वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासलाई ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । काठमाडौको चाबहिल निवासी वरिष्ठ चिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म क्रियाशील व्यक्तित्व डा. गौरीशंकरलाल दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मान गरिएको छ ।

डा. दासको जन्म शताब्दी वर्ष मनाउने क्रममा गण्यमान्य लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिकाबीच उक्त उपाधि घोषणा गरिएको हो ।

उहाँ यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । उक्त समारोहमा ‘डा गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष’ सफल पार्न ४०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

शनिबार चावहिलमा आयोजित विशेष कार्यक्रममा जनस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ घोषणाको समर्थन गर्दै प्रमुख अतिथि त्यसै क्षेत्र नम्बर ४ का सांसद, पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा गौरीशंकर लाल दासको सामाजिक योगदानको चर्चा गर्नुभयो ।

राज्यले गरे पनि नगरे पनि यो विशाल उपस्थितिले घोषणा गरेको ‘दिव्य शताब्दी पुरुष’ आफैँमा प्रभावशाली रहेको बताउँदै सांसद थापाले भन्नुभयो, ‘‘सादा जीवन, उच्च विचार राख्नुहुने डाक्टर साहेब हरेकका लागि प्रेरक व्यक्ति हुनुहुन्छ । उहाँको जन्मशताब्दी वर्ष वर्षभरि उत्साहका साथ हामी सबैले मनाऔँ ।”

थापाले आजका युवाहरूलाई पनि यस कार्यक्रमसँग जोड्दा उनिहरुले डाक्टर साहेबबाट धेरै कुरा सिक्न सक्ने तथा उहाँको सामाजिक जीवन र क्रियाशीलताबारे हामीले नौजवानहरूलाई बताउन जरुरी छ भएको समेत बताउनु भयो।

थापाले राज्यस्तरबाट पनि ‘दिव्य शताब्दी पुरुष’ घोषणाका लागि आफूले सक्दो सहयोग गर्ने समेत बताउनु भयो।
दिव्य शताब्दी पुरुषबाट घोषित डा. लाल दासले नागरिक स्तरबाट आफूलाई दिइएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

पूर्व उपराष्ट्रपति परमानन्द झाले डा. लाल दासलाई राज्यस्तरबाट पनि दिव्य शताब्दी पुरुष घोषणा गरिनुपर्नेमा जोड दिनु भयो।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले डा. लाल दास प्रेरणाको स्रोत भएको बताउँदै उनी शताब्दी पुरुषको हकदार भएको उल्लेख गर्नुभयो ।

जन्मशताब्दी मूल समारोह समितिका संयोजक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले समितिले वर्षभरि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै जन्मशताब्दी वर्ष मनाउने जानकारी दिनुभएको थियो ।

कार्यक्रममा समारोह समितिका सदस्य तथा काठमाडौं महानगरपालिका वडा. नम्बर ७ का वडा अध्यक्ष विमलकुमार होडाले पहिले गाउँ भनिए पनि चावहिल क्षेत्रमा दिग्गज व्यक्तित्वहरूको बसोबास रहेको बताउनु भयो

उहाँले आफ्नै आँगनमा सिद्धहस्त चिकित्सकको जन्मशताब्दी वर्ष मनाउन पाउँदा हर्षित भएको उल्लेख गर्दै डा. लाल दासको जीवनका केही महत्त्वपूर्ण पक्षबारे जानकारी दिनुभएको थियो ।

समितिका कोषाध्यक्ष मोहनमणि आचार्यले १५ सदस्यीय कार्यसमिति र २९ सदस्यीय सल्लाहकार समितिका सदस्यहरूको नामावली पढेर सुनाउनु भएको थियो ।

मुल समारोह समितिका सदस्य तथा स्थानीय बुद्धिजीवी सनातन रेग्मीका अनुसार आउँदो असोज ९ गते काठमाडौंमा मूल समारोह समितिले विशेष कार्यक्रमको आयोजना समेत गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. He is Living History. We can learn many more from him and nourish to generation to come.

रिलेटेड न्युज