✍️ वीरभद्र आचार्य
केही दिनअघि चितवनबाट दुई मित्र एकाबिहानै घरमा आउनुभयो । उहाँहरू बीपी साहित्य महोत्सवमा भाग लिन आउनुभएको रहेछ । केही बेर गफगाफ भलाकुसारी भयो । साहित्यप्रति मेरो पनि केही रुचि भएकाले अन्त्यमा उहाँहरूले मलाई पनि उक्त महोत्सवमा भाग लिन जान आग्रह गर्नुभयो । मैले पनि सहस्र स्वीकार गरेँ र हामी तीन भाइ सो महोत्सवमा भाग लिन गयौं । कार्यक्रम नेपाली काङ्ग्रेसको पार्टी कार्यालय बल्खुमा रहेछ । परिसरभित्र छिर्यौं, जाँदा-जाँदैको हलमा गणेशमानजीको जीवन कथामा आधारित एउटा वृत्तचित्र चलिरहेको रहेछ । हेर्ने मौका मिल्यो । गणेशमानजीको विसं २०९७ साल अघिको राजनीतिक जीवन पढ्ने मौका नपाएको मैले खुबै घत मानेर त्यो वृत्त चित्र हेरेँ ।
यो एक काल्पनिक कथामा आधारित सिनेमा नभएर नेपाली इतिहासको पाना पनि थियो । हेर्दै गएँ, पाना पल्टिँदै गयो तर हेर्दै जाँदा अलि खल्लो महसुस हुँदै गयो । उक्त वृत्तचित्रमा गणेशमानजीको पौरखको कुरा समेटिएको थियो जुन कुरा कुनै अत्युक्तिविना नै स्वीकार्य थियो तर उक्त वृत्तचित्रमा तात्कालीन इतिहासलाई बङ्ग्याएर अरू सहयात्रीहरूलाई होचो देखाएर आफ्नो पात्रलाई मात्र ठूलो देखाउनु मलाई त्यति रुचिकर लागेन । उहाँ त्यसै नै महान् हुनुहुन्छ, उहाँलाई ठूलो देखाउन अरूलाई होच्याउनै पर्दैनथ्यो ।
सन्दर्भः टङ्कप्रसाद आचार्य । वृत्त चित्रमा या त टङ्कप्रसाद आचार्यलाई अन्य राजनेताहरूलाई जस्तै भूमिकाहीन बनाएको भए हुन्थ्यो तर देखाइसकेपछि उहाँको भूमिकालाई सम्मानित हिसाबले प्रस्तुत गर्नुपथ्यो । यस वृत्तचित्रमा तत्कालीन समयमा टङ्प्रसादको भूमिकालाई यसरी न्यूनीकरण गरिएको छ र उहाँको व्यक्तित्वलाई होच्याउन खोजिएको छ कि मलाई हेर्दाहेर्दै त्यो वृत्तचित्र बनाउने टिमको मानसिक दरिद्रताप्रति दया लागेर आयो । रामहरि शर्माको त नाम पनि आएन । उहाँहरूलाई ब्राहृमण भएको कारण मृत्युदण्ड दिएमा ब्रह्महत्याको पाप लाग्छ भनेर डरले सर्वस्वहरणसहित, जातबाट खसालेर, चार पाटा मुण्डन गरी आजीवन कैद सुनाइएको थियो ।
जसको जीवन कथा हो उक्त कथामा उसको व्यक्तित्वलाई उजागर गर्नु कथाकारको धर्म हो तर सो क्रममा अन्य योद्धाहरूको योगदानलाई बटारेर पेस गर्नु इतिहासलाई धोका दिनु हो । त्यसो त हाम्रो देशमा सालिक फोड्ने चलन पनि छँदैछ ।
आज उहाँहरूलाई देशले जिउँदो शहीद भनेर आदर सम्मान गर्छ तर वृत्तचित्र बनाउने टिमलाई यो कुराको हेक्कै भएन । आधुनिक नेपालको राजनीतिक इतिहासको जन्मदाता नै टङ्कप्रसाद आचार्य हुन् भनेर सर्वत्र मानिएको छ र उनको वीरताको गाथा जहिले पनि जिउँदो रहनेछ । उनको वीरतासँग उहाँका सहयात्रीहरू यति प्रभावित थिए कि उनी जेलभित्र प्रवेश गर्दा दशरथ चन्दको इसारामा सबै बन्दीहरूले उनलाई ‘कमान्डर’ को संज्ञा दिँदै स्यालुट गरेका थिए, आदि । तर, यस वृत्तचित्रमा उहाँलाई एक साहसिक नेताभन्दा पनि साधारणभन्दा साधारण रूपमा (अलि हच्किएको पारामा) प्रस्तुत गरिएको छ ।
गणेशमानजीकै अन्तर्वार्ताहरूमा खोज्नुहोला, ‘सिंहदरबारभित्र छिर्दा टङ्गप्रसादजी बाघजस्तो भएर प्रस्तुत भएका थिए’ । हो, जसको जीवन कथा हो उक्त कथामा उसको व्यक्तित्वलाई उजागर गर्नु कथाकारको धर्म हो तर सो क्रममा अन्य योद्धाहरूको योगदानलाई बटारेर पेस गर्नु इतिहासलाई धोका दिनु हो । त्यसो त हाम्रो देशमा सालिक फोड्ने चलन नै छ ।
यस वृत्तचित्रमा गणेशमानजीलाई भद्रगोल जेलबाट भगाउन कसले कति सहयोग गर्यो लेखाजोखा छैन तर टङ्कप्रसाद आचार्यले उल्टो दुरुत्साहित गर्न खोजेको भान दिइएको छ । यदि चार सहिद, गणेशमानजी र नेपाली कांग्रेसका योद्धाबाहेकका अन्य योद्धाहरूमा त्यति पनि साहस थिएन भने के यो लडाइँ यति छिटो टुङ्गिन्थ्यो होला त ? के उनीहरूलाई यो भान थिएन कि यदि समातिए भने मृत्युदण्ड हुन्छ भन्ने । राणाहरू धर्मभिरू रहेछन् र त ब्राहृमण भएको कारण केही बन्दीहरूलाई ज्यान सजायको साटो अन्य दण्ड सुनाइयो ।
यसो नभएको भए उनीहरू पनि शहीद हुने नै थिए । के उनीहरूलाई यो कुराको ज्ञान थिएन होला जब उनीहरू टाउकोमा कात्रो बाँधेर एकतन्त्रीय जहानिया राणा शासन विरुद्धको लडाइँमा होमिएका थिए । उनीहरूको नै योगदानको खुड्किलामा टेकेर हामी यहाँसम्म आइपुगेका छौं भने यी इतिहास पुरुषहरूलाई हियाएर इतिहासलाई बङ्ग्याएर प्रस्तुत गर्नु कतिको न्यायसङ्गत कुरा हुन सक्छ ।
किन नेपालीले सिङ्गो नेपालको छोराछोरी भएर बाँच्न नसकेर एउटा सानो राजनीतिक दलमा या समूहमा आफूलाई सीमित गरेको होला । आजका नेपाली राजनेताहरूमा किन त्यति पनि आत्मविश्वास नभएको होला जहाँ अरूलाई सम्मान दिनुको साटो गालीगलौज गरेर, आफू ठूलो देखिने होडमा लागेको होला । टङ्कप्रसाद आचार्यलाई नेपाल प्रजापरिषद तथा तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसमा सर्वसम्मतिमा चयन भएका पहिलो सभापति हुन् ।
विसं २००७ सालपछि राजनीतिक दलहरूबीच आपसी खिचातानीले नेताहरू फुट्ने र टुट्ने भयो तर इतिहास त इतिहासै हो । आबको १०० वर्षमा यस देशको भूराजनीतिमा के कति परिवर्तन आउला नआउला । हिजो १०४ वर्षसम्म नडगीकन चलेको राणा शासन त उहाँहरूकै कारणले ढल्यो भने आज आफूलाई सर्वशक्तिमान ठान्नेहरू भोलि चाउरी नै पर्छ । हेक्का राख्नुपर्ने कुरा भने आज नलेखिएको इतिहास भोलि पक्का लेखिन्छ । सत्य सत्य नै हुन्छ र अमर हुन्छ । लुकाएर पनि लुक्दैन ढाँटेर पनि टिक्दैन ।
पुनश्चः
१) वृत्तचित्रमा प्रस्तुत गरिए अनुसार टङ्कप्रसाद आचार्यलाई गणेशमानजीहरूसँगै काठमाडौंमा समातेको होइन । टङ्कप्रसादसँग राणाहरू यसरी अत्तालिएका थिए कि उहाँलाई, जनकपुरमा समातेर नेल हतकडीमा जकडेर सिपाहीको २४ घण्टे पहरामा पिँजडामा हालेर ल्याइएको थियो ।
२) भारतको पटनाबाट प्रकाशित हुने जनता पत्रिकामा लेख लेख्ने गङ्गालाल नभएर दशरथ चन्द थिए ।
३) यस प्रकारको ऐतिहासिक दस्ताबेज प्रकाशन गर्दा सोसम्बन्धी जानकार कम्तीमा दुई स्वतन्त्र समीक्षकहरूको राय लिएर गरेको भए यस्तो त्रुटि हुँदैन थियो होला । जय नेपाल । birbhadra011@gmail.com







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts