेको अल-अरेबिया टिभीलाई उहाँले बताउनुभएको छ ।
डब्ल्युएचओका लिबिया प्रतिनिधि अहमेद जोइटेनले हजारौं हताहत भएको प्राकृतिक विपत्तिको यस्तो लीला इतिहासमा विरलै भएको बताउँदै २९ टन स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिनुभएको छ । स्वच्छ खानेपानी र सरसफाइको अभावमा बाढीपीडित बिरामी पर्नसक्ने भन्दै उहाँले अन्तर्राष्ट्रिय निकायबाट मानवीय सहायता प्राप्त हुन थालेको बताउनुभएको छ । रासस/एपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts