अर्जुन बिष्ट
जब नदीले बगरमा थुपारेको बालुवा सरी
सन्तानको लागि अभाव थुपार्दै गरेको दुख्छु
अनि यो चाहियो, त्यो चाहियो भन्दै,
तिम्रा कोटका सबै गोजीहरु चाहारेको सम्झिन्छु
त्यो पुरानो च्यातिएको कोटको गोजिमा
पैसा भेटाउदाको खुसी
अनि बजार गएर त्यहि खुसी बेचेको सम्झिन्छु ।
मेरा लागि कहिल्यै नथाक्ने त्यो शरिर
घुँडा टेकेर काँधमा बोकेर घर वरिपरि घुमाउँदा
रगत बगरहेको घुँडा माथि घोडा चढीरहेँ
तर तपाईको दुख र वेदनाहरु कहिल्यै भेटिनँ।
बुवा
बगरमा बसेर नदीको गहिराइ नाप्ने म
चाउरी परेको अनुहारमा
बाँसको चोया काढेझैँ
कोरिएका दु:खका लाप्साहरु देखिन
नदीको किनारामा बढेको भावुकतालाई
पानीको छालले बेस्सरी पछार्छ ,
अनि म झल्यास्य ब्युँझिन्छु ओहो !
मेरो बुवाको स्वर पो रहेछ यो त !
मेरा गल्ती र कम्जोरीहरु केलाउँदा
छोरो नबिग्रोस् भनेर झपार्दा
मेरा कानसम्म बजारिएको आवाज सुन्छु ।
बुवा
दुख होस या सुख नदी जसरी बगिरहने
खेतमा दिनभरि हलो जोतेर
काँधमा मलाई बोकेर
घर फर्किँदा
एक भारी दाउरा उठाएर
घरसम्म पुगेको सम्झिन्छु
जिम्मेवारी को झोला बोकेर
चरीले झैँ गुँड बनाएर सन्तान हुर्काउने
कहिले बनाउनु भयो बुवा त्यत्रो ठुलो भकारी
मन रोएर पनि
मुस्कुराउँदै खुशी साट्ने हिम्मत
कहाँ बाट जुट्यो बुवा?
तपाईले मेरो भविष्यको लागि
खनेको बाटोमा अहिले म बामे सर्दैछु ।
बुवा
अब म चाँडै आउँदै छु
ती तपाईले खनेका दुखका डोबहरुमा
विरुवा रोप्न
तपाईका ती गाउँखाने कथा
सोलक सुन्न,
जसले मलाई सुन्न सक्ने बनाएको छ
मलाई बोकेर घाँसदारा जाँदा
गुनगुनाएका गित सुन्न
बुवा
तपाईको यादमा आँखाबाट
पानी बनेर बगेको
समय नियालिरहँदा
पसिनाले लुथ्रुक्कै भिजेको शरिर सम्झिन्छु
तपाईको मधुरो छाया देख्छु
मिठो आवाज सुन्छु , अनि सम्झिन्छु
घरखर्च जोहो गर्न नसक्दाका
बुवाका दुख र विषादहरु कहिल्यै देखिन ।
कठ्याङ्ग्रीने जाडोमा हात सेकाउनका लागि
दाउरा चिर्दा बुबाका हातमा उठेका ठेलाहरु
किन देखेन् ।
बुवा
सन्तानका निधारको पसिना पुछ्न,
बुवाले आफ्नो निधारबाट बगाएका
पसिनाका खोलालाई किन देखेनन् ।
बुवा तपाई त्यो निमको पात हो
भलै तितो होला तर त्यो तितोले
सधैँ ओखतीको काम गर्छ ।
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता