कता जाँदैछ नेपाली समाज ?

डा. शान्तिकृष्ण अधिकारी
डा. शान्तिकृष्ण अधिकारी
Read Time = 15 mins

आजभोलि छोराहरूले बाउआमालाई पिट्न थालेका छन् । मातापिताका सरसल्लाह र सुझाबहरूको उल्लंघन गर्नु नै आफ्नो क्षमतावृद्धि भएको छोरीहरू ठान्दछन् । मन्त्री भएका, जागिर खाएर सचिव तहमा पुगेका, इन्जिनियर, डाक्टर, वकिल जस्ता समाजले प्रतिष्ठित भन्ने ओहोदामा पुगेकाहरूले वृद्ध बा-आमाहरूलाई नहेरेका, खान नदिएका, वृद्धाश्रममा पठाएका जस्ता खबरहरू आइरहन्छन् । बरू आर्थिक अवस्थालाई सुदृढ बनाउन नसकेकाहरूले नै मातापिताको सेवा गरेको देखिन्छ तर जति सम्पन्न छ उति नै अनुदार बन्न पुगेको हो कि जस्तो लाग्दछ ।

पहिले पहिले ठूलो वर्णमालाबाट अध्ययन अध्यापनको आरम्भ गरिन्थ्यो । त्यसमा कखरादेखि लिएर नीति आदिका कुराहरूसम्म पढिन्थ्यो, पढाइन्थ्यो । अक्षरारम्भको आरम्भदेखि कसलाई पुज्ने, कोसँग संगत नगर्ने आदि सिक्ने अवसर मिल्दथ्यो । यस्ता कुराहरूलाई थोत्रा आडम्बर भन्ने व्याख्या गर्दै जब अंग्रेजी भाषालाई मात्रै प्राथमिकता दिन थालियो तब बालबालिकाले संस्कार सिकेनन् भनेर थक्थकाउनु पनि व्यर्थमात्रै हो । सिकाउने एकथरि अनि अपेक्षा अर्कै खाले गरेर सोचेअनुरूपको फल कसरी प्राप्त गर्न सकिन्छ र ?

जो बढी अपराधी छ, उसैको सम्मानमा समाजमात्रै होइन, राष्ट्र नै झुक्ने गरेको छ । सत्कर्मद्वारा जीवन चलाएको मानिसविना प्रसिद्धि लुप्त रहनुपर्ने तर राष्ट्र, समाज र मानव समुदायलाई घात गर्नेहरू सदैव उच्च मर्यादा प्राप्त गर्ने चलन बसाइएको छ । मानिसले जति बढी कुकर्म गर्न सक्यो, ऊ नै आधुनिक समाजमा सबैभन्दा प्रतिष्ठित हुने लहर चलेको छ । हुर्कँदो पुस्ताले सिक्ने भनेको पुरानो पुस्ताबाटै हो । पुरानो पुस्ताले खराब प्रवृत्तिलाई बढावा गरेपछि नयाँ पुस्ताले असल संस्कार सिकेन भनेर पछुताउनु पनि बेकारै हो ।

भ्रष्टाचारी भनेको राष्ट्रको त शत्रु हुँदै हो । ऊ समस्त मानव जगतको मात्र होइन कि चराचर जगतकै अपराधी हो । भ्रष्टाचारले देशको प्रणाली बिगार्दछ र प्रणाली नै बिग्रेपछि कुनै पनि कुरा राम्रो होला भन्ने आशा गर्न सकिँदैन ।

गाईको पूजा गर्ने परियार, विश्वकर्मा, सार्की आदि थर भएका हाम्रा नेपाली दाजुभाइहरूलाई अछूतको संज्ञा दिइएको छ । हामीले देवी मानेकी गाई खानेहरूसँग फोटोमात्रै खिचाउन पाइयो भने संसारै जितेको अनुभव नेपालीहरूले गर्न थालेका छन् । अझ तिनीहरूसँग दुई–चार दिनसँगै बिताएर आफ्नो घरको भान्सामा एकैसाथ भात खाएको फोटो सामाजिक सञ्जालमा राख्न पाए त अरूभन्दा दुई बित्ता माथि पुगे झैँ लाग्दछ । गलत संस्कारले नेपाली समुदायलाई गाँज्दै लगेको छ तर गलतलाई नै शाश्वत सत्य मान्न थालिएको छ ।

जसले सिलाएको लुगा नलाए नांगै भइन्छ, जसले हँसिया, फाली, हलो आदि नबनाई दिए गुजारा चल्दैन, जसले जुत्ता चप्पल नबनाई दिए हाम्रा पाइला चल्दैनन्, तिनलाई हामी किनारामा राख्दछौं । जसका कामकर्तुतहरूले हाम्रो दैनिक जीवनलाई नरक बनाइदिएको छ, जसले देशलाई खोक्रो पार्दै हाम्रा सन्ततिहरूको भविष्यलाई अन्धकारतर्फ धकेल्दै लगेको छ, जसले भ्रष्टाचारलाई नै आदर्श मानेको छ, उसलाई भने शीरमा राख्ने संस्कार हाम्रो बन्दै गएको छ । जसको श्रमको सम्मान गर्नुपर्ने उसलाई पर सार्ने र जसलाई बाटोमा देखे पनि थुक्दै हिँड्नुपर्ने उसको पाउ पर्ने बानी पर्दै गएको छ ।

भ्रष्टाचारी भनेको राष्ट्रको त शत्रु हुँदै हो । ऊ समस्त मानवजगतको मात्र होइन कि चराचर जगतकै अपराधी हो । भ्रष्टाचारले देशको प्रणाली बिगार्दछ र प्रणाली नै बिग्रेपछि कुनै पनि कुरा राम्रो होला भन्ने आशा गर्न सकिँदैन । सबैभन्दा ठूलो भ्रष्टाचारी भेटियो र ऊसँग संगत गरेका प्रमाणहरू समाजमा देखाउन सकियो भने आफू पनि ठूलो मान्छे भएको महसुस आजभोलिको नेपाली समुदायले गर्न थालेको छ । यही प्रवृत्ति बढ्दै जाँदा देश दिनानुदिन ओरालो बाटो हिँड्दै छ । भातभान्सा नचलाउने हो भने तिनै भ्रष्टाचारीको नचलाउनुपर्ने हो तर नेपालमा उल्टो थिति बसालिएको छ ।

कानुनभन्दा माथि आफूलाई देखाउनुमा हरेक नागरिक सक्रिय भए जस्तै लाग्दछ । नेपाली समाजमा पुस्तौंदेखि मानिँदै आएका मान्यताहरूलाई जसले भत्काउन सक्यो, उही नै आधुनिक, विकासशील र समाज निर्माणमा संलग्न हो भन्ने भाष्य तयार गरिएको छ । पश्चिमा संस्कृतिको अनुकरण गर्दै नेपाली वैदिक, धार्मिक, सांस्कृतिक परम्पराहरूलाई तोड्नु नै नेपाली समाजलाई कुरीतिको मार्गबाट अग्रगामी बनाइएको नयाँ परिभाषा स्थापित हुँदै गएका छन् । यतिसम्म नेपाली समाज विकृत भइसक्यो कि बाबुआमाको सम्मान गर होइन भने पैतृक सम्पत्तिबाट विमुख हुनेछौ र कानुनले दण्डितसमेत गर्नेछ भनेर ऐन नै बनाउनुपर्ने अवस्थामा नेपाल पुगिसकेको छ ।

धनका पछिमात्रै समाज दौडिरहेको छ । धर्म, समाजसेवा, मानवसेवा, कर्तव्य, जिम्मेवारी जस्ता कुराबाट आधुनिक भनिएको अहिलेको नेपालको मानव समुदाय निकै पर गइसकेको छ । जोसँग बढी धन छ उही नै पूज्य हुन्छ तर अवैध काम नगरेका कारण सम्पत्ति जोड्न नसकेको मानिस जतिसुकै सम्मान्य हुनुपर्ने भए तापनि समाजले हेर्ने गरेको छैन । भष्टाचारीसँग तपाईंको यति सम्पत्ति कहाँबाट आयो भनेर कसैले सोध्दैन बरू समाजमा हुने विभिन्न कार्यक्रममा उसैलाई विशिष्ट अतिथि बनाएर मञ्चमा राख्नमा नै आनन्द मान्दछ ।

ADVERTISEMENT

जन्ममा रमाउने हो कि मृत्युमा भन्ने पनि नेपाली समाजले बिर्से जस्तै छ । मान्छे मरेका बेलामा खुसीका शब्दहरू सामाजिक सञ्जालमा छरपष्ट पोखिएका परिदृश्यहरू सामान्य बन्दै गएका छन् । मान्छेका पीडामा नून-चूक छर्कनु अपराध हो भन्ने पनि ठान्दैन । मान्छेको मृत्युको कामना सार्वजनिक रूपमा गर्न पनि तँछाडमछाड गरेको देखिन्छ । अपराधलाई खुलेयाम प्रश्रय दिन कत्ति पनि अप्ठ्येरो नमान्ने नेपाली समाज निर्माण भएको छ । जति बढी पढेको भनिएको मान्छे छ, उति नै अपराध कर्ममा संलग्न हुने गरेको छ ।

नेपालमा पढाउनै उल्टा कुराहरू थालिएको त होइन ? नेपाल र नेपालीको संस्कार के हो भन्ने बुझाउन मुलुकले आवश्यकता नै नदेखेको त होइन ? हाम्रा धर्म, संस्कृति, भाषा, परम्पराहरू जोगाएमात्रै हामी जोगिन्छौं भन्ने कुरा हामीले नजानेको त होइन ? हाम्रा मौलिक परिचय हराए भने न नेपाल रहन्छ न नेपाली नै रहन्छौं भन्ने बोध हामीलाई हुन नसकेको त होइन ? होइन भने अरूको अन्धानुकरण गर्दै हामी हाम्रा मूल्यमान्यतालाई तिलाञ्जलि दिन किन यति अबुझ भएर दौडी रहेका छौं भन्ने जान्नै सकिएको छैन ।

नेपाली समाजले गलत बाटो समात्न थालेको धेरै भइसकेको छ । यसलाई सुधार्न ढिलो भएको अनुभव नेपाली समाजले गर्न सकेन भने नेपाल र नेपालीको भविष्य उज्ज्वल हुने कल्पना गर्न सकिँदैन । कोही त अघि सर्ला नि ! भनेर बस्यौं भने कोही पनि तयार हुँदैन ।

मातृ देवो भवः, पितृ देवो भवः, गुरु देवो भवः आदि कुराहरू बच्चैदेखि दिमागमा राखिदिएको भए केही न केही पक्कै सिक्दथे होलान् । अंग्रेजी शुद्ध लेख्न, बोल्न र पढ्न जान्नै पर्दछ भन्नेमात्रै सिकाउन थालियो । नेपाली विषयका सन्दर्भमा भने भाषा भनेको बुझ्नका लागि मात्र हो, शुद्ध हुनैपर्दछ भन्ने मान्यता गलत हो भन्ने पढाइयो । अंग्रेजी विषयमा गल्ती गर्नुलाई अपराध ठान्ने र संस्कृत, नेपाली आदि विषय पढ्नै नपर्ने कोटिमा आजको समाजले राखेको छ । नेपालका अनेकौं मातृभाषाहरू त भर्खरैमात्रै प्राथमिक तहका कक्षाहरूमा राख्न थालिएको छ । समाजमा मानिसले पालना गर्नुपर्ने चरित्र र व्यवहार दिने नैतिक शिक्षा त पढाउन आवश्यकै ठानिएको छैन ।

अनि छोराले बाउ किन नकुटोस् । आमालाई वृद्धाश्रममा राख्नेहरू किन नबढुन् त ? शिक्षक पिट्नु महाअपराध हो भनेर सुन्दै नसुनेका विद्यार्थीले गुरु पिटेका समाचार त्यसै आउने गरेको हो र ? विश्वविद्यालयको उपकुलपति पिटेर राजनीतिक दलको सभापतिकहाँ कोही पुग्यो भने उसलाई अझ बढी प्रोत्साहन गर्ने नेताहरू भएको मुलुकमा असल परिणाम खोजेर कसरी पाइएला र ? नेपाली संस्कार, संस्कृति र परम्पराहरूलाई भाँडमा लगिँदै गइएको छ ।

छोराछोरीलाई डाक्टर किन बनाउने ? सन्ततिलाई इञ्जिनियरिङ किन पढाउने ? प्राध्यापक, वकिल, पत्रकार आदि सम्मानित पेशामा पुग्न लायकका किन बनाउने ? मातापिताहरूसँगै सोधियो भने पनि उनीहरूबाट आउने सहज उत्तर भनेको सन्ततिले सजिलो तरिकाले धन कमाउन सक्दछन् र उनीहरूको जीवन सरल हुन्छ भन्ने हो । सबै पेशा र व्यवसायलाई धनसँग मात्रै जोड्ने प्रचलन बढ्दै गएको छ । कर्तव्य, जिम्मेवारी र समाजसेवालाई गौण बनाइएको छ ।

डाक्टर भयो भने बिरामीको सही उपचार गरेर देशलाई रोगीमुक्त बनाउन मेरा सन्ततिले सहयोग गरुन् भन्ने मनसाय भएका शायदै कोही होलान् जस्तो लाग्न थालेको छ । मेरा छोराछोरी इन्जिनियर बनेर नयाँ डिजाइनका पुल, बलिया भवन र लामो समय टिक्ने सडकहरूको निर्माण गरोस् भन्ने कामना राखेका अभिभावकहरू खोज्ने हो भने औंलामा गन्न सकिनेमात्रै होलान् जस्तो नेपाल बनेको छ । डाक्टरले प्रयोगशालासँग सम्बन्ध राखेर बढीभन्दा बढी कमाउनु र इन्जिनियरले ठेकेदारसँगको सम्बन्धमा धन कमाउनुलाई नै आफ्नो जिम्मेवारी हो भन्ने ठान्न थालेको समाज उँभो लाग्न कसैगरी सक्दैन ।

नेपाली समाजले गलत बाटो समात्न थालेको धेरै भइसकेको छ । यसलाई सुधार्न ढिलो भएको अनुभव नेपाली समाजले गर्न सकेन भने नेपाल र नेपालीको भविष्य उज्ज्वल हुने कल्पना गर्न सकिँदैन । कोही त अघि सर्ला नि ¤ भन्ने आशा गरेर सबैजना बस्यौं भने कोही पनि तयार हुँदैन । सबैजना आ–आफैँ उठ्नु नै अहिलेको आवश्यकता हो । धर्मान्तरण गर्नेलाई आदर्श ठान्ने, नेपाली परम्परालाई ध्वस्त पार्नेहरूलाई महापुरुष देख्ने र देशको अस्तित्व समाप्त पार्न खोज्नेहरूलाई सम्मान गर्ने प्रचलनको अन्त्य गर्नै पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज